नेभिगेशन
नेपाल

संवैधानिक बाटोमै निकास खोज्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, २६ भदौ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकटको निकास संविधानको मर्म र भावना आत्मसात गर्दै संवैधानिक प्रावधानअनुसार अघि बढ्न सकिने बताएकी छन् । वक्तव्य जारी गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठनको पहल तत्काल लिन आवश्यक रहेको धारणा सार्वजनिक गरेकी हुन् ।

‘प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार कामचलाउ छ, तर हाम्रो संविधानअनुसार राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम छन् । त्यसैले अहिले वैधानिक प्रक्रियाबाट अर्को मन्त्रिपरिषद् गठन गर्नुपर्छ,’ उनले भनेकी छन् । 

उनले हालै जेन–जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागी युवाहरूको मृत्यु भएको र त्यसपश्चात देशव्यापी हिंसा, आगजनी, लुटपाट र तोडफोडका कारण देश स्तब्ध भएको घटना स्मरण गराउदै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना प्रकट गरेकी छन् । उनले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेकी छन् ।

पूर्वराष्ट्रपतिले जेनजी पुस्ताको माग लोकतन्त्र विरोधी नभई भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति केन्द्रित रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनेकी छन्, ‘भविष्य नवपुस्ता र युवा पुस्ताकै हो । त्यसैले उनीहरूको असल संकल्पलाई सही दिशामा उन्मुख गराउन राजनीतिक नेतृत्वले भूमिका निर्वाह गर्नुपर्छ ।’ 

हिंसात्मक गतिविधिबाट ऐतिहासिक सिंहदरबार, संसद, राष्ट्रपति भवनदेखि सर्वोच्च अदालत र अन्य सरकारी संरचनामा भएको क्षतिको कडा निन्दा गर्दै जिम्मेवार नेतृत्वले यसको जवाफ दिनुपर्ने उनले बताएकी छन् । लोकतन्त्र, मानव अधिकार र कानुनी शासनजस्ता आधारभूत मूल्य आत्मसात नगरी देशलाई स्थायित्व र समृद्धितर्फ लैजान नसकिनेमा उनले सम्बद्ध पक्षलाई सतर्क गराएकी छन् । 

राजनीतिक दललाई विगतको गम्भीर समीक्षा गरी आन्तरिक एकता, सहकार्य र सामञ्जस्यतासहित संवैधानिक बाटोबाट मुलुकलाई निकास दिन आह्वान गर्दै भनेकी छन्, ‘जेनजी पुस्ताले उठाएका आवाजलाई लोकतान्त्रिक व्यवस्थामाथि आघात पर्ने गरी बेवास्ता गर्नु हुँदैन । नागरिक सर्वोच्चता सुरक्षित गर्न सबै सचेत हुन आवश्यक छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्