नेभिगेशन
नेपाल

रवि लामिछाने पुनः नख्खु कारागार फर्किए

काठमाडौं (संवाददाता) – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः नख्खु कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी गत मंगलबार जेनजी आन्दोलनका बेला सुरक्षाको कारण देखाउँदै कारागार बाहिरिएका थिए ।

अदालतको आदेशबिनै बाहिरिएको भन्दै उनको आलोचना भएको थियो । उनी बाहिरिदा धेरै जना कैदीबन्दी बलपूर्वक भागेका थिए । लामिछाने निस्केको थाहा पाएपछि कैदीबन्दीको मनोबल बढेर दे शभरका कारागारमा भागाभाग चलेको थियो । १३ हजार हाराहारी कैदीबन्दी भागेका थिए । केही कारागारमा स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाउन परेको थियो । 

सामाजिक सञ्जालमार्फत शनिबार भिडियो सन्देश जारी गर्दै लामिछानेले जन्मदिन पारेर आफू कारागार फर्किन लागेको बताएका छन् । उनले भनेका छन्, ‘पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोधका कारण मेरो जिना हराम बनाएको थियो । तर आज मुलुकको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री हुनुहुन्छ, अब अन्याय हुने छैन भन्ने विश्वाससहित म कारागार फर्किरहेको छु ।’ 

ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार शनिबार साँझ लामिछाने नख्खु कारागार फर्किसकेका छन् । लामिछानेले यसअघि आफू प्रक्रिया पूरा गरेरै निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइपत्रसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तर, नख्खु कारागार प्रशासनले उक्त पत्र फर्जी भएको बताउँदै लामिछाने सहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन आदेश दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्