नेभिगेशन
प्रदेश

रसुवा बाढीः ‘सम्भावित हिमपहिरो’, अझै छ जोखिम

काठमाडौँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टान पहिरोका कारण बाढी आएको हुन सक्ने बताएका छन् । प्रभावित क्षेत्रबाट प्राप्त भिडियो फुटेज र प्रारम्भिक सूचनाका आधारमा ठूलो मात्रामा हिउँ तथा चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्ने देखिएको उनीहरुको प्रारम्भिक निष्कर्ष छ ।  अनुसन्धानकर्ताहरूका अनुसार यसबाट पानीको आकस्मिक बहाव सिर्जना भई पानी, गेग्रान र ठूला ढुंगा तल्लोतर्फ बगेको हुन सक्छ ।
जलप्रवाहसम्बन्धी प्रारम्भिक अवलोकनले बाढीको लहर असाधारण रूपमा तीव्र र ठूलो रहेको देखाएको छ । त्रिशूली नदीको गल्छीस्थित जलमापन केन्द्रमा ३० मिनेटमै पानीको सतह करिब ९ मिटर बढेको तथा मलेखुमा पनि सोही अवधिमा करिब ७ मिटर बढेको बताइएको छ । त्रिशूली नदीका विभिन्न स्थानमा रहेका पानी मापन केन्द्रमध्ये केही बाढीमा क्षतिग्रस्त भएका वा बगाएका छन् । गल्छीको जलमापन केन्द्र भने सञ्चालनमा रहेको बताइएको छ ।
विशेषज्ञहरूले नदीको साँघुरो क्षेत्रमा गेग्रान थुप्रिएर केही समयका लागि नदी अवरुद्ध भएको र त्यसबाट पहिरोको बाँध (ल्याण्डस्लाइड ड्याम) बनेको हुन सक्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा थप ठूलो जोखिम निम्तिन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्यांकन गरिरहेका छन् ।
‘ल्हेन्दे खोलामा १४ महिनाभित्रै दुईपटक बाढी आएको छ । यसपटक सम्भवतः हिमपहिरोका कारण नदी अवरुद्ध भई अचानक पानीको ठूलो बहाव तलतर्फ आएको हुन सक्छ । थप सूचना प्राप्त हुँदै जाँदा यसको पुष्टि गर्नुपर्नेछ । यी एकपछि अर्को जोडिँदै जाने विपद् हुन् । हिममण्डलमा भएको घटना केही घण्टामै बस्तीमा बाढीका रूपमा परिणत हुन्छ,’ विपद् जोखिम न्यूनीकरण विशेषज्ञ, शाश्वत सान्यालले भने । 
प्रारम्भिक भूकम्पीय तथ्यांक विश्लेषणमा पनि बाढी आएको समयमा असामान्य संकेतहरू देखिएका छन् । प्रभावित क्षेत्रबाट करिब १२ किलोमिटर टाढा जिलङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो । झाङ्मुस्थित अर्को केन्द्रमा पनि असामान्य गतिविधि रेकर्ड भएको छ । वैज्ञानिकहरूले यी संकेतहरू शंकास्पद हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । यद्यपि हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच प्रत्यक्ष कारणात्मक सम्बन्ध पुष्टि भएको छैन ।
‘पोहोरको रसुवा बाढीबाट क्षतिग्रस्त यही क्षेत्र फेरि जोखिममा परेको छ । ल्हेन्दे खोलामा आएको हिमपहिरो बाढीको सम्भावित कारण हो, तर यसको पुष्टि भइसकेको छैन,’ इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख छियाङगोङ झाङले भनेका छन् । नेपाल–चीन सीमाको माथिल्लो क्षेत्रमा अझै अवरोध रहेको अवस्थामा अधिकारीहरूले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलङ बन्दरगाहका लागि उद्धार तथा स्थानान्तरणको आदेश जारी गरिएको छ ।
इसिमोडका वरिष्ठ हिमनदी तथा हिमक्षेत्र विशेषज्ञ मोहम्मद फारुक आजमले हिमाली क्षेत्रमा हिममण्डलसँग सम्बन्धित विपद्को बढ्दो आवृत्ति पहिलेभन्दा बढी स्पष्ट देखिन थालेको बताए । विज्ञहरूले बाढीको कारण पत्ता लगाउन तथा तल्लो तटीय क्षेत्रमा जारी जोखिमको मूल्यांकन गर्न जलप्रवाह, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्यांकको थप विश्लेषण गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी, हिउँ, स्थायी तुषारो (पर्माफ्रोस्ट) तथा पहाडी भिरमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निष्कर्षमा पुग्न अहिले नै पर्याप्त आधार नभएको वैज्ञानिकहरूले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै