काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटिरहेका बेला रेमिटेन्स आप्रवाह भने उच्च दरले बढेपछि मुलुकको विदेशी विनिमय सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा रेमिटेन्समार्फत आएको विदेशी मुद्रा र अन्य बाह्य आम्दानीका कारण एक वर्षमै मुलुकको विदेशी विनिमय सञ्चिति करिब १२ खर्ब २० अर्ब रुपैयाँले थपिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा सञ्चिति १२ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँले बढेको हो ।
अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति गत असारमा २९.८ प्रतिशतले बढेर २५ अर्ब ३१ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
सञ्चितिमा आएको यस्तो वृद्धिको मुख्य आधार रेमिटेन्स बनेको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालले २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिटेन्स प्राप्त गरेको छ । अघिल्लो वर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स आएको थियो। यस आधारमा एक वर्षमा रेमिटेन्स आप्रवाह ३७.१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
गत वर्ष औसतमा मासिक करिब १ खर्ब ९७ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको देखिन्छ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीले औपचारिक माध्यमबाट पठाउने रकम निरन्तर बढ्दै गएपछि नेपालको बाह्य क्षेत्रको आधार बलियो बन्दै गएको छ ।
जाने घटे, रेमिटेन्स बढ्यो
रेमिटेन्समा उल्लेख्य वृद्धि भए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७८३ थियो। यसरी नयाँ र पुनः श्रम स्वीकृति लिनेको कुल संख्या ७ लाख ९२ हजार ३०२ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ थियो । कुल संख्या ८ लाख ३९ हजार २६६ थियो । यस आधारमा एक वर्षमा वैदेशिक रोजगारीका लागि जाने तथा पुनः जानेको संख्या ४६ हजार ९६४ अर्थात् करिब ५.६ प्रतिशतले घटेको छ ।
सञ्चिति १९.६ महिनाको आयात धान्न पर्याप्त
विदेशी विनिमय सञ्चितिको वृद्धिले नेपालको बाह्य क्षेत्रलाई निकै सहज अवस्थामा पु¥याएको छ । गत आर्थिक वर्ष २०८२÷८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा सामान्यतया कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चितिलाई सहज वा पर्याप्त मानिन्छ । यसले तत्काल विदेशी मुद्रा अभावका कारण आयात भुक्तानीमा समस्या आउने जोखिम कम गरेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये २०८३ असार मसान्तमा नेपाल राष्ट्र बैंकमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । यस अवधिमा राष्ट्र बैंकसँगको सञ्चिति ४३.८ प्रतिशत र बैंक तथा वित्तीय संस्थासँगको सञ्चिति ६१.४ प्रतिशतले बढेको हो । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.३ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र बलियो, तर उत्पादनको चुनौती
रेमिटेन्सको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति बलियो बनाए पनि यसले नेपालको अर्थतन्त्रको संरचनागत कमजोरी भने समाधान गरेको छैन । मुलुकको बाह्य क्षेत्रको मजबुती मुख्यतः विदेशमा काम गर्ने नेपालीले पठाएको रकममा निर्भर छ ।
गत वर्ष वस्तु आयात १६.२ प्रतिशतले बढेको अवस्थामा रेमिटेन्स ३७.१ प्रतिशतले बढ्नुले आयातका लागि आवश्यक विदेशी मुद्रा जुटाउन ठूलो सहयोग पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। कृषि क्षेत्रको वृद्धि १.५८ प्रतिशत, उद्योगको ५.६७ प्रतिशत र सेवा क्षेत्रको ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ ।
विदेशी सम्पत्ति पनि बढ्यो
विदेशी विनिमय सञ्चितिसँगै मुलुकको समग्र वैदेशिक सम्पत्तिको स्थिति पनि बलियो भएको छ । २०८३ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति ४२ खर्ब ६२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने वैदेशिक दायित्व २४ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस आधारमा खुद वैदेशिक सम्पत्ति तथा दायित्वको स्थिति १८ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँले बचतमा पुगेको छ । अघिल्लो वर्ष यस्तो बचत ७ खर्ब ७९ अर्ब ७७ करोड रुपैयाँ थियो ।
अर्थात् एक वर्षमा नेपालको खुद वैदेशिक सम्पत्तिको स्थिति पनि उल्लेख्य रूपमा सुधार भएको छ ।
विदेशी मुद्रा सञ्चितिको यो स्तरले तत्कालका लागि नेपालको बाह्य वित्तीय जोखिम कम गरेको छ । आयात भुक्तानी, विदेशी ऋणको दायित्व र अन्तर्राष्ट्रिय कारोबार व्यवस्थापनका लागि पर्याप्त विदेशी मुद्रा उपलब्ध भएकाले बाह्य क्षेत्रको दबाब घटेको छ ।