काठमाडौं, २६ भदौ - जेनजी समूहको प्रदर्शनपछि उत्पन्न परिस्थितीका कारण अहिले मुलुक सरकार बिहिनताको अवस्थामा पुगेको छ । निषेधाज्ञा र कर्फ्युका कारण सवारी आवागमन र ढुवानी सेवा ठप्प छ । यही समस्यालाई देखाएर ब्यापारीहरूले अत्यावश्यक दैनिक उपभोग्य
वस्तुको अभाव, कालोबजारी र कृत्रिम महँगी सिर्जना गर्ने जोखिम बढेको छ । तरकारीजन्य वस्तुको भाउ प्रदर्शन अघिका दिनमा भन्दा केही बढीसकेको देखिन्छ । थोक बजारमा महँगी नदेखिए पनि खुद्राबजार केही महँगो भइसकेको छ ।
अत्यावश्यक सामग्री आपुर्ति गर्ने निकायहरूले भने त्यस्ता वस्तुको अभाव नरहेको स्पष्ट पारेका छन् । पेट्रोलियम इन्धन, खाना पकाउने एलपी ग्यास, खाद्यान्य, चिनी लगायत अत्यावश्यक वस्तु तथा सामाग्रीको पर्याप्त मौज्दात रहेको बताइएको छ । भदौ २३ गतेदेखि उत्पन्न बिषम परिस्थितीका कारण अहिले दैनिकरूपमा अत्यावश्यक वस्तु तथा सामाग्रीको आयात रोकिएको भएपनि पर्याप्त मौज्दात रहेकाले दशैंसम्म कुनै अभाव नहुने सरकारी स्वामित्वका संस्थानहरूले जनाएका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम इन्धन तथा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको जानकारी दिएको छ । जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण पेट्रोलियम खपतमा कमी आएकाले अभाव हुने अवस्था नरहेको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
निगमसँग अहिले करिब १० दिनका लागि पुग्ने पेट्रोलियम इन्धन सञ्चित छ । उनले निगमले पहिले नै भण्डारण गरेको पेट्रोलियम इन्धनको मौज्दात पर्याप्त रहेको बताए । ‘आन्दोलन र प्रदर्शनपछि उत्पन्न संकटपूर्ण अवस्थाले निजी तथा सार्वजनिक सवारी साधन नचलेका कारण पेट्रोल र डिजेलको खपत खासै भएको छैन,’ उनले भने, ‘आवश्यक परेको अवस्थामा स्थानीय निकायसँग समन्वय गरेर डिपो कार्यालयबाट पेट्रोलियम इन्धन वितरण भइरहेको छ ।’
निगमको थानकोट, अमलेखगन्ज र नेपालगन्ज डिपोमा पर्याप्त पेट्रोलियम इन्धन मौज्दात रहेको उनले जानकारी दिए । निगमका डिपोमा सुरक्षाको प्रत्याभूति भएमा सहज ढंगले पेट्रोलियम इन्धन आपूर्ति गर्न सकिने उनले बताए । सोमबारको प्रदर्शन तथा मंगलबारको तोडफोड र आगजनीपछि उत्पन्न परिस्थितीका कारण कफ्र्यु र निषेधाज्ञा लागू भएकाले पेट्रोलियम इन्धनको खपतमा कम्पनी आएको छ । मंगलबार सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्दै हिँडेको अराजक समूहले निगमको टेकु कार्यालयमा पनि आगो लगाएको थियो ।
बबरमहलस्थित निगमको नवनिर्मित मुख्य कार्यालयको भवनमा समेत आगजनी र तोडफोड भएको थियो । नवनिर्मित भवनमा लागेको आगो निगमको फायर कन्ट्रोल टोलीले निभाइ कार्यालयको सुरक्षा गरेको थियो । समयमै आगो निभाउन सकिएकाले केन्द्रीय कार्यालयमा ठूलो क्षति हुन नपाएको निगमले जनाएको छ ।
देशभर सञ्चालनमा रहेका पेट्रोल वितरण गर्ने पम्प बन्द गर्न कुनै प्रकारको औपचारिक निर्देशन नआए पनि सुरक्षालाई ध्यानमा राखी आवश्यकता अनुसार खोल्ने तथा बन्द गर्ने कार्य गरिरहेको राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।
उनका अनुसार आवश्यकता हेरेर पेट्राल वितरण गर्ने पम्पहरू खोल्ने तथा बन्द गर्ने कार्य निजी क्षेत्रले गरिरहेको भए पनि बैंकिङ कारोबार सहज नहुँदा इन्धन बिक्री बापतको रकम सुरक्षित राख्न समस्या भइरहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवा सूचारु गर्न निर्देशन दिइसकेकाले शुक्रबारबाट भने कारोबार सहज हुने अपेक्षा बढेको पनि उनले बताए ।
