नाओमी एल्डरम्यान लेखिका हुन् । उनका केही पुस्तक प्रकाशित छन् । उनले हालै पठन संस्कृति खस्कँदै गएकामा चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेकी छन् ।
उनको प्रश्न छ, के तपाईंलाई पनि पहिलेभन्दा अहिले पढ्न गाह्रो लाग्छ ? इमेल, म्यासेज र सामाजिक सञ्जालका पोस्ट पढ्न भने पक्कै गाह्रो लाग्दैन होला । हामी दिनभरि ती पढिरहेका नै हुन्छौँ । तर के हामीलाई किताब लिएर बस्न र त्यसैमा हराउनचाहिँ किन गाह्रो लाग्छ होला भनेर सोध्छिन् ? वास्तवमा हामीले फुर्सदका बेला पत्रिका वा किताब पूरै पढेर बसेको कति भयो होला ?
त्यसो त अधिकांशको पढ्ने बानी जीवनकै एउटा महत्त्वपूर्ण हिस्सा कमै थियो भन्ने लाग्छ । रमाइला हल्का उपन्यासदेखि गम्भीर गैरआख्यानसम्म, पुराना क्लासिकदेखि समकालीन रचनासम्म, विभिन्न विधा र लेखकका किताब तपाईं कहिल्यै पढ्नुहुन्थ्यो ? पढ्नुहुन्थ्यो भने अहिले त्यो बानी बिना कुनै गम्भीर निर्णय कसरी छुट्यो त ? थाहै नपाई त्यो बानी कसरी हराउँदै गयो जस्तो लाग्छ ?
नाओमी उपन्यासकार हुन् । बीबीसीमा विचार तथा चिन्तनसम्बन्धी कार्यक्रम पनि चलाउँछिन् । तैपनि, पहिलेको तुलनामा अहिले कम पढिरहेको महसुस गर्छिन् । यस्तो अनुभूति उनलाई पटक्कै मन पर्दैन । किताब किन्ने, पुस्तकालयबाट ल्याउने वा कसैले पठाएका किताब जम्मा गर्ने बानी भने अझै छ । उनी अझै पनि पढ्छिन् । धेरै मानिसको तुलनामा उनी अलि नै पढ्ने गरेको अनुभव सुनाउँछिन् तर पहिले जति पढ्थिन्, अहिले त्यति पढ्दिनँ भन्ने उनलाई लाग्छ । समय कहाँ गइरहेको छ, त्यो पनि उनलाई थाहा छ । उनको अधिकांश समय मोबाइलमा नै बितिरहेको उनलाई भलिभाँति थाहा छ ।
एक दिन उनी एक जना साथी भेट्न बसेकी थिइन् । उनी चिकित्सक हुन् र जनस्वास्थ्यका विज्ञ पनि । जनस्वास्थ्य भनेको लाखौँ मानिसको स्वास्थ्यमा सानो भए पनि सुधार ल्याउने ठूला स्तरका उपायहरू हुन् । कुराकानीका क्रममा नाओमीलाई भनिन्, “स्मार्टफोनको आकार र बनोट चुरोटको प्याकेटजस्तै हुनु संयोग मात्र हो जस्तो मलाई लाग्दैन ।”
नाओमीले चुरोटका कारण उत्पन्न भएको विशाल जनस्वास्थ्य संकटबारे कुरा गरिन् । सस्तो र ठूलो मात्रामा उत्पादन हुने चुरोट आएपछि मानिसले त्यसलाई लगातार सेवन गर्न थाले । पाइपजस्तो खाली गर्ने, सफा गर्ने र फेरि भर्ने झन्झट त्यसमा थिएन । चुरोट, चुरोटको तुलनामा पनि सस्तो थियो । पहिलो विश्वयुद्धका बेला सस्तो चुरोटको ठूलो मात्रामा प्रयोग सुरु गर्दा त्यसले भविष्यमा कति घातक असर पार्नेछ भन्ने कुरा मानिसहरूलाई थाहा थिएन । त्यसका लागि हामी मात्र दोषी होइनौँ ।
पहिलो विश्वयुद्धका ट्रेन्चमा सैनिकहरूले तनाव कम गर्न चुरोट पिउँथे । महामारीका बेला हामी एकअर्कासँग प्रत्यक्ष भेट्न नपाउँदा स्मार्टफोनमै टाँसिएर बस्यौँ । यो पनि हाम्रो मात्र गल्ती होइन । तर अब यसलाई सच्याउने जिम्मेवारीचाहिँ हाम्रै हो भन्छिन् नाओमी ।
