नेभिगेशन
शिक्षा
फेरिँदै गुरु पूर्णिमाको स्वरूप

‘टिचर्स डे’मा रूपान्तरित हुँदै ‘गुरु पूर्णिमा’

 

काठमाडौं । विद्यार्थीहरूले आफैं पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्री...’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे ।
त्यहाँ कुनै शिक्षक वा विद्यार्थीको ‘वर्थ डे’ थिएन । न त कुनै शिक्षकको बढुवा भएको वा कुनै विद्यार्थीले पुरस्कार जितेको उत्सव नै थियो । विद्यालयमा गुरु पूर्णिमा विशेष कार्यक्रम सञ्चालित थियो ।
विद्यार्थीले प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई खादा लगाइदिए । अनि गौतमसहित सबै शिक्षकलाई केक खुवाउन थाले । शिक्षकहरूलाई उनीहरूले सम्मान गरे । सांस्कृतिक कार्यक्रम पनि भयो  ।
नियमित कक्षामा ‘बोर’ मान्ने विद्यार्थीहरू पनि आजको गुरु पूर्णिमाको सांस्कृतिक कार्यक्रममा सक्रिय र उत्साहपूर्वक सहभागी भए । उनीहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमै गुरुहरूका साथ रमाइलो वातारणमा थिए ।
सो विद्यालयका बाल क्लबमा अध्यक्ष रहेकी कक्षा ९ की राममाया जैसीले रासससँग भनिन्, ‘हामीले आफैं व्यवस्थापन गरेर कार्यक्रम ग¥यौं । नाचगान र रमाइलो भयो । गुरुहरूको सम्मान ग¥यौं । केक पनि काटियो ।’ केक काट्नु त नेपाली संस्कृति हो र ? भन्ने प्रश्नमा विद्यार्थी जैसीले समयअनुसार केकलाई पनि समेटिएको प्रतिक्रिया दिइन् । 
छ सय ५० विद्यार्थी र २६ शिक्षक रहेको रानीदेवी माविका प्रधानाध्यापक गौतमले विद्यार्थीको संयोजनमा सांस्कृतिक कार्यक्रमसहित गुरु पूर्णिमा मनाइएकामा खुसी व्यक्त गरे । 
‘पछिल्लो समय विद्यार्थीहरूमा गुरुहरूप्रति सम्मान गर्ने भावना बढेको हो कि भन्ने देखिएको छ । यो सकारात्मक पक्ष हो । संस्कारयुक्त शिक्षाको नाराका साथ विगत तीन वर्षदेखि जोड दिँदै आएकामा त्यसको सकारात्मक प्रभाव परेको छ । पहिला पहिलाका गुरु पूर्णिमामा भन्दा यस पटक विद्यार्थीको उपस्थिति राम्रो भयो । खर्च पनि उनीहरूले आफै उठाएर गरे । विद्यार्थी जागरुक भएका हुन् भन्ने अनुभूति भएको छ,’ गौतमले भने ।
वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमाले ज्ञान, अनुशासन, संस्कार र चरित्र निर्माणको महŒवलाई स्थापित गर्दछ । गुरुबाट केवल विषयगत ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता र जिम्मेवारी सिक्ने दिनका रूपमा यसको विशेष महŒव रहेको मानिन्छ ।
विद्यार्थीले आफ्ना शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसर सरसफाइ, पुस्तकालय व्यवस्थापन, वृक्षरोपण, अध्ययन–अभियान, नैतिक शिक्षा तथा सेवा–भावका गतिविधि पनि गर्न सक्छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका वाल्मिकी विद्यापीठका उपप्राध्यापक खगेन्द्र नेपाल पुस्तान्तरणसँगै गुरु पूर्णिमाको ढाँचा परिवर्तन आएको स्वीकार गर्छन् । सहरिया क्षेत्रमा गुरु पूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । आज गुरु पूर्णिमा मात्रै भएकाले यसलाई त्यहीरूपमा मनाइदिनुपर्छ भन्ने हामीले आफ्नो ठाउँबाट वकालत गरिरहेको उपप्राध्यापक नेपालले बताए । विश्व शिक्षक दिवस अक्टोबर ५ तारिखमा मनाइन्छ । परम्परागत रूपमा गुरु पूर्णिमा मनाउँदा श्लोक र कविताबाट आरम्भ गरेर वास्तविक रूपमा सम्मानभाव प्रकटसहित गुरु पूर्णिमा मनाउनुपर्ने उनको भनाइ छ ।  
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका  अध्यक्ष काशी दंगालले विभिन्न सन्दर्भमा सिकाउने गुरुहरूलाई श्रद्धा व्यक्त गर्ने, स्मरण गर्ने, राम्रा कुरालाई पछ्याउने दिनका रूपमा विद्यार्थी र शिक्षकले आजको दिनलाई मनाउनुपर्ने बताए । सुनसरीको जनता मावि व्यवस्थापन समितिका अध्यक्ष दंगालले हाल आफ्नो जिल्लामा बन्द भएकाले गुरु पूर्णिममा मनाउन नपाइएको बताए ।
मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरेले गुरु पूर्णिमाको दिनले गुरु–शिष्य सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र महŒव सम्झाउने तथा  परम्परागत रूपमा विद्यार्थीले गुरुबाट आशीर्वाद लिने, गुरुका अनुभव सुन्ने, आफूले सिकेका विषयप्रति आत्मसमीक्षा गर्ने तथा आगामी दिनमा अझ अनुशासित र जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गर्ने अभ्यासलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्ने बताए । उनले त्यही भावका साथ आफ्ना विद्यार्थीहरूले आजको उत्सव मनाएको बताए ।

‘व्यक्तिको सफलतामा गुरुको प्रेरणा र मार्गदर्शन महत्वपूर्ण’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको सफलताका पछाडि गुरुको प्रेरणा र मागदर्शनले महŒवपूर्ण भूमिका खेल्ने बताएका छन् ।
गुरुपूर्णिमाको अवसरमा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले बुधबार  आयोजना गरेको गुरुहरूको सम्मान कार्यक्रममा प्रमुख भट्टले शिक्षालाई जीवनको सर्वोत्तम मूल्यका रूपमा ग्रहण गर्नु नै गुरुहरूप्रतिको सच्चा सम्मान ठहरिने बताए । 
प्रदेश प्रमुख भट्टले गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित नगरी गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन र समर्पणमा आधारित हुनुपर्ने उल्लेख गरे । शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उनको भनाइ थियो । मञ्चले पोखरा महानगरपालिका–१६ बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा स्थापनाकालदेखि २०४० सालसम्म अध्यापन गराएका शिक्षकहरूलाई सम्मान गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्