यस्तै, खाना पकाउने एलपी ग्यासको पनि अभाव छैन । माग अनुसारको आपूर्ति व्यवस्थापन गर्न सकिने गरी एलपी ग्यासको पर्याप्त मौज्दात रहेको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए । उनले माग अनुसार उपभोक्ताले एलपी ग्यास पाउने अवस्था रहेकाले कुनै समस्या नरहेको बताए ।
यसैगरी, सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले पनि उपत्यका लगायत देशभरमा खाद्यान्नको अभाव नरहेको बताएका छन् । उपत्यकाका लागि आवश्यक परेको समयमा बिक्री वितरण गर्न सकिने गरी ३ लाख क्विन्टल भन्दा बढी खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए । उनका अनुसार कम्पनीका सबै डिपो कार्यालयका गोदाममा खाद्यान्न मौज्दात छ ।
उनले उपभोक्ताका लागि आवश्यक परेको ठाउँमा माग अनुसार तत्काल खाद्यान्न पठाउन सकिने बताए । ‘अहिलेसम्म देशभरका खाद्य गोदममा खाद्यान्न पर्याप्त मौज्दात छ । उपभोक्तालाई माग अनुसार नै आपूर्ति गर्न सकिन्छ,’ उनले भने । उनले कम्पनीको सिराहास्थित लहान शाखा कार्यालयमा मंगलबार खाद्यान्न लुटपाट भएपनि अन्य डिपोहरू सुरक्षित रहेको बताए ।
मिश्रका अनुसार लहान डिपोबाट साढे ८ हजार क्विन्टल चामल, ३ हजार २ क्विन्टल चिनी र ५३ क्विन्टल धान लुटपाट भएको छ । लहान शाखा कार्यालयमा प्रदर्शनकारीसँगै आएका व्यक्तिको भीडले खाद्यान्न लुटेर लैजानुका साथै कार्यालयसमेत आगजनी गरेको कम्पनीले जनाएको छ ।
सहुलियत दरमा खाद्यान्नको बिक्री वितरण गर्दै आएको सरकारी संस्थान साल्ट्र ट्रेडिङ कर्पोरेसनले चामल र नुनलगायतका खाद्यान्न पर्याप्त मात्रामा मौज्दात रहेको जनाएको छ । अहिले दशैंसम्मको खाद्यान्न मौज्दात रहेको कर्पोरेसनका प्रवक्ता कुमारराज राजभण्डारीले जानकारी दिए । उनले अहिले साल्ट्रेडिङमा ५ हजार मेट्रिकटन चामल, १ लाख १० हजार मेट्रिकटन नुन र ३ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।
खाद्यान्नको आयात, उत्पादन तथा बिक्री वितरण गर्दै आएका निजी व्यवसायीसँग पनि खाद्यान्न तथा अत्यावश्यक वस्तु मौज्दात छ । निजी व्यवसायीसँग अहिले एक महिनालाई पुग्ने दाल, चामल, तेललगायतका खाद्य वस्तु मौज्दात रहेकाले अभाव नहुने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य देवेन्द्रभक्त श्रेष्ठले बताए । उनका अनुसार माग अनुसार खाद्य वस्तु बजारमा गइरहेको छ ।
अहिलेको संकटग्रस्त अवस्थामा निजी व्यवसायीबाट बिक्री वितरण हुने खाद्य वस्तुको मूल्य नबढ्ने पनि उनले बताए । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले पनि दशैंसम्म पुग्ने पर्याप्त खाद्यान्न मौज्दात रहेकाले बजारमा अभावको अवस्था नआउने बताए ।
दैनिक अत्यावश्यक वस्तु तथा सामाग्रीको अभाव नरहेको सम्बन्धित सरोकारवालाले बताए पनि अहिलेको अवस्थामा बजार अनुगमनमा चुनौती छ । दैनिकरूपमा उपभोग्य वस्तु तथा सामाग्री बोक्ने सवारी साधनको आवागमन ठप्प रहेकाले पनि बजारमा अभाव सृजना हुनसक्ने अवस्था छ ।
दैनिक उपभोग हुने वस्तु दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी, फलफूल लगायत अत्यावश्यक वस्तुको सहज ढुवानीमा अहिले देशको विषम परिस्थितीका कारण कठिनाइ छ ।