पर्सा, २७ भदौ - भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जेनजी युवाहरूले तोडफोड तथा आगजनी गरेपछि वीरगञ्ज महानगरपालिका कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । कार्यालय भवनसँगै महत्वपूर्ण कागजात र सरसामान जलेर नष्ट हुँदा महानगरपालिकालाई करोडौंको क्षति पुगेको छ ।
महानगरका कर्मचारीका अनुसार सबै फाइल र अभिलेख जलेपछि विवरण संकलनमा समय लाग्ने भएकाले दैनिक सेवा प्रवाह प्रभावित हुने निश्चित भएको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका खडेरी र हैजा नियन्त्रणको चुनौतीबीच आर्थिक संकटको सामना गर्ने अवस्थामा पुगेको छ ।
गत भाद्र २४ गते देशभर जेनजी पुस्ताले थालेको भ्रष्टाचारविरुद्धको आन्दोलन उग्र बनेपछि विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यसै क्रममा वीरगञ्ज महानगरपालिका कार्यालय सबैभन्दा बढी प्रभावित बनेको हो ।
कार्यालयका भवन, सवारीसाधन र शाखाहरूमा तोडफोड हुनुका साथै अज्ञात समूहले मध्यरातमा कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री चोरी गरेका छन् । घटनापछि कर्मचारीहरू स्तब्ध बनेका छन् । उनीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन जायज भए पनि सार्वजनिक सम्पत्ति जलाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
नगरप्रहरी प्रमुख हरी प्रसाद भुसालका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा चोरीमा संलग्नलाई पत्ता लगाउने कार्य भइरहेको छ । अहिले कार्यालय परिसरमा सरसफाइ अभियान सुरु गरिएको छ । बाँकी रहेका कागजात सुरक्षित स्थानमा सारिँदै छन् ।
वीरगञ्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कर्णले करिब एक साताभित्र सेवा पुनः सुरु गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । उनका अनुसार केही डाटा प्राविधिक सहयोगमार्फत रिकभर भए पनि पुराना अभिलेख जलेर नष्ट भएका छन् ।
महानगरपालिकाका ६ भवनभित्र रहेका ९ महाशाखा र ४६ शाखामध्ये अधिकांश ध्वस्त भएका छन् । यता सरसफाइ शाखा प्रमुख सर्फुद्धिन मियाँले जेनजी आन्दोलनको उद्देश्य सुशासन भए पनि सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड निन्दनीय भएको टिप्पणी गरे ।