नेभिगेशन
प्रदेश

७ करोडको गाजा बरामद

सुनसरी, २९ भदौ - जेनजी आन्दोलनका कारण आगजनी र तोडफोड हुँदै गर्दा प्रतिकूल समयको फाइदा उठाउँदै यति बेला तस्करी बढेको छ । सुनसरीको इटहरीबाट भारत तस्करी गर्न राखिएका दुई वटा मालवाहक ट्रकमा सशस्त्र प्रहरीले ५ हजार केजी गाजा बरामद गरेको छ ।

इटहरी उपमहानगरपालिका ५ स्थित स्यार्सेकालि पेट्रोल पम्प अगाडि राखिएको बा ४ ख २९०१ र बा ५ ख ११६९ ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी पकलीको ५ हजार केजी अवैध गाजा आइतबार बिहान बरामद गरेको हो । 

जेनजी पकलीका युवाहरूले गाजा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा युवाहरूले ट्रक नियन्त्रणमा लिई सशस्त्र प्रहरीलाई खबर गरेका थिए । तस्करहरूले ट्रक भित्र गाजा प्याक गरेर बाहिर तरकारी राखी तस्करी गर्न लागिएको थियो । ट्रकका चालक भने फरार भएका छन् । 

सशस्त्र प्रहरीको टोलीले बरामद ट्रकबाट १५८ बोरामा प्याक गरिएको गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी पकलीका प्रवक्ता एवम् एसएसपी सुधीर जङ्ग थापाले जानकारी दिए ।

बरामद गाजा र ट्रक थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइने छ । बरामद गाजा र मालवाहक ट्रक धनकुटा जिल्लाबाट तस्करी हुँदै इटहरी आएको हो । बरामद गाजा नेपाली ७ करोड रुपैयाँ मूल्य बराबरको भएको प्रारम्भिक अनुमान गरिएको छ । धनकुटामा उत्पादित यी गाजा तस्करहरूले भारतमा प्रतिकेजी १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्