नेभिगेशन
उपत्यका

आत्मदाह प्रयासमा अवस्था गम्भीर

काठमाडौं । एकछिनका लागि भन्दै रोकेको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगरप्रहरीले ‘ह्वील लक’ लगाइएपछि बिहीबार राहदानी विभागअगाडि एक युवकले आत्मदाह प्रयास गरेका छन् । सोही मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाह प्रयास गरेका यसजकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि भएको उक्त घटनामा मुगुका २५ वर्षीय गणेश नेपालीले शरीरमा आगो लगाएका हुन् । प्रारम्भिक जानकारीअनुसार गणेशले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए । नगरप्रहरीले जथाभावी पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्वील लक लगाइदिए । उनले सोही मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नो जिउमा खन्याई आगो लगाएका थिए । घटनालगत्तै त्यहाँ उपस्थित सुरक्षाकर्मी र सर्वसाधारणले आगो निभाएर उनलाई उद्धार गरेका थिए । उपचारार्थ वीर अस्पताल भर्ना गरिएका उनको अवस्था गम्भीर छ । शरीरको करिब ६० प्रतिशत भागमा जलेको चिकित्सकले जनाएका छन् ।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको अनुहार, घाँटी, छाती तथा दुवै हात र खुट्टामा गम्भीर जलन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्