भदौ २८ - तनहुँ र कास्की कारागारबाट भागेका छजनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पक्राउ पर्ने चारजना चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई नियन्त्रणमा लिएको बताए ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए । चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारैजनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।
यस्तै , कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका—१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा २०७५ असार देखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
यस्तै , तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ । चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन गरेको छ । प्रदर्शनका कारण जिल्लास्थित सरकारी, गैरसरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन गर्न १३ सदस्यीय समिति गठन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति मूल्याङ्कन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको संयोजकत्वमा क्षति मूल्याङ्कन समिति गठन गरेको हो ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी, प्रहरी निरीक्षक पप्पुकुमार यादव, सहायक जिल्ला न्यायाधिवक्ता सुरेश यादव, कोष नियन्त्रक कार्यालयका तर्फबाट
कैलाश राना, सडक पूर्वाधार विकास कार्यालयका इञ्जिनियर हितेन्द्र रायमाझी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनिल दत्त कहाँर, रामग्राम नगर पालिकाका प्रशासकीय अधिकृत खेमराज ढकाल, सुनवल नगर पालिकाका अधिकृत पुरुषात्तम ढकाल, बर्दघाट नगर पालिकाका अधिकृत कृष्णबहादुर थापा, सुस्ता गाउँपालिकाका अधिकृत राजु सुवेदी, प्रतापपुर गाउँपालिकाका अधिकृत नन्दलाल कुम्हाल, सरावल गाउँपालिकाका अधिकृत ईश्वरी खनाल र पाल्हीनन्दन गाउँपालिकाका इञ्जिनियर उमेश शर्मा छन् ।
यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको अनुगमन गरेका छन् । जेनजी प्रदर्शनकारीले सुर्खेतमा आगजनी र तोडफोड गरेका सरकारी तथा निजी भौतिक संरचनाहरू मुख्यमन्त्री कँडेलले आज अनुगमन गरेका हुन् ।
भाग्न सघाएको आरोपमा १४ पक्राउ
पर्वत, २८ भदौ - जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले आज एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाका एक र चितवनका एक जनालाई पक्राउ गरिएको हो ।
नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७० को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उनले बताए । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् । पर्वत जिल्ला कारागारबाट २५ गते राति १० जना कैदीबन्दी फरार भएका थिए ।
प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट फरार भएका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्नसमेत अनुरोध गरेको छ । - रासस