नेभिगेशन
राजनीति

ओलीले चुनौती दिँदै भने- ‘अध्यक्ष हटाउने कुरा ठट्टा हो ?’

‘आधारभूत वर्गबाट टुट्यो कम्युनिस्ट आन्दोलन’

विराटनगर । एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन खोज्नेहरूलाई गृहप्रदेशबाटै चुनौती दिएका छन् । शनिबार इलाम र आइतबार झापामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा ओलीले नेतृत्व परिवर्तनको मागलाई ‘अराजकता’, ‘बेतुकको हल्ला’ र पार्टीको विधि–पद्धतिविपरीतको गतिविधिको संज्ञा दिँदै आफूलाई हटाउन सक्ने भए हटाएर देखाउन चुनौती दिए ।
यता काठमाडौंमा आयोजित छुट्टै कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले भने पार्टी र समग्र वामपन्थी आन्दोलनको अवस्थामाथि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए । उनले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टुटेको तथा शासकीय भूमिकामा असफल भएको निष्कर्ष सुनाए । पोखरेलको यस्तो अभिव्यक्तिले अध्यक्ष ओलीको आक्रामक प्रतिवादभन्दा फरक रूपमा पार्टीभित्रको कमजोरी स्वीकार गर्दै पुनर्गठनको आवश्यकतामाथि बहस अघि बढाएको देखिएको छ ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले नेतृत्व परिवर्तनको बहस गर्नेहरूमाथि कडा टिप्पणी गरे । पार्टीको विधि र पद्धति कुल्चिएर अध्यक्ष हटाउने चर्चा गर्नु अनुशासनहीनता भएको उनको भनाइ थियो । ‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन्,’ उनले  भने ।

चियागफ र क्यान्टिनका बैठकबाट पार्टीको नेतृत्व परिवर्तन नहुने भन्दै उनले महाधिवेशनको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । सामाजिक सञ्जालमा लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयासलाई पनि उनले अस्वीकार गरे ।
झापाको बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ उद्घाटन कार्यक्रममा पनि ओलीले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसलाई निरर्थक बताए । ‘पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो । यो सम्भव र आवश्यक छैन,’ उनले भने । एमाले अहिले पुनर्गठन नभई ‘पुनर्जागरण’को अवस्थामा रहेको उनको दाबी थियो ।
ओलीले पार्टी पुनर्गठन भन्नाले नेतृत्व मात्र परिवर्तन गर्नु नभई नीति, गन्तव्य र कार्यक्रममै परिवर्तन गर्नु बुझिने बताए । विगतमा पार्टी तथा कम्युनिस्ट आन्दोलन संकटमा पर्दा पुनर्गठन भएको स्मरण गर्दै अहिले त्यस्तो परिस्थिति नरहेको उनको तर्क थियो ।
आफूविरुद्ध हस्ताक्षर अभियान चलाउनेहरूलाई समेत ओलीले चुनौती दिए । ‘अध्यक्षलाई हटाउने ! हटाइदेऊ न त, ढिलो भयो भने छिटो हटाऊ । तर कोही हस्ताक्षर गर्दै हिँडेका छन्, यसको पछाडि केही दम छैन,’ उनले भने ।
पार्टीबाट अवसर लिएका केही नेता–कार्यकर्ता नै अहिले असन्तुष्ट भएको आरोप लगाउँदै ओलीले उनीहरूलाई ‘किर्ना’को संज्ञा दिए । ‘किर्नाले पनि टन्न खाएर अघाएपछि भैंसीको जिउबाट पुक्लुक्क भुइँमा झर्छ । एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ उनले भने ।
आफूविरुद्धको गतिविधिमा नलाग्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । फागुन २१ को निर्वाचनमा पछारिएको भए पनि एमाले फेरि उठ्नुपर्ने भन्दै उनले हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने लक्ष्य राख्न निर्देशन दिए ।

