नेभिगेशन
उपत्यका

गणेश नेपालीको न्याय माग्दै वीर अस्पताल र माइतीघरमा प्रदर्शन

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए । प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्मकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरू सडकतर्फ जान खोजेपछि नेपाल प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यस क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
यसैगरी जनपक्षीय ट्रेड युनियन महासंघले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई लिएर शनिबार काठमाडौंको माइतीघर मण्डलामा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा महासंघले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाउने परिस्थिति राज्यले सिर्जना गरेको आरोप लगाउँदै सरकारको विरोध गरेको हो ।
प्रदर्शनका क्रममा सहभागीहरूले युवामा बढ्दो निराशा, बेरोजगारी र सामाजिक असुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी समाधानको माग गरेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्