पाकिस्तानमा केही समययता अल जजिरा, दोहा सहयोग नियोग र अन्य संस्थाहरुको सहयोगले त्यहाँको पत्रकारिताको स्तर उकास्न लगानी गरिरहेका थिए । ती लगानीको उपलब्धिका बारेमा गत महिना अल जजिराले आफ्नो अध्ययन प्रतिवेदन पेस गरेको थियो । त्यही अध्ययन प्रतिवेदनको निष्कर्ष यो आलेखको मुख्य विषय हो ।
विदेशी सहयोगमा सञ्चालित पत्रकारिता विकास कार्यक्रमहरू विकासशील मुलुकमा प्रेस स्वतन्त्रता, पत्रकारिता सीप र सञ्चार संस्थाको क्षमता अभिवृद्धिका लागि महŒवपूर्ण मानिन्छन् । तर पछिल्ला वर्षहरूमा यस्ता कार्यक्रमहरूले पश्चिमी मूल्य, ज्ञान र पत्रकारिताको अवधारणालाई विकासशील समाजमा थोपरिरहेको आलोचना पनि बढ्दै गएको छ । यही बहसको पृष्ठभूमिमा सार्वजनिक भएको एक नयाँ अध्ययनले विदेशी लगानीमा सञ्चालित पत्रकारिता विकास कार्यक्रमलाई स्थानीय सन्दर्भअनुकूल र अपेक्षाकृत ‘उपनिवेशमुक्त’ बनाउन सकिने देखाएको छ तर त्यसका आफ्नै सीमितता र चुनौतीहरू रहेको देखिएको छ ।
कतारस्थित अल जजिरा मिडिया इन्स्टिच्युटको फेलोसिप कार्यक्रमअन्तर्गत अनुसन्धानकर्ता शकीब असरारद्वारा गरिएको अध्ययनले पाकिस्तानको कराँचीस्थित ‘सेन्टर फर एक्सेलेन्स इन जर्नालिज्म’ (सीईजे) लाई केस स्टडीका रूपमा विश्लेषण गरेको हो । अमेरिकी विदेश मन्त्रालय र नर्थवेस्टर्न विश्वविद्यालयको सहकार्यमा सन् २०१६ मा स्थापना भएको यो संस्था विदेशी सहयोगमा सञ्चालित पत्रकारिता विकास परियोजनाको फरक नमुना मानिएको छ ।

अध्ययनका अनुसार विश्वका धेरै विदेशी सहयोग प्राप्त पत्रकारिता तालिम कार्यक्रमहरू ‘वेस्ट टु द रेस्ट’ अर्थात् पश्चिमबाट बाँकी विश्वतर्फ ज्ञान हस्तान्तरण गर्ने मोडलमा आधारित हुन्छन् । यस्ता कार्यक्रमहरूले स्थानीय ज्ञान, संस्कृति र सञ्चार अभ्यासलाई गौण बनाउँदै पश्चिमी पत्रकारिताको वस्तुनिष्ठता, सन्तुलन र व्यावसायिकताको अवधारणालाई सार्वभौमिक सत्यझैं प्रस्तुत गर्ने गरेको आलोचना हुँदै आएको छ ।
पाकिस्तान यस्तो देश हो जहाँ अमेरिका, युरोप, चीन र टर्कीजस्ता शक्तिशाली मुलुकहरूले पत्रकारिता विकास र सञ्चार क्षेत्रको प्रशिक्षणमा ठूलो लगानी गरेका छन् । अमेरिकी संस्थाहरूले अनुसन्धानमूलक पत्रकारिता, डिजिटल रिपोर्टिङ र समाचार कक्ष व्यवस्थापनमा जोड दिएका छन् भने युरोपेली कार्यक्रमहरूले नैतिक पत्रकारिता र प्रेस स्वतन्त्रतालाई प्राथमिकता दिएका छन् । उता चीन र टर्कीले आफ्ना भूराजनीतिक तथा कूटनीतिक हितसँग जोडिएका सञ्चार कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
यही सन्दर्भमा स्थापित सीईजेले भने परम्परागत विदेशी सहायता मोडलभन्दा फरक बाटो रोजेको अध्ययनले देखाएको छ । अनुसन्धानका लागि संस्थाका निर्देशक, प्रशिक्षक, योजनाकार र संकाय सदस्यसँग विस्तृत अन्तर्वार्ता गरिएको थियो । साथै सन् २०१५ देखि २०२४ सम्म सञ्चालन भएका २४० तालिम तथा कार्यशालाको अभिलेखसमेत विश्लेषण गरिएको थियो ।
अध्ययनले सीईजे सफल बन्नुका केही मुख्य कारण औंल्याएको छ । पहिलो, यसलाई कराँचीस्थित प्रतिष्ठित ‘इन्स्टिच्युट अफ बिजनेस एड्मिनिस्ट्रेसन’ (आईबीए) भित्र स्थापना गरियो । यसले संस्थालाई स्थानीय स्वामित्व, शैक्षिक विश्वसनीयता र दीर्घकालीन आधार प्रदान ग¥यो । अनुसन्धानकर्ताहरूका अनुसार यसले सीईजेलाई ‘अर्को विदेशी परियोजना’ भन्दा पनि पाकिस्तानकै शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सहयोग पु¥यायो ।

