नेभिगेशन
प्रदेश

चार वर्षदेखि साङ्लोमा

रौतहट । उनको बिहान कसरी सुरु हुन्छ र साँझ कसरी टुंगिन्छ भन्नेमा खासै फरक छैन । रौतहटको चन्द्रपुर–२ नयाँटोलस्थित एउटा सानो घरको आँगनमा रमेश थापा चार वर्षदेखि साङ्लोमा बाँधिएको जीवन बिताइरहेका छन् । खुला आकाश देखिन्छ, बाटोमा मानिसहरूको आउजाउ पनि देखिन्छ, तर उनी भने केही मिटरको घेराभित्र सीमित छन् । स्वतन्त्र भएर हिँड्ने, काम गर्ने र समाजसँग घुलमिल हुने अधिकारबाट उनी धेरैअघि नै वञ्चित भइसकेका छन् ।
३६ वर्षीय रमेश ८–१० वर्षअघिसम्म अरू सामान्य युवाजस्तै ज्याला मजदुरी गर्थे । श्रम गरेर परिवारको खर्च टार्थे । तर समयसँगै उनको मानसिक अवस्था बिग्रँदै गयो । सानैदेखि रहेको छारे रोगको समस्या पछिल्ला वर्षहरूमा थप जटिल बनेपछि उनको व्यवहारमा असामान्य परिवर्तन देखिन थाल्यो । गाउँमा पुगेर मानिससँग झगडा गर्ने, आक्रामक बन्ने र घरबाट हराउने घटना बढेपछि परिवारसँग अर्को विकल्प बाँकी रहेन । निजगढ हुँदा पनि कहिलेकाहीँ उनलाई साङ्लोले बाँधेर नै घरमा राख्ने गरिएको परिवारका सदस्य बताउँछन् । तर रौतहट आएपछि भने लगातार चार वर्षदेखि उनी साङ्लोमै बाँधिएर बसेका छन् ।
रमेशकी आमा पार्वती थापाको अनुहारमा थकान र पीडा दुवै झल्किन्छ । उनी भन्छिन्, ‘आमाको मनले आफ्नै छोरालाई साङ्लोमा बाँध्न कहाँ मान्छ र ? तर हामी काममा नगए खान पुग्दैन, घरमा हेर्ने कोही छैन । बाँधेर नराखे कतै हराउँछन् वा कसैलाई चोट पु¥याउँछन् भन्ने डर लाग्छ ।’
यो केवल एउटा आमाको विवशता होइन, गरिबी र उपचारको पहुँच नहुँदाको कठोर यथार्थ पनि हो ।
रमेश परिवारका जेठा छोरा हुन् । उनका दुई भाइ र तीन बहिनी छन् । अहिले उनी रौतहटमा आफ्नो आमाबुबा र कान्छो भाइसँग बस्दै आएका छन् । परिवारको आर्थिक स्थिति एकदमै नाजुक छ । 
रमेशको परिवार यसअघि बाराको निजगढ–६ मा बस्दै आएको थियो । परिवारका अनुसार आफ्नो सम्पत्ति गुमाएपछि उनीहरू रौतहट आए । अहिले स्थानीय समाजसेवी कमला ढकालले उपलब्ध गराएको जग्गामा बनेको सामान्य घरमा उनीहरू बस्दै आएका छन् । घर सानो, आम्दानी न्यून र भविष्य अनिश्चित छ । त्यही आँगनको एक कुनामा रमेशको संसार सीमित छ ।
परिवारले उपचारको प्रयास नगरेको भने होइन । करिब एक वर्षअघि उनलाई मानव सेवा आश्रम हरिवनमा पु¥याइएको थियो । त्यहाँ उनको आक्रामक व्यवहारका कारण अन्य आश्रितको सुरक्षामा समस्या भएपछि पुनः घर फर्काइयो । आश्रमका मधेस प्रदेश इन्चार्ज विवेक महतोका अनुसार रमेशलाई विशेषज्ञ चिकित्सकको निगरानीमा केही महिना निरन्तर उपचार गर्न सके सुधार आउने सम्भावना अझै छ । तर, त्यसका लागि आवश्यक आर्थिक स्रोत र संस्थागत व्यवस्था चाहिन्छ ।
रमेशका बुवा गणेशबहादुर थापा आफ्ना छोरालाई हेर्दै भन्छन्, ‘हामीसँग उपचार गराउने पैसा छैन । राम्रो अस्पताल वा सुधार केन्द्रमा राख्न सक्ने हैसियत छैन । कसैले सहयोग गरिदियो भने मात्रै छोराले नयाँ जीवन पाउन सक्छ ।’
रमेशको अवस्थाबारे सुनेपछि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरू उनको घर पुगे । नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने ढकालले प्रतिबद्धता जनाएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले मानिसलाई साङ्लोमा बाँधेर राख्नु कानुनी र मानवीय दुवै दृष्टिले उचित नभएको उल्लेख गर्दै परिवारलाई वैकल्पिक र सम्मानजनक हेरचाहको व्यवस्था गर्न आग्रह गरेकी छन् । तर प्रश्न उहीँ छ—विकल्प कहाँ छ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्