नेभिगेशन
उपत्यका

वैदेशिक रोजगार ऐन संशोधनका लागि संस्थागत सुझाव दिइँदै

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति बैठकले संघको विधानबमोजिम विभिन्न महŒवपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले संघका पूर्वअध्यक्ष तथा अरोरा ह्युमन रिसोर्सेजका सञ्चालक राजेन्द्र भण्डारीलाई संघको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, संघका पूर्वसल्लाहकार तथा प्याराडाइज इन्टरनेशनलका सञ्चालक नवराज केसी, संघका पूर्वसल्लाहकार तथा द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरी, तथा संघका पूर्वसल्लाहकार एवं कान्तिपुर मेनपावरका सञ्चालक धनलाल जैसीलाई पनि संघको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, संघले यसअघि नै वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र वरिष्ठ अधिवक्ता देवराज कटुवाललाई कानुनी सल्लाहकारका रूपमा नियुक्त गरिसकेकोमा थप अधिवक्ता मधुकर रिजाललाई समेत संघको कानुनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
संघको विधानबमोजिम मनोनित हुने चार सदस्य पदमा देवीप्रसाद गिरी, राजेन्द्र बस्नेत, शिवहरि मैनाली र श्यामचन्द्र खतिवडालाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा युवा तथा श्रम रोजगार मन्त्रालयबाट संशोधनको तयारी भइरहेको वैदेशिक रोजगार ऐनका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो । छलफलका क्रममा वैदेशिक रोजगारीमा जाने कामदारको लागत निर्धारण, कामदारको जिम्मेवारी तथा दायित्व स्पष्ट बनाउने, विद्यमान नीतिगत तथा कार्यान्वयनगत जटिलताको समाधान गर्ने लगायत दर्जनौं विषयमा संशोधन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । सोहीअनुसार संघले विस्तृत संस्थागत राय तथा लिखित सुझाव तयार गरी मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ ।
यस अवसरमा संघका महासचिव हिराबहादुर डाँगीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नीति सुधार्ने जिम्मा राज्यले लिएमा यो व्यवसायिक क्षेत्र सुधार्ने जिम्मा संघले लिनेछ ।’
संघले वैदेशिक रोजगार क्षेत्रका समसामयिक चुनौतीहरूको समाधान, श्रमिकको हित संरक्षण, व्यवसायको संस्थागत विकास तथा सुशासन प्रवर्धनका लागि सरकारसँग रचनात्मक सहकार्य गर्दै आवश्यक नीतिगत सुधारका विषयमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्