झापा, २९ भदौ - स्वास्थ्य व्यवसायको आवरणमा लागू औषध कारोबारी फरार प्रतिवादी भानुभक्त खरेललाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । जिल्लाबाट साधा पोशाकमा खटिएका प्रहरी टोलीले शनिबार दिउँसो खरेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
प्रहरीका अनुसार खरेलमाथि विगत केही वर्षदेखि लागू औषध कारोबार र गैरकानुनी गतिविधिमा संलग्न रहेको गम्भीर आरोप लाग्दै आएको थियो। अदालतले समेत उनलाई सो मुद्दामा प्रतिवादीको सूचीमा राखी हाजिर हुन आदेश दिएको भए पनि खरेल फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार झापामा खरेलको स्वास्थ्य सामग्री सप्लायर्सले स्वास्थ्य व्यवसायको आवरणमा ‘सेटिङ’ गर्दै लागुऔषधको अवैध कारोबार गर्ने गरेको पुष्टि भएको बताए ।
राजनीतिक शक्तिको आडमा अवैध धन्दा चलाउँदै आएका बिर्तामोडका खरेलको गोदामबाट प्रहरीले गत साउन २ गते लाखौँ मात्रामा औषधीजन्य लागूऔषध बरामद गरेको थियो ।
स्थानीयको विशेष सूचनाका आधारमा प्रहरीले सनलाइट फर्मा नामक औषधिको थोक बिक्री गर्दै आएका उनको औषधी गोदाममा छापा मार्दा जिल्लामै हालसम्मको ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ।
झापामा लागूऔषधसम्बन्धी सयौँको संख्यामा मुद्दा दर्ता भए पनि मेडिकल व्यवसायमार्फत हुने अवैध कारोबारमा संलग्न ठूला माछा अझै पक्राउ गर्न सकिरहेको थिएन । पक्राउ पर्नेहरू प्रायः साना ‘कुरियर’ वा प्रयोगकर्ता मात्रै हुने गरेकाले प्रहरीमाथि प्रश्न तेर्सिने गरेको छ । तर, खरेललाई पक्राउ गरेसँगै पछिल्लो समय झापामा प्रहरीले लागूऔषधका मामिलामा कठोर बनेको देखिन्छ ।
झापामा आर्थिक वर्ष २०८०÷०८१ मा लागूऔषध सम्बन्धी ४२० जना महिला र ३३ जना पुरुष गरी जम्मा ४६२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा ४०६ जना नेपाली महिलासहित २३ जना भारतीय महिला तथा २० जना नेपाली पुरुषसहित ४ जना भारतीय रहेका छन् । यस आर्थिक वर्षमा लागूऔषध सम्बन्धी २०७ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०८१-०८२ मा लागूऔषध सम्बन्धी २८ जना महिला र ५३१ जना पुरुष गरी जम्मा ५५० जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा २७ जना नेपाली महिलासहित एक जना भारतीय महिला तथा ५०४ जना नेपाली पुरुषसहित २७ जना भारतीय पुरुष रहेका छन् । यस आर्थिक वर्षमा लागूऔषधसम्बन्धी ३६४ वटा मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्ष मात्रै होइन चालु आर्थिक वर्षको श्रावण महिनामा मात्रै पनि ३ महिला र २४ जना पुरुष गरी २७ जना नेपाली पक्राउ परेका छन् ।