नेभिगेशन
अर्थतन्त्र

व्यवसायीले बढाए ग्यासको मूल्य

प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च बढेको उद्योगीको दाबी

काठमाडौं । वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा उद्योगीलाई थप आर्थिक भार पर्ने भन्दै व्यवसायीले ग्यासको मूल्य बढाएका छन् । नेपाल आयल निगमको २०७८ चैत २२ को पत्रका आधारमा हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्मको दूरी १३१ किलोमिटर रहेको उल्लेख गर्दै संघले वैकल्पिक मार्ग प्रयोग गर्दा थप ढुवानी खर्च लाग्ने भन्दै मूल्यवृद्धि गरेको हो । 
संघका अनुसार निगमले तोकेको प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ मूल्यमा वैकल्पिक मार्गबाट ढुवानी गर्दा लाग्ने १०५ रुपैयाँ ३५ पैसा थप गरी प्रति सिलिन्डर २ हजार १६५ रुपैयाँ ३५ पैसा पर्ने व्यवस्था गरिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले ढुवानी भाडामा अस्वाभाविक खर्च बढेपछि मूल्य बढाउन बाध्य हुनुपरेको जिकिर गरे । ‘मुख्य राजमार्ग अवरुद्ध भएपछि लामो र अप्ठ्यारो वैकल्पिक मार्ग (बाइपास रोड) प्रयोग गरी ग्यास ओसारपसार गर्नुपरेकाले ग्यासको मूल्य बढाउनुपरेको’ उनको भनाइ छ ।
चन्दका अनुसार वैकल्पिक बाटोबाट ग्यास ल्याउँदा प्रति सिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च बढेको छ । ग्यासको अन्तर्राष्ट्रिय वा आधारभूत मूल्य नबढेको भए पनि केवल ढुवानी भाडाको भिन्नताका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको चन्दको भनाइ छ ।
नेपाल आयल निगम स्रोतका अनुसार ग्यास उद्योगीले ५० किलोमिटर भन्दा बढीको ढुवानी भाडा उद्योगीले नै तय गर्न सक्ने कानूनी व्यवस्था छ । त्यसैमा टेकेर मूल्यवृद्धि गरिएको हो ।
संघले यो व्यवस्था बाढीका कारण सिर्जना भएको असहज परिस्थितिमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति निरन्तर राख्न गरिएको जनाएको छ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक कटान भएपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको बिक्री–वितरण प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति सहज बनाउन उद्योगी तथा व्यवसायीलाई आग्रह पनि गरेको छ ।
निगम र संघबीच भएको छलफलअनुसार काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने निर्णय गरिएको छ । सोही निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले ती क्षेत्रमा रहेका उद्योगमा सिलिन्डर रिफिल गरी काठमाडौं ल्याउनुपर्ने अवस्था आएको संघले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले आपूर्ति व्यवस्थापनसँगै बजारमा अनावश्यक समस्या तथा प्रतिस्पर्धा सिर्जना हुन नदिन उद्योगी तथा बिक्रेतालाई आग्रहसमेत गरेको छ ।
संघको ३१औं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्नुपर्ने सबै ग्यास उद्योगलाई निगमले तोकेको प्रति सिलिन्डर मूल्यमा थप ढुवानी खर्चसहितको रकम कायम गरिएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्