नेभिगेशन
प्रदेश

सप्तरीका सरकारी कार्यालयमा आगजनी, लुटिएको सम्पत्ति फिर्ता गर्न प्रशासनको आग्रह

सप्तरी, २७ भदौ - गत भदौ २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा सप्तरीका विभिन्न पार्टी कार्यालय तथा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रभावित पार्टी कार्यालयमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत लगायतका कार्यालय छन् भने सरकारी कार्यालयमा जिल्ला अदालत, उच्च अदालत, सरकारी वकिल कार्यालय, डिभिजन वन कार्यलय, पूर्वाधार विकास कार्यालय, हुलाक कार्यालय, राजविराज नगरपालिका र पत्रकार महासंघ शाखा रहेका छन् ।

विशेषगरी जिल्ला अदालत, उच्च सरकारी वकिल कार्यालय र डिभिजन वन कार्यलयमा ठूलो क्षति पुगेको छ । जिल्ला अदालतका स्रेस्तेदार श्यामलाल अधिकारीका अनुसार आगजनीले अदालतमा रहेका केश मिसिल, दस्तावेज, इजलासका समान र सरकारी तथा निजी सवारीसाधन जलेर नष्ट भएका छन् ।

साथै, आन्दोलनको क्रममा केही व्यक्तिले कार्यालयबाट कम्प्युटर, प्रिन्टर, फर्निचर र अन्य समान पनि लुटेको प्रमाण भेटिएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शुक्रबार सूचना जारी गर्दै सात दिनभित्र लुटिएको वा चोरी गरिएको सम्पत्ति फिर्ता गर्न सार्वजनिक आग्रह गरेका छन् ।

प्रशासनका अनुसार घटनासम्बन्धी प्रमाणहरू सीसीटीभी फुटेज, टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा स्पष्ट देखिएका छन् । प्रशासनले चेतावनी दिएको छ कि सात दिनभित्र सम्पत्ति फिर्ता नगर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्