नेभिगेशन
उपत्यका

मुख्यसचिव अर्यालको बिदाइ

काठमाडौं । सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा बिदाइ गरिएको छ भने नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे । उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी, सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताए । सरकार र कर्मचारीतन्त्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने स्पष्ट पारे । 
नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका सुधारका नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रधानमन्त्री शाहसँगै कुनै पनि मन्त्रालयका मन्त्रीहरुको भने उपस्थिति थिएन  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्