नेभिगेशन
नेपाल

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीएनआईको आग्रह

काठमाडौं, २७ भदौ - नेपाल उद्योग परिसंघले देशभरका आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षतिमा दुःख व्यक्त गदैं भ्रष्टाचार विरोधी आन्दोलनले सार्थकता पाउने विश्वास व्यक्त गरेको छ । परिसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिताबारे युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास राखेको जनाएको छ ।

विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास गर्दै त्यसका लागि आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न प्रतिवद्ध रहेको जनाएको छ । परिसंघले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । 

औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न पनि परिसंघले आग्रह गरेको छ ।

कोभिड १९ र त्यसपछि लिइएका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनौतीपूर्ण अवस्थाको सामना गर्न‘ परेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा पनि उद्योग व्यवसाय सहजै सञ्चालन हुन नसके अर्थतन्त्रको चक्रमा असर पर्ने परिसंघले जनाएको छ । यसबाट समग्र अर्थतन्त्रको विकास र सरकारको राजस्व प्रभावित हुन सक्ने भएकाले समयमै उचित वातावरण बनाउन पनि परिसंघले अनुरोध गरेको छ ।

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउँछ । नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरुप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भिर प्रयत्नशील बन्नुपर्ने बुझाइ रहेको परिसंघले जनाएको छ । युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट शसक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता पनि परिसंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्