जनकपुरधाम, २६ भदौ - जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न भइरहेको राजनीतिक अस्थिरता र तनावपूर्ण परिस्थितिका बीच जनकपुर धाममा नेपाली कांग्रेस निकटका युवा र विद्यार्थी संगठनहरूले खबरदारी जुलुस प्रदर्शन गरेका छन् । बिहीबार जनकपुर धामको क्याम्पस चोकदेखि मुरली चोकसम्म आयोजित उक्त प्रदर्शनमा उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीभित्र रहेरै समाधान खोजिनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसका भ्रातृ संगठन तरुण दल धनुषा र नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषाले संयुक्त रूपमा प्रदर्शन आयोजना गरेका हुन् । तरुण दलका अध्यक्ष सञ्जयलाभ कर्ण र नेविसंघ धनुषाका सभापति सुजित यादवको नेतृत्वमा निकालिएको जुलुसमा सहभागीहरूले संविधानको संरक्षण, संघीयता र गणतन्त्रको रक्षा तथा राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा प्रस्तुत गर्न माग गरेका थिए ।
प्रदर्शनकारीहरूले राष्ट्रिय राजनीतिमा देखा परिरहेको अन्योल र जेनजी आन्दोलनसँग जोडिएको संकटको समाधान लोकतान्त्रिक पद्धति र संवादमार्फत खोजिनुपर्नेमा जोड
दिएका छन् । उनीहरूले लोकतान्त्रिक मूल्य र संस्थाहरूको सम्मान गर्दै, अस्थिरताको समाधान संविधान र कानुनी प्रक्रिया भित्रै गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
यता, जनकपुरधामसहित धनुषा जिल्लामा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) शंकर हरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै निषेधाज्ञा तथा कर्फ्यु आवश्यक ठहर गरेको हो ।
प्रशासनका अनुसार बिहीबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ भने साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ण कर्फ्यु आदेश जारी गरिएको छ । निषेधाज्ञा र कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।
प्रशासनले नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै, कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नहुन र कानूनको पालन गर्न अपील गरेको छ । जिल्ला प्रशासनको यो कदम जनकपुरधाममा पुनः शान्ति र स्थायित्व कायम गर्ने उद्देश्यले लिइएको जनाइएको छ ।