जनकपुरधाम, २९ भदौ - जेनजी आन्दोलनको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामाजिक सञ्जालमा लेखेर राजीनामा दिएपछि यतिबेला नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ ।
मुख्यमन्त्री सिंहले भदौ २४ गते समाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए । आन्दोलन सेलाएपछि भने सिंहले राजीनामा नदिएको दाबी गरेका थिए । दोहोरो चरित्र देखाएपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना हुन थाल्यो । यसपछि जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयलाई शनिबार अबेर साँझ इमेल गर्दै मुख्यमन्त्री सिंह र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरे ।
सो निर्णयपछि जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता यादवले शनिबार साँझ नै प्रदेश प्रमुखको कार्यालयका सचिवको समेत ह्वाट्सएपमा जनमत पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएको तथा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको जानकारी दिएका थिए ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले भने शनिबार साँझ जनमतका संसदीयका नेता यादवले प्रदेश सरकारको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री तथा मन्त्रीहरूलाई पनि फिर्ता बोलाइएको पत्र सचिवालयमा पठाएको बताए । प्रदेश प्रमुख सोमबार काठमाडौँबाट जनकपुरधाम आएपछि नयाँ सरकार गठनको विषयमा प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
जेनजी आन्दोलनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय लगायतकामा समेत आगजनी गरेका छन् । आगजनीमा कार्यालयका भौतिक संरचना तथा केही कागजातहरूसमेत जलेर नष्ट भएको उनको भनाइ छ ।
त्यस्तै मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पनि अहिले काठमाण्डौँमै छन् । उनी पनि सोमबार जनकपुरधाम आउँदै छन् । मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेपछि प्रदेश प्रमुखबाट अब नयाँ सरकार गठनका लागि आह्वान हुने सभामुख मण्डलले बताए ।
उनले संविधानको धारा १६८ को उपराधा २ को १ बजोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
अहिलेको विषम परिस्थितिमा सबै दल मिलेर नै सर्वदलीय बनाउने विषयमा छलफल भइरहेको एक प्रदेश सांसदले जानकारी दिए ।
मधेश प्रदेश सरकारको प्रशासनिक भवनदेखि सम्पूर्ण कार्यालयका भौतिक संरचनाहरू ध्वस्त रहेका अवस्थाले गर्दा मुलुक राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रिरहेकाले सम्भवतः सर्वदलीय सरकार गठन गर्नु आवश्यकता रहेको जनमत पार्टीका संसदीय दलका नेता यादवले बताए ।