नेभिगेशन
अर्थतन्त्र

वनस्पति घ्यू तेल उत्पादक संघको एक करोड बढी सहयोग

काठमाडौँ। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट आएको बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख आर्थिक सहयोग गरेको छ।

गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, र पूर्वी नवलपरासी लगायतका जिल्लाहरूमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुगेको भन्दै संघले दुःख व्यक्त गरेको छ । नागरिक, समाज र राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै राष्ट्रिय एकता र सामाजिक सहकार्यको भावना अनुरुप उक्त रकम सहयोग गर्ने निर्णय गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । 

संघले जारी गरेको विज्ञप्तिमा बाढी पीडित परिवारलाई तत्काल राहत, उपचार र अन्य आवश्यक सहयोग उपलब्ध गराउन सरकारले सिघ्र कदम चाल्नुपर्ने उल्लेख छ। साथै प्रभावित क्षेत्रहरूको दीर्घकालीन समाधानका लागि पूर्वाधार निर्माण र पुनःस्थापना कार्यमा विशेष सतर्कता अपनाउन समेत संघले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहिरहने प्रतिवद्धता संघले व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्