‘कुस्ती खेल्दा एकपटक पछारिँदाखेरि अखडा छोडेर भाग्छ भने त्यसले खेल्छ कुस्ती ? एकपटक पछारिएपछि जुरुक्क उठेर फेरि च्याप्प समातेर धोबीपाट लाएर ड्याम्प पार्नुपर्छ,’ ओलीले भने ।
पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्ने धारणा पनि उनले राखे । आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउँदै उनले नेता–कार्यकर्ताले देश र जनताका लागि आफूले के दिन सकिन्छ भन्ने सोच्नुपर्ने बताए । ‘प्रधानमन्त्री बनौँला, पार्टी अध्यक्ष बनौँला भनेर म हिँडेको थिइनँ र छैन,’ उनले भने ।

‘आधारभूत वर्गबाट टुट्यो कम्युनिस्ट आन्दोलन’
एमाले महासचिव शंकर पोखरेलले भने ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा पार्टीको अवस्थामाथि गम्भीर आत्मसमीक्षा प्रस्तुत गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टुटेको निष्कर्ष सुनाए ।
गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूको निकट जनमतबाहेक अन्य समुदायको मत आकर्षित गर्न नसकेको उनले स्वीकार गरे । ‘पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला जस्तो भयो । पार्टी सदस्य र उसको निकटको सदस्यमा आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौं,’ उनले भने, ‘त्यस अर्थमा अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौं ।’
कम्युनिस्ट आन्दोलनले संघर्ष र क्रान्तिको क्षेत्रमा सफलता हासिल गरे पनि शासन सञ्चालनका क्रममा अपेक्षित परिणाम दिन नसकेको बताए । एमालेबाट ६ जना प्रधानमन्त्री र वामपन्थी दलबाट २१ जना मुख्यमन्त्री बने पनि आन्दोलन रक्षात्मक अवस्थामा पुग्नु गम्भीर विषय भएको उनको भनाइ थियो । ‘नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा मेरो बुझाइ र निष्कर्ष के छ भने – हामी संघर्ष र क्रान्तिका मामिलामा एक प्रकारले च्याम्पियन नै रह्यौँ । शासकीय भूमिकाका दृष्टिकोणले भन्नुहुन्छ भने हामी असफल साबित भयौँ,’ पोखरेलले भने ।
उनका अनुसार वामपन्थी शक्तिले पूर्वाधार विकासलाई प्राथमिकता दिए पनि सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्न सकेनन् । त्यसकै परिणामस्वरूप आधारभूत वर्गसँगको सम्बन्ध कमजोर बनेको उनको विश्लेषण थियो ।
विशेषगरी कृषिमा निर्भर परिवारका शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहनु र उनीहरूका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा शैक्षिक बेरोजगारी बढेको पोखरेलले बताए । ‘आफू शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह अन्ततः वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो,’ उनले भने ।
भदौ २३ र २४ गतेको विद्रोहलाई केवल भूराजनीतिक षड्यन्त्रका रूपमा बुझ्दा समस्या पहिचान गर्न नसकिएको उनको भनाइ थियो । ‘हामी भूराजनीतिक द्वन्द्व अन्तर्गतको षड्यन्त्रलाई भण्डाफोर गर्न लाग्यौँ । तर फागुन २१ मा आउँदाखेरि जनताले नै हामीलाई अस्वीकार ग¥यो,’ पोखरेलले भने ।
वामपन्थी आन्दोलनमा उत्पन्न निराशालाई उत्साह र गतिशीलतामा बदल्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको उनले बताए । जनतासँगको सम्बन्ध बलियो बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दामा नयाँ ढंगले काम गर्नुपर्ने उनको जोड थियो ।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि आइतबार छुट्टै कार्यक्रममा एमालेको वैचारिक यात्रालाई समयअनुकूल बनाउनुपर्ने धारणा राखिन् । मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमको कार्यक्रममा उनले नयाँ पुस्ताको आवश्यकता र बदलिँदो परिस्थितिअनुसार विचारको रचनात्मक रूपान्तरण आवश्यक रहेको बताइन् । ‘आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहो¥याउनेभन्दा त्यसको मूल मर्मलाई आत्मसात् गर्दै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्