नेभिगेशन
प्रदेश

भैरहवामा शान्ति सद्भाव र्‍याली, रुपन्देहीमा कर्फ्यु हट्यो

भैरहवा, भदौ २७ - जेनजी आन्दोलनपछि असहज बनेको रुपन्देहीको वातावरणलाई सहज बनाउन शुक्रबार भैरहवामा शान्ति–सद्भाव र्‍याली निकालिएको छ । बिहान ८ बजे नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्‍याली गरिएको हो ।

स्थानीय निजी तथा सामाजिक संघ–संस्थाले आयोजना गरेको र्‍यालीमा सहभागीले अब बन्द, हड्ताल र तोडफोड नगरी शान्ति, सद्भाव र एकतापूर्ण समाज निर्माण गर्नुपर्ने सन्देश दिएका छन् । उनीहरूले आन्दोलनका क्रममा भएको क्षति पुनर्निर्माण गर्दै जनजीवनलाई सामान्य बनाउन माग गरेका छन् ।

शान्ति र्‍यालीमा सहभागी जेनजी युवाहरूले पनि भ्रष्टाचारविरुद्धको आन्दोलनमा केही व्यक्तिले घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आक्रमण गरेको जनाउँदै, त्यस्ता गतिविधिले फेरि समाजलाई अस्थिर बनाउन सक्ने चेतावनी दिएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सबैको सहकार्य र सद्भावले मात्र समाजमा शान्ति कायम गर्न सकिने बताए । आन्दोलनका नाममा तोडफोड र आगजनीमा संलग्नलाई पहिचान गरी कानूनी कारबाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । 

शान्ति र्‍यालीमा लुम्बिनी प्रेस क्लब, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनसहित विभिन्न संघ–संस्थाको सहभागिता थियो ।

यसैबीच जेनजी आन्दोलनपछि रुपन्देहीमा जारी कफ्र्यू आदेश हटाइएको छ । प्रशासनले शुक्रबार बिहानदेखि जनजीवनलाई सहज बनाउन कर्फ्यु हटाएको भए पनि सुरक्षा निगरानी भने यथावत राखिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्