महोत्तरी, २६ भदौ - जलेश्वर कारागारबाट भदौ २४ गते साँझ भएको सामूहिक पलायनपछि भागेका पाँच सय ७५ कैदीमध्ये १० जना स्वेच्छाले कारागार फर्किएका छन् । कारागार प्रशासनले २४ घण्टा भित्र स्वेच्छाले फर्किन अपिल गरेपछि बुधबार रातिदेखि कैदीबन्दी सम्पर्कमा आउन थालेका हुन् ।
कारागारका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरका अनुसार बुधबार राति तीनजना र बिहीबार दिउँसोसम्म थप ७ जना गरी जम्मा १० जना कैदी पुनः कारागारमा फर्किएका हुन् ।
ठाकुरले बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै २४ घण्टाभित्र स्वेच्छाले फर्कन आग्रह गरेका थिए । अपिलमा सो समयमा नफर्किए कानूनी कारबाही हुने चेतावनी दिइएपछि कैदीबन्दीका आफन्तहरू र अस्पताल प्रशासनको माध्यमबाट कैदीहरू सम्पर्कमा आउन थालेको जनाइएको छ ।
कारागार प्रशासनका अनुसार हालसम्म कर्तव्य फर्किनेहरूमा कर्तव्य ज्यान मुद्दामा चन्द्रदिप यादव, पवन लामा र हरदेव यादव रहेका छन् भने सशस्त्र प्रहरी थमन विक हत्या मुद्दामा संलग्न रहेका संजय साह र प्रदिप साह माझी पनि कारागार फर्किएका छन् । यस्तै, लागुऔषध मुद्दामा शनत शिवाकोटी, सवारी ज्यान मुद्दामा वृषेश मण्डल र राहुल कुमार झा तथा अपहरण मुद्दामा राहुल सिंह र नारायण थापा रहेका छन् ।
यसअघि भदौ २४ गते साँझ करिब ७ बजे लाठी र बाँसको भाटा लिएर आएका आन्दोलनकारी समूहले कारागार कब्जा गरी सुरक्षागार्डमाथि आक्रमण गरेपछि कैदीबन्दीहरू
भागेका थिए । आन्दोलनकारीहरूले मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी थमन विकको हत्या आरोपमा थुनामा रहेका पूर्व प्रदेश सांसद कौशल कुमार यादवलगायत केही कैदीहरूको रिहाइको माग गरेका थिए ।
सुरक्षा निकायले भिड अनियन्त्रित भएको भन्दै बल प्रयोग नगरी पछि हटेपछि पाँच सय ७६ मध्ये पाँच सय ७५ जना कैदी फरार भएका थिए । एकजना दिपक कुमार यादव सुस्त मानसिक अवस्थामा रहेका कारण भागेका थिएनन् । फर्किएका कैदीहरूमा कर्तव्य ज्यान, लागुऔषध, अपहरण, तथा सवारी ज्यान मुद्दाका सजाय-पुर्पक्षमा रहेका व्यक्ति समावेश छन् ।