दोस्रो, सीईजेले पत्रकारिता शिक्षालाई अत्यधिक सैद्धान्तिक बनाउने परम्परागत अभ्यासबाट अलग हुँदै व्यावहारिक सीप विकासमा जोड दियो । लेखन, सम्पादन, मोबाइल पत्रकारिता, दृश्य कथावाचन, डेटा पत्रकारिता तथा मल्टिमिडिया उत्पादनजस्ता विषयलाई केन्द्रमा राखेर तालिम र स्नातकोत्तर कार्यक्रम सञ्चालन गरियो । अध्ययनले देखाएअनुसार सीईजेका अधिकांश कार्यक्रमहरू प्रत्यक्ष रूपमा समाचारकक्षमा प्रयोग गर्न सकिने सीपमा केन्द्रित थिए ।
तेस्रो, संस्थाले विदेशी र स्थानीय प्रशिक्षकलाई समान हैसियतमा सह–शिक्षण प्रणालीमा राख्यो । प्रत्येक अन्तर्राष्ट्रिय प्रशिक्षकसँग अनुभवी पाकिस्तानी पत्रकार वा सञ्चारकर्मीलाई जोडिन्थ्यो । यसले भाषागत र सांस्कृतिक दूरी घटाउनुका साथै विदेशी ज्ञानलाई स्थानीय वास्तविकतासँग जोड्न मद्दत ग¥यो ।
चौथो, पाठ्यक्रमलाई पूर्ण रूपमा पाकिस्तानी सन्दर्भअनुकूल बनाइएको थियो । सञ्चार कानुन पढाउँदा पाकिस्तानी कानुन, नैतिकताको उदाहरण दिँदा स्थानीय घटनाक्रम र समाचार सामग्री प्रयोग गरिन्थ्यो । यसले विदेशी पत्रकारिता शिक्षालाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्ने प्रयासलाई बल पु¥याएको अध्ययनले जनाएको छ ।
अध्ययनले सीईजे मोडलका गम्भीर चुनौतीहरू पनि औंल्याएको छ । सबैभन्दा ठूलो चुनौती राजनीतिक वातावरण रहेको उल्लेख गरिएको छ । सन् २०१८ पछि पाकिस्तानमा विदेशी सहायता प्राप्त संस्थाहरूमाथि निगरानी र नियन्त्रण बढाइयो । विदेशी स्रोतबाट रकम लिन सरकारी स्वीकृति अनिवार्य बनाइयो, जसका कारण सीईजेले नयाँ अन्तर्राष्ट्रिय अनुदान प्राप्त गर्न कठिनाइ भोग्नुप¥यो ।
पत्रकारिता शिक्षाको मान्यतासम्बन्धी समस्या अर्को प्रमुख अवरोध बन्यो । सीईजेले व्यावहारिक अनुभव भएका पत्रकारहरूलाई शिक्षकका रूपमा प्रयोग गरे पनि पाकिस्तानको उच्च शिक्षा आयोगले पीएचडीधारी शिक्षक नभएको कारण कार्यक्रमको मान्यतामाथि प्रश्न उठायो । फलस्वरूप स्नातकोत्तर कार्यक्रम प्रभावित भयो र विद्यार्थी भर्ना घट्न थाल्यो ।
संस्थाको दीर्घकालीन स्थायित्वमा नेतृत्व परिवर्तनले पनि असर पु¥यायो । आईबीएको नेतृत्व फेरिएपछि सीईजेप्रतिको संस्थागत समर्थन कमजोर बन्दै गयो । नयाँ व्यवस्थापनले केन्द्रको विशेष उद्देश्य र पत्रकारिता प्रशिक्षणको महत्व पर्याप्त रूपमा नबुझेको गुनासो अध्ययनमा उल्लेख गरिएको छ ।
आर्थिक स्थायित्व पनि अर्को चुनौती बन्यो । अमेरिकी अनुदान समाप्त भएपछि सीईजेले निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारसँग सहकार्य गरेर आम्दानी जुटाउने प्रयास ग¥यो । केही वर्षसम्म यसले सफलता पनि पायो । तर नेतृत्व परिवर्तन र राजनीतिक जटिलतासँगै आर्थिक आधार कमजोर हुन थाल्यो ।
विदेशी सहयोगमा सञ्चालित पत्रकारिता विकास कार्यक्रमलाई स्थानीय आवश्यकता, संस्कृति र संस्थागत संरचनासँग जोडेर अपेक्षाकृत उपनिवेशमुक्त बनाउन सकिने पनि अध्ययनले देखाएको छ । सीईजेले त्यसको व्यवहारिक उदाहरण प्रस्तुत गरेको छ । तर पाठ्यक्रम र शिक्षण विधि मात्र परिवर्तन गरेर पर्याप्त हुँदैन । राजनीतिक हस्तक्षेप, प्रशासनिक संरचना, वित्तीय निर्भरता र उच्च शिक्षा प्रणालीजस्ता व्यापक संरचनागत अवरोधहरू समाधान नगरेसम्म यस्ता कार्यक्रमहरूको दीर्घकालीन सफलता सुनिश्चित हुन सक्दैन ।
अनुसन्धानले अन्ततः पत्रकारिता प्रशिक्षणको उपनिवेशमुक्तिकरण केवल शैक्षिक वा वैचारिक विषय नभई राजनीतिक, आर्थिक र संस्थागत सुधारसँग जोडिएको जटिल प्रक्रिया भएको निष्कर्ष निकालेको छ ।
यो अनुभव नेपाललाई पनि काम लाग्ला ?