नेभिगेशन
प्रदेश

जेनजी आन्दोलनको समयमा दुई सयभन्दा बढी सालका रुख काटिए

महोत्तरी, २७ भदौ - जेनजी आन्दोलनको समयमा अशान्त अवस्थाको फाइदा उठाउँदै महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित साझेदारी वनमा २०० भन्दा बढी सालका रुख गैरकानुनी रूपमा काटिएको छ । 

साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार आन्दोलनकै दिन केही युवाले समितिको कार्यालयमा आगजनी प्रयास गरेका थिए । कार्यालयमा आगो लगाउन नसकेपछि उनीहरूले करिब एक सय ८३ वटा सालका रुख ढालेका थिए । भोलिपल्ट सोही समूहले फेरि २१ वटा रुख काटेपछि कुल क्षति दुई सयभन्दा बढी पुगेको हो ।

घटनापछि प्रहरीले तत्काल कारबाही गर्दै कृष्ण घलानसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । तर, गाउँलेहरूको दबाबका कारण दुवैलाई छोड्नुपरेको प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कानूनी दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार वन सम्पत्ति जोगाउन उपभोक्ता समिति, प्रहरी र प्रशासनबीच समन्वय भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्