काठमाडौं, ३१ भदौ - जेनजीका नामबाट भएको आन्दोलनमा देशैभरि गरी ज्यान गुमाउनेको संख्या मंगलबारसम्म ७८ जना पुगेको छ । दिवंगतलाई सरकारले सहिद घोषणा गरिसकेको छ । राहत र क्षतिपूर्ति घोषणासँगै छानबिन आयोग बनाउने पनि घोषणा भइसकेको छ । आन्दोलन उग्रह भएपछि भीडले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियारसहित प्रमुख सरकारी निकायका संरचना सबै ध्वस्त पारेको छ ।
यतिबेला त्यस्तो ध्वंसात्मक आन्दोलनका विभिन्न पक्षमाथि बहस, समीक्षा र अनुसन्धान सुरु भएको छ । सरकार फेरिएको छ तर, कर्मचारी संयन्त्र त्यही पुरानै छ । नेता फेरिएका छन्, तर, कानुन र नीतिको पाठ पढाउने निकायका जिम्मेवार पदमा पुरानैहरू पदासीन छन् ।
सुशीला कार्कीको सरकारले लोकल्याणकारी निर्णय र घोषणा धमाधम गर्दैछ तर, सरकार नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुख्य सचिव र मन्त्रालयका सचिवहरू जहाँको तही छन् । प्रदर्शनको तयारीबारे सूचना दिने गुप्तचर निकाय बेखबर हुनु, सरकारको लापर्वाहीका कारण कहिल्यै बिर्सन नसकिने घटना भएको सुरक्षा मामिलाका जानकारहरूको विश्लेषण छ ।
नेपाल प्रहरीका अनुसार ड्युटीमा रहेका ३ जना प्रहरीले प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका छन् । त्यसैगरी प्रहरीको गोली लागेर ४४ जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनकारीको केहीको घटनास्थलमा र कतिपयको गोली लागेर घाइते भएका र अस्पताल पुर्याइएकाहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विभिन्न कारागारबाट भाग्ने क्रममा १५ जना कैदी बन्दीको मृत्यु भएको छ । यसैक्रममा लुटपाट, आगजनीमा परी १६ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये भाटभटेनीमा जलेर मर्नेहरू पनि संलग्न छन् । कतिपय तोडफोडमा संलग्न हुने क्रममा ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
मानव अधिकारको विश्वव्यापी सिद्धान्त अनुसार सुरक्षाकर्मी कसैलाई पनि ताकेर सिधै गोली हान्ने अधिकार छैन । नेपालको संविधानले बाँच्न पाउने, शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने, सभा, जुलुस गर्न पाउने अधिकार नागरिकलाई दिएको छ । नेपालको कानूनले पनि सुरक्षाकर्मीलाई सिधै गोली हान्ने अधिकार दिएको छैन । प्रहरीमाथि अप्ठेरो अवस्था आएमा भीड नियन्त्रणको अन्तिम र बाधात्मक अवस्था हेरेर मात्रै गोली हान्न पाइन्छ, त्यो पनि घुँडामुनि मात्रै ।
भदौ २३ को जेनजी प्रदर्शनमा पहिलो दिन सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु वा घाइते भएका अधिकांशको टाउको वा छातीमै छेडिएको छ । स्कुल–कलेजको पोसाकमा आएका विद्यार्थीमाथि भएको बर्बरताले मानवअधिकारवादी, कानूनका जानकार, सुरक्षा क्षेत्रमा चासो राख्ने मात्रै नभएर सर्वसाधारणलाई निकै पिरोलेको छ ।
एक–डेढ घण्टाभित्रै १९ जना विद्यार्थीको ज्यान गएको यो घटना सामान्य मानिँदैन । सरकारको सूचना संयन्त्रमाथि धावा बोल्दै आन्दोलनमा भएको घुसपैठ र सही समयमा सतर्कता अपनाउन नसक्दाको परिणाम दुई ठूला दलको सरकारै ढल्यो ।
