तपाईंले नेपालको भूपू सांसदहरू दिउँसै संसद् भवनमा झुपुक्क निदाउने गरेको तस्वीर हेर्नु भएको होला । आखिर उनीहरू किन संसद्मा झुपुझुपु निदाएका होलान् भन्ने सोच्नु भएको छ ?
हालै वैज्ञानिकहरूले दिउँसो अत्यधिक निद्रालु हुने समस्या (एक्सेसिभ डेटाइम स्लीपिनेस–इडिएस) का कारण यस्तो समस्या देखिने बताएका छन् । यसको मूल जैविक कारणसमेत उनीहरूले फेला पारेका छन् । सो जैविक कारणले नै दिउँसै निद्रालु अवस्था हुने र यस्तो अवस्था बारेको पहिलेको बुझाइलाई नै पुनःपरिभाषित गर्न सक्ने वैज्ञानिकहरूले जनाएका छन् ।
यस्तो अवस्था देखिनु कालान्तरमा ती व्यक्तिलाई मधुमेह, मोटोपना र मुटु रोगको जोखिम बढाउने मानिन्छ । यसअघि लामो समयसम्म दिउँसो झुपुक्क निद्रा लाग्नुलाई मानसिक समस्या वा अन्य निद्रासम्बन्धी विकारको परिणाम हो भनेर बेवास्ता गर्ने गरिएको थियो ।
अहिले भने बोस्टनस्थित ब्रिघम एन्ड विमेन्स हस्पिटलका निद्रा विज्ञहरूले रगतमा भेटिने सातवटा अणु पहिचान गरेका छन् । तिनै अणुका कारण इडिएस हुने बताइएको छ । गत साता ई–बायोमेडिसिन पत्रिकामा प्रकाशित अनुसन्धानले देखाएअनुसार दिउँसोको थकान र निद्राको मूल कारण आहार तथा हर्मोनको ठूलो भूमिका छ ।
विशेषगरी, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिडहरूको कमीले त्यस्तो हुने गरेको बताइएको छ । तर खान्कीमा जोडिने ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिडले दिउँसोको झुपुझुपु हुने निद्राबाट बचाउन सहयोग गर्न सक्नेमा वैज्ञानिकहरू विश्वस्त भएका छन् ।
अध्ययनमा, अनुसन्धानकर्ताहरूले शरीरमा स्वभाविक रूपमा पाइने हर्मोन र आहारजस्ता बाह्य कारकद्वारा प्रभावित ८७७ वटा अणु (मेटाबोलाइटस्) सम्बन्धी तथ्याङ्क संकलन गरे । छ हजार सहभागीहरूको रगतको नमूना लिएर र उनीहरू दिउँसो विभिन्न अवस्थामा कति पटक निदाउने गर्छन् भन्ने सर्वेक्षण गरे । यस्तो अवस्था आउनुमा सातवटा मेटाबोलाइट रहेको र ती इडिएससँग प्रत्यक्ष जोडिएको वैज्ञानिकहरूले पत्ता लगाए ।
ब्रिघम एन्ड विमेन्स हस्पिटलका निद्रा विशेषज्ञ डा. तारिक फक्वी भन्छन्, ‘हाम्रो अध्ययनले आहार र आनुवंशिकताले इडिएसमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाएको छ । जब हामी जैविक रूपमा के भइरहेको छ भन्ने बुझ्न थाल्छौं, त्यो बेला यो किन हुन्छ, प्रारम्भिक लक्षण के हुन सक्छ र बिरामीलाई सहयोगका लागि के गर्न सकिन्छ भन्ने थाहा पाउँछौं ।’
अनुसन्धान टोलीका अनुसार ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिडहरू (जसलाई माछाको बोसोयुक्त भाग, अण्डाको पहेंलो भाग र बदाममा पाइन्छ) सेवन गर्दा दिउँसोको निद्रालु हुने जोखिम कम गर्ने सम्भावना छ ।
त्यसैगरी, अत्यधिक पाकेका खानेकुरामा पाइने टाइरामिन नामक मेटाबोलाइटका कारण विशेषगरी पुरुषहरू दिउँसो अत्यधिक निद्रालु हुने जोखिम बढाउने गरेको देखिएको छ । टाइरामिन राति ढिलो निद्रा लाग्ने र निद्राको गुणस्तर बिग्रनेसँग पनि सम्बन्धित पाइयो । त्यसो हुँदा उनीहरूको दिउँसोको थकानलाई अझ बढाउन सक्ने अध्ययनमा देखिएको छ ।
अनुसन्धानकर्ताहरूले लिंगअनुसार फरक देखिने थप तीन अणु पनि पहिचान गरे, जसमा प्रोजेस्ट्रोनजस्ता हर्मोनहरू निद्रासम्बन्धी प्रक्रिया - जस्तै मेलाटोनिन उत्पादन—सँग जोडिएका थिए ।
यद्यपि, अनुसन्धानकर्ताहरूले आफ्ना नतिजाहरूले इडिएसको उपचारका लागि सम्भावित लक्ष्यहरू (डाइटरी परिवर्तनसहित) देखाएको भए पनि अझै केही सीमाहरू रहेको बताए । उदाहरणका लागि, निद्रासम्बन्धी स्कोर प्रश्नावलीमार्फत लिइएको थियो, प्रयोगशालामा गरिएको परीक्षण नभएकाले नतिजा प्रभावित हुनसक्छ। साथै, शरीरमा मेटाबोलाइटको सटीक मूल्य निर्धारण गर्न कठिन भएको कुरामा भने उनीहरूले स्वीकारे ।
डा. फक्वीले थपे, ‘क्लिनिकल परीक्षण गर्नु ठूलो अर्को कदम हुनेछ, जसले आहारबाट प्राप्त हुने ओमेगा–३ र ओमेगा–६ ले वास्तवमै इडिएसको जोखिम कम गर्छ वा गर्दैन भन्ने बुझ्न मद्दत गर्नेछ ।’
अनुमानअनुसार, अमेरिकामा झन्डै एक–तिहाइ जनसंख्या इडिएसबाट प्रभावित छ । यसले मुटुरोग, मोटोपना र मृत्युको समेत जोखिम बढाउँछ । यसबीच, बेलायती अनुसन्धानकर्ताहरूले भने महिलामा अल्जाइमर रोग रोक्नमा पनि ओमेगा फ्याटी एसिडको भूमिका हुनसक्ने देखाएका छन् ।
किङ्स कलेज लन्डन र क्वीन मेरी युनिभर्सिटी लन्डनका वैज्ञानिकहरूले अल्जाइमर्स पैदा गर्ने यो रोग भएका महिलामा रगतमा अस्वस्थकर बोसो (अनस्याचुरेटेड फ्याट)को स्तर उल्लेख्य रूपमा कम भएको पत्ता लगाएका थिए ।
विशेषज्ञहरूले भन्छन्, ‘यसले किन महिलामा अल्जाइमर बढी देखिन्छ भन्ने व्याख्या गर्न सक्नेछ । यसका अतितिरक्त जीवनशैली परिवर्तनले रोगको विकासमा कस्तो ठूलो भूमिका खेल्छ भन्ने कुरामा नयाँ उपचारका सम्भावना खोल्न सक्छ ।’