नेभिगेशन
अर्थतन्त्र

बंगलादेशद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि सञ्चालन भइरहेका उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन बंगलादेश सरकारले १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) सहयोग प्रदान गरेको छ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको सरकारले उक्त रकम नेपालको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गर्ने गरी उपलब्ध गराएको हो। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई भेटेर प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको औपचारिक पत्र हस्तान्तरण गर्दै सो सहयोगको जानकारी गराएका हुन्।
यसअघि भदौ १६ गते विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । नेपालमा भदौ १० गते आएको आकस्मिक बाढी र ठूलो जनधनको क्षतिप्रति बंगलादेशको राष्ट्रिय संसद (जातिय संसद) ले भदौ ११ गते शोक प्रस्ताव पारित गरेको थियो। संसद बैठकमा बाढीमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।
नेपालमा प्राकृतिक विपत्ति आएलगत्तै बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगिर र प्रधानमन्त्री तारिक रहमानले आफ्ना नेपाली समकक्षीहरूलाई छुट्टाछुट्टै सन्देश पठाउँदै बंगलादेश नेपालको दुःखमा सँगै रहेको र जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए। यस्तै, बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले पनि नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गरी सहानुभूति प्रकट गर्दै मानवीय सहायताका विषयमा छलफल गरेका थिए  
कठिन घडीमा बंगलादेशले देखाएको यो अग्रसरताले दुई देशबीचको वर्षौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र जनस्तरको आपसी निकटतालाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्