अस्पतालमा घाइते र मृत्यु भएका प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको छ । घटनामा गोली कहाँबाट कसरी चल्यो भन्ने अनेक अड्कल काटिएका छन् । यो अनुसन्धान पछि नै थाहा हुनेछ । प्रदर्शनलाई कम आकलन गर्दा र केटाकेटीको आन्दोलन ठान्ने सरकारको लापर्वाही, घमण्डका कारण यो घटना भएको नेपाली सेनाका पूर्वसहायक रथी केशरबहादुर भण्डारीको विश्लेषण छ ।
सरकारको दम्भको पराकाष्ठाको प्रतिफल ७८ जनाको ज्यान गइसकेको छ । जेनजीको आन्दोलन सजिलोसँग अगाडि बढेकै बेला विभिन्न स्वार्थ समूहले घुसपैठ गर्दा सुरक्षा दमन भएको उनी बताउँछन् । सुरक्षा दमनको पहिलो दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन्छन् ।
साथसाथै गृहमन्त्री मुख्य दोषी भएको उनको निर्क्यौल छ । प्रदर्शनलाई हलुका रुपमा लिएर चैत १५ को दबाइएको थियो । ‘केटाकेटीको प्रदर्शन भनेर अहंमतापूर्वक दम्भ गृह मन्त्रालयमा देखिएको छ । एक नम्बर दोषी गृहमन्त्री देखिनुभएको छ’, गृहमन्त्री रमेश लेखक प्रदर्शन शुरु भइसकेपछि संसदीय समितिको बैठकमा थिए । जहाँ प्रहरी ऐनका विषयमा छलफल हुँदै थियो । बैठकमा गृहमन्त्री मात्रै थिएनन, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी प्रमुख पनि थिए ।
सुरक्षा कमाण्ड रहेको गृह मन्त्रालयबाट कोही पनि कमाण्ड सम्हाल्ने मान्छे नै भएन । गृहले व्यक्ति तोकेर प्रदर्शनको सुरक्षा अपडेट लिनुपर्थ्यो । ‘गृहमन्त्री, सचिवले केही हुँदैन । भए पनि प्रहरीले ठीक पारिहाल्छ भन्ने अति हल्का गैरजिम्मेवारी सोचका कारण घटना भएको हो,’ सुरक्षा मामिलाका जानकार भण्डारी भन्छन् ।
यो घटनामा गोली चलाउने आदेश दिने अन्तिम व्यक्ति प्रमुख जिल्ला अधिकारी हुन् । गोली चलेपछि उनको तस्बिर राखेरै सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि उनले जिल्ला प्रशासन कार्यालयबाट आफ्नो तस्बिर हटाएका थिए । प्रदर्शन उग्र हुँदै गएपछि मौकामा निर्देशन दिने कमाण्डर कोही पनि नहुँदा यो भयावह अवस्था आएको उनको विश्लेषण छ । गृहमन्त्री, गृहसचिवसहितले एकदमै लापर्वाही गरेको उनको टिप्पणी छ ।
नेपाल प्रहरीका पूर्व एआइजी विज्ञान शर्मा सुरक्षा संयन्त्रको सूचनामा बेखबर हुँदा यो घटना भएको आकलन गर्छन् । ‘हाम्रो सूरक्षा संयन्त्रको सूचना प्रणाली ध्वस्तै रहेछ,’ उनी भन्छन् । युवाले भ्रष्टाचारविरुद्धको नारा लिएर अगाडि बढ्दा स्कुले बालबालिकालाई गोली हान्नु सिद्धान्तगत पनि निकै नराम्रो भएको उनले बताए ।
‘कुनै गन बोकेर गएका थिएनन् । प्रहरीले विवेक गुमायो । आदेश दिनेले पनि विवेक गुमाए । मान्छे हताहत भए । सयौं घाइते भए ।’ प्रहरीले सम्हाल्नै नसकेमा घुँडामुनि मात्रै हान्नुपर्ने हो । भीडमा जथाभावी हान्दा छातीमा टाउकोमा लागेको देखिएको बताए । ‘कहाँबाट कति दूरीमा हानिएको हो, कसरी हानियो यसका विषयमा अनुसन्धानपछि थाहा हुनेछ,’ उनले भने ।

सेक्युरिटी भ्याकुमसहित राज्यविहीनताको अवस्था
- विज्ञान शर्मा, पूर्वएआइजी, नेपाल प्रहरी