मानिसहरूले पढ्न छाड्दै गएको समस्या अहिले राम्ररी देखिन थालेको छ । विश्वविद्यालय पुग्ने विद्यार्थीहरू पूरै किताब पढ्न नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को सन् २०२४ को एउटा प्रतिवेदनले धेरैजसो विकसित देशमा साक्षरता घटेको वा स्थिर रहेको देखाएको छ ।
जेम्स म्यारियटले आफ्नो आउँदै गरेको पुस्तक ’द न्यू डार्क एजेज’मा साक्षरताको कमीले समाजमा निम्त्याइरहेका समस्याहरूको चर्चा गरेका छन् । म्यारियटका अनुसार, हामीले पढ्न छाडेपछि जटिल तर्कहरू बुझ्न र ती तर्कमा रहेका कमजोरी पहिचान गर्न असमर्थ हुँदै जान्छौँ । दोहो¥याउन सजिला, सतही नाराहरू बोकेका अतिसरलीकृत व्यक्तित्वहरूबाट हामी बढी प्रभावित हुन्छौँ । बौद्धिक विचारहरूलाई गहिरिएर सोच्नुभन्दा हल्ला र गफमा विश्वास गर्न थाल्छौँ ।
यो बौद्धिक स्वास्थ्यसँग जोडिएको जनस्वास्थ्य संकट हो ।
नाओमीले पढ्ने बानी फर्काउन ‘काउच टु फाइभ के’ जस्तै कुनै कार्यक्रम बनाउन सकिन्छ कि भनेर सोच्न थालिन् । ‘काउच टु फाइभ के’ भनेको खासै व्यायाम नगर्ने मानिसलाई बिस्तारै पाँच किलोमिटर दौडन सक्ने बनाउने कार्यक्रम हो ।
उनले आफ्नो ‘ह्वाटेभर वक्र्स’ नामको सबस्ट्याक न्युजलेटरमा यो विचार राखिन् । पाठकहरूले असाध्यै उत्साह देखाए । यो काम कति जरुरी रहेछ भन्ने अचानक महसुस भयो । त्यसैले उनले एउटा कार्यक्रम तयार गरिन्
आठ हप्तासम्म चल्ने यस कार्यक्रममा तीनवटा छुट्टाछुट्टै विकल्प छन् । आठ हप्ताको अवधिमा पाठक दिनकोआधा घण्टा पढ्ने बानीमा फर्किन्छन् । यसका साथै, हप्तामा दुई–तीनपटक केही लामो समय पढ्ने समय पनि छुट्याइन्छ । हरेक दिन २० मिनेट मात्र पढ्न चाहनेहरूका लागि पनि छुट्टै विकल्प छ । आफूले पढ्न चाहेको तर गाह्रो लागेर पन्छाउँदै आएका किताबतर्फ फर्किन चाहने पाठकहरूका लागि पनि अर्को विकल्प राखिएको छ ।
यो कार्यक्रमप्रतिको प्रतिक्रिया असाधारण छ । पहिलो हप्ता पूरा हुँदानहुँदै मानिसहरूले विभिन्न अनुभव सुनाउन थाले । बिहान उठ्नेबित्तिकै मोबाइल चलाएर दिमाग कुहिरो बनाउने बानी हटेपछि आफ्नो बिहानको दिनचर्या छिटो पूरा हुन थालेको उनीहरू बताउँछन् । तनावपूर्ण समयमा पढ्दा मन शान्त हुने उनीहरूको अनुभव छ । लामो फिल्म हेर्दा पनि मोबाइल चलाउने लोभ कम भएको छ ।
यो कार्यक्रमसँगै काम गरेको दुई–तीन दिनमै मानिसहरूले उत्कृष्ट किताबमा डुबेर पढ्नुको सरल आनन्द फेरि पाउन थालेका छन् । आफूलाई उत्साहित राख्न प्रशंसकहरूले डिजिटल र प्रिन्ट गरेर प्रयोग गर्न मिल्ने पढाइका प्रगति–तालिका पनि आफैँ बनाएका छन् । शिक्षकहरूले समेत यो विचार विद्यालयमा कसरी लागू गर्ने भनेर सोध्न थालेका छन् ।
उनी भन्छिन्, यो बानी सुधार्न कति सजिलो रहेछ भन्ने थाहा पाउनु साँच्चिकै उत्साहजनक छ । कार्यक्रम अहिले चलिरहेको छ, र यसमा सहभागी हुन तपाईं ढिलो भइसक्नुभएको छैन ।
मोबाइल तल राख्नुहोस्, किताब उठाउनुहोस् र १० मिनेट पढ्नुहोस् । यही तपाईंको पहिलो दिन हो ।
किताबमा यति धेरै आनन्द लुकेको छ र त्यो आनन्द अझै पनि हामीलाई पर्खिरहेको छ । प्रविधिका अर्बपतिहरूबाट त्यो आनन्द फिर्ता लिन हामीले दिनमा केही समय पढ्न मात्र सुरु गरे पुग्छ ।