नेभिगेशन
उपत्यका

सिंहदरबारभित्र ह्वीलचियर र सहजकर्ता व्यवस्था

काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपांगता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबार उक्त व्यवस्थाको शुभारम्भ गरेका हुन् । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको जनाइएको छ । 
मुख्यसचिव अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारका अधिकांश कार्यालयहरू अपांगतामैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा भोग्नुपरेको कठिनाइ अब नहुने जनाए । 
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पु¥याउने व्यवस्था मिलाइएको छ । यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्, जसले सेवाग्राही र कर्मचारीलाई आवश्यक सहयोग गर्नेछन् ।
सरकारले यस व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । यो व्यवस्था देशभरका सरकारी निकायहरूमा लागू गर्ने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्