जुन दिन आन्दोलन भयो । नेपालको सुरक्षा सूचना, गुप्तचर खतमै भयो । आर्मीको सूचना संयन्त्र पनि राम्रो रहेनछ । नेपालको सूरक्षा संयन्त्रको सूचना प्रणाली ध्वस्तै रहेछ । सूचना राम्रो पाएको भए अघिल्लो दिन गोदावरीमा प्रधानमन्त्रीले जेनजीलाई गाली गर्नुहुँदैनथ्यो । उहाँले अर्कै डिल गर्नुहुन्थ्यो । केटाकेटीहरू माइतीघरमा भेला हुन्छन्, थाक्छन् फर्किन्छन् भन्ने कमजोर मूल्यांकन भयो । सबैभन्दा ठूलो कुरा यसले यो रुप लिन्छ भन्ने आकलन राज्य संयन्त्रले गर्नै सकेन ।
प्रदर्शनकारीको तयारी यति माथिसम्म थियो । अहिलेसम्म संसद् भवन बाहिर निषेधित क्षेत्र तोड्न सकेका थिएनन् । तोड्न थालेपछि बल प्रयोग हुन्थ्यो भाग्थे । भदौ २३ मा निषेधित क्षेत्र तोड्दा पनि प्रहरी संयमित नै थियो । पानीको फोहोरा, टियर ग्यास हान्यो । त्यतिञ्जेलसम्म सुरक्षा संयन्त्र ठीकै थियो ।
त्यसपछि सुरक्षा संयन्त्रबीच एक आपसमा तालमेल मिलेन । संसद भवनको प्रहरीको स्पेशल टास्क फोर्स बस्छ । जसको काम सशस्त्र युद्धका बेला आर्मी परिचालन नहुँदासम्म माओवादीसँग लडेको थियो । उसलाई नियन्त्रण होइन, पारामिलिटरी आर्मीजस्तो तालिम हुन्छ । यदि त्यो अवस्थामा बल प्रयोगको आदेश नभएको भए क्षति हुँदैनथ्यो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी एकैपटक सँगै खटाउने कारणले पनि तालमेल मिलेको छैन । सशस्त्र युद्धपछि आन्तरिक विद्रोहलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बनाइएको थियो । यो बिर्सिएर सिभिलियन प्रहरीको विकल्पको रुपमा विकास गर्न थाल्यो । प्रहरी र सशस्त्र एकैपटक एउटै कमाण्डमा मिल्दैन । किनकि दुईवटा संस्थाका फरक प्रमुख छन् । एकले अर्कालाई टेरेका पनि हुँदैनन् । यो पनि एउटा कारण हो ।
अमेरिकामा जो वाइडेनले जितेपछि ट्रम्पका समर्थक संसद भवन छिरेका थिए । तर, प्रहरीले विवेक प्रयोग गरे । मान्छे त मारेनन् । युवा भ्रष्टाचारविरुद्धको नारा लिएर अगाडि आएका थिए । स्कुले बालबालिकालाई गोली हान्नु सिद्धान्तगत पनि निकै नराम्रो हो । कुनै गन बोकेर गएका थिएनन् ।
प्रहरीले विवेक गुमायो । आदेश दिनेले पनि विवेक गुमाए । मान्छे हताहत भए । सयौं घाइते भए । अस्पतालमासमेत गएर लाठीचार्ज गरेको भन्ने छ । प्रहरीप्रति सर्वसाधारणको ठूलो आक्रोश भयो । एक रात त जेनतेन थामे । भोलिपल्ट कर्फ्यु तोडे । प्रहरी भाग्नुभन्दा स्टेशनमै बसेर लडेको भए हुन्थ्यो । भागेको प्रहरी चौकीमा पछि गएर हतियार, पोसाक लुटिएका छन् । सुरक्षा संयन्त्र भ्याकुम भएको थियो । व्यक्तिका सम्पत्ति, सार्वजनिक सम्पत्तिमा विध्वंस मच्चाइयो ।
राज्यविहीनताको अवस्था आयो । राति १० बजेदेखि मात्रै सेना परिचालन भयो । प्रत्येक नेपालीलाई कतिखेर के हुन्छ आगलागी हुन्छ कि के होला भन्ने घरभित्रै डर, त्रास थियो । व्यक्तिगत रिसइवी साँध्ने पनि थिए । दोस्रो दिन आन्दोलन गर्ने कलिला छोराछोरी आन्दोलनमा थिएनन् । यो नियोजित योजना थियो । माओवादी सशस्त्र युद्धमा नभएको क्षति अहिले भयो । सेक्युरिटी भ्याकुमसहित राज्यविहीनताको अवस्था ल्याइयो ।
