नेभिगेशन
नेपाल

क्षतिका बाबजुद थप लगानी र रोजगारी सिर्जना गर्ने उद्यमीहरूको प्रतिवद्धता

ध्वंसात्मक आन्दोलनबाट सरकारी संरचना त क्षति भए नै, निजी क्षेत्र पनि थिलथिलो भएको छ । होटल तथा पर्यटन उद्योग, बजार, अटोमोबाइल क्षेत्रमा तोडफोड र आगजनी हुँदा उद्योग व्यवसायमा ठूलो क्षति पुगेको छ ।

अर्बौंको भौतिक क्षतिले अर्थतन्त्रमा ठूलो चोट परेको छ । धेरैको व्यवसाय धरापमा पर्दा हजारौंको रोजगारी संकटमा परेको छ । लगानी प्रभावित भएको छ । तर सँगसँगै आन्दोलनले देशमा सकारात्मक परिवर्तनको संकेत दिएको छ । उद्यमीहरूले पनि नयाँ पुस्ताले देखेको सपना पूरा हुने विश्वास व्यक्त गर्दै आफूहरू माथि पुगेको क्षतिका बाबजुद माथि उठेर थप लगानी र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष शेखर गोल्छा, चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फेरि उठ्ने सन्देश सामाजिक सञ्जालमार्फत दिएका छन् । तर, यसका लागि सुशासन हुनुपर्ने उनीहरूको भनाइ छ ।

महासंघका अध्यक्ष ढकालले उद्योग, व्यवसाय र निजी आवासमा भएको तोडफोड, लुटपाट र आगजनीबाट नोक्सानी भए पनि सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । आन्दोलनबाट अर्बौंको क्षति मात्र नभइ हजारौंको रोजगारी संकटमा परेको र लगानी धरापमा परेको उनले बताएका छन् ।

उद्योगी व्यवसायीहरूलाई अहिलेको क्षतिबाट नआत्तिन र उद्योग व्यवसायको पुनःनिर्माणमा होमिन उनले आग्रह पनि गरेका छन् । यस्तो चुनौतीलाई मुलुकको आर्थिक सुधारका लागि नयाँ अवसर पनि हुनसक्ने उनी आशावादी छन् । महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आन्दोलनबाट आफ्नो परिवार प्रभावित भए पनि निराश र विचलित नभएको बताएका छन् । 

आन्दोलनले देशमा सकारात्मक परिवर्तन ल्याएको र नयाँ पुस्ताले देखेको नेपालको सपना पूरा हुने कामना गर्दै अब सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले उद्यमीहरू क्षतिका बाबजुद पनि रोजगारी सिर्जना गर्न थप लगानी गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिलेको आन्दोलन इतिहासमै सबैभन्दा पीडादायी भएको बताएका छन् । युवाहरूले जवाफदेहिता र परिवर्तनको माग अघि सारेर सुरु गरेको आन्दोलन बाह्य शक्ति र अराजक समूहले हिंसा र तोडमोडतर्फ मोडिदिएको उनले उल्लेख गरेका छन् ।

सीजी ग्रुपको सतुंगल स्थित कारखानामा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरी ठूलो क्षति पुर्‍याएका छन् । जसबाट आफूहरू मर्माहत भए पनि पुनः उठ्ने उनले बताएका हुन् । अहिलेभन्दा थप बलियो भएर उदाउने र अहिलेको विध्वंसलाई इतिहासले सम्झने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्