काठमाडौं, २९ भदौ - नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोटको वितरण शुरु गरेको छ । राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणका लागि सुकिला नोटको सटही सुविधा दिएको हो । सेवाग्राहीले राष्ट्र बैंकले तोकेका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न पाउने छन् । सेवाग्राहीले तोकिएको स्थानबाट आगामी असोज १० गतेसम्म नोट सटही गर्न पाउने छन् ।
केन्द्रीय बैंकले यसअघि नै भदौ २ ९ गतेदेखि सुकिला नोट सटही शुरु गर्ने सूचना जारी गरेको थियो । तर देशमा उत्पन्न राजनीतिक घटनाक्रमका कारण प्रभावित हुन्छ की भन्ने आशंकाकाबीच सटही सुविधा दिन सकिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा आन्दोलनका क्रममा धेरै क्षति नपुगेका कारण तोकिएको समयमै सुकिला नोट वितरण गर्न सम्भव भएको हो ।
सेवाग्राहीले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट सुकिला नोट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले वााणिज्य बैंकहरू, विकास बैंक र वित्त कम्पनीका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको जनाएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले यसपटक ५ रुपैयाँ दरका नोट नयाँ वितरण गरिने जनाएको छ । सेवाग्राहीले राष्ट्र बैंक, आफ्नो खाता रहेको बैंक अथवा आफुलाई पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्थामा गई सुकिला नोट सटही गर्न पाउने छन् ।
राष्ट्र बैंकले गत वर्षको दशैंदेखि नयाँ नोटको सट्टामा सुकिला नोट सटही गरेर वितरण गर्न शुरु गरेको हो । यो वर्ष पनि सो क्रमलाई निरन्तरता दिएको हो । राष्ट्र बैंकका अनुसार नयाँ नोटको सट्टामा सेवाग्राहीलाई सुकिला नोट वितरण गर्दा करिब १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।