प्रहरीलाई कुटीकुटी मारियो, ढुंगा हानेर खोलामा बगाउने प्रयास गरियो । हिजो बानेश्वरमा गोली हान्ने प्रहरी देशभर खटिएका सबै प्रहरीलाई देख्यो । समाजका लागि खट्ने प्रहरीको मनोबल घटेको छ । ट्राफिकले लगाउने लुगा छैनन् । लुटन पाए जे पनि लुट्ने रहेछन् । प्रहरी यस्तो संयन्त्र हो, सबैलाई चाहिने, कसैलाई माया नलाग्ने । कतिपय ठाउँमा स्थानीयले जोगाएर चौकी जोगिए ।
शान्ति सुरक्षाका हिसाबले अझै पनि बढी चुनौति छ । समयमा चुनाव हुन निकै गाह्रो देख्छु। जनताले प्रहरीप्रति सकारात्मक भावना राख्नुपर्छ । प्रदर्शनको सकारात्मक कुरा कसैले हल्लाउन नसकेको सरकार ढालिदियो । जेनजीमा घुसपैठ भएको भन्दै प्रधानमन्त्रीले उत्तेजित भाषण दिएका कारण पनि प्रदर्शन झन उत्तेजित भयो ।
सुरक्षाकर्मीले आत्मसमीक्षा गर्ने समय आयो । निजामती कर्मचारीको रोलमा पनि समीक्षा गर्नुपर्ने बेला आयो । जनतामा निराशा ल्याउन कर्मचारीको ठूलो भूमिका छ । घुस नखाई, छिटोछरितो काम गरिदिएको भए यो अवस्था आउँदैनथ्यो । न्यायलयका न्यायाधीश, कर्मचारीले पनि समीक्षा गर्ने समय आएको छ । विचौलिया, कानून व्यवसायीले पनि सोच्नुपर्ने भएको छ ।
निर्देशन दिने कमाण्डर नहुँदा भयावह अवस्था
- केशरबहादुर भण्डारी, पूर्वसहायक रथी, नेपाली सेना
सुरक्षा दमनमा पहिलो गल्ती प्रधानमन्त्रीको देखिन्छ । साथसाथै गृहमन्त्री मुख्य दोषी देखिन्छन् । चैत १५ को आन्दोलन दबाइएको र भदौ २३ को प्रदर्शनलाई हलुका रुपमा लिएका थिए । केटाकेटीको प्रदर्शन भनेर अहंमतापूर्वक दम्भ गृह मन्त्रालयमा देखिएको छ । एक नम्बर दोषी गृहमन्त्री देखिनुभएको छ । गृहमन्त्री प्रहरी ऐनका विषयमा छलफल गर्न संसद समितिको बैठकमा हुनुहुन्थ्यो । बैठकमा गृहमन्त्री मात्रै नभएर गृहसचिव, प्रहरी प्रमुख पनि थिए ।
सुरक्षा कमाण्ड रहेको गृह मन्त्रालयमा सम्हाल्ने मान्छे भएनन् । गृहले व्यक्ति तोकेर प्रदर्शनको सुरक्षा अपडेट लिनुपथ्र्यो । गृहमन्त्री, सचिवले केही हुँदैन भए पनि प्रहरीले ठीक पारिहाल्छ भन्ने अति हल्का गैरजिम्मेवारी सोचका कारण घटना भएको हो । यो घटनामा गोली चलाउने आदेश दिने अन्तिम व्यक्ति प्रमुख जिल्ला अधिकारी हुन् । प्रक्रियागत सिडिओको सिग्नेचर नभइ सुरक्षा संयन्त्रले गोली चलाउन मिल्दैन । प्रदर्शन उग्र हुँदै गएपछि मौकामा निर्देशन दिने कमाण्डर कोही पनि नहुँदा यो भयावह अवस्था आएको हो ।
गृहमन्त्री, गृहसचिवसहितको एकदमै लापर्वाही देखिन्छ । काठमाडौं कमाण्ड सम्हाल्ने आइजीपी रिटायर्ड भएका थिए । निमित्तको जिम्मेवारीमा थियो । छिनछिनको घटनामा कदम चाल्नुपर्ने थियो । निर्देशन दिने र नियन्त्रण गर्ने मान्छे नहुँदा गोली चल्यो । गोली हुलमा हानियो । त्यो क्षम्य छैन ।
गोली हान्ने भन्दा हान्न लगाउने मान्छेको दोष छ । हुलमा हान्दा ताकीताकी हान्दैनन् । गोली चलाउँदा पनि तरिका हुन्छ तर ढंग पुगेको छैन । भुल्नै नसक्ने घटनाको दोष गृहमन्त्रालयले लिनुपर्छ । सचिव, सिडिओ, आइजीपी सबैले लार्पवाही सेक्युरिटी ल्याप्स देखिन्छ । अन्धाधुन्ध गोली चलाउँदा कसैलाई छाती र टाउकोमा लागेको हो ।