नेभिगेशन
सूचना प्रविधि

एआईको गतिप्रति सुरक्षाको चिन्ता

कृत्रिम बुद्धिमत्ता (एआई) को विकासमा सुरक्षा चिन्ता फेरि सतहमा आएको छ । एआई कम्पनी एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकब कक्सनले कम्पनी छाड्ने घोषणा गरेका छन् । उनले एआई विकासको वर्तमान दौडप्रति गम्भीर असहमति जनाएका छन् ।
कक्सनले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको घोषणा गर्दै एन्थ्रोपिक र ओपनएआई दुवैलाई सुरक्षा बेवास्ता गरेको आरोप लगाएका छन् । उनका अनुसार दुवै कम्पनी प्रतिस्पर्धीलाई उछिन्न हतारिएका छन् ।
‘उनीहरू स्वयम् सुधार गर्न सक्ने सुपरइन्टेलिजेन्सतर्फ दौडिरहेका छन्,’ कक्सनले लेखेका छन्, ‘यस क्रममा हाम्रो जीवनमाथि जुवा खेलिरहेका छन् ।’ 
कक्सनले एन्थ्रोपिक र ओपनएआईमा तीन वर्ष अनुसन्धान गरेका थिए । उनले एआई विकासको तीव्र गतिबारे चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार एआईको क्षमता अब सामान्य अनुमानभन्दा धेरै अगाडि पुगिसकेको छ ।
‘यो प्रविधिको शक्तिलाई कम नआँक्नुहोस्,’ उनले भनेका छन् । उनका अनुसार भविष्यका एआई प्रणाली मानिसभन्दा धेरै क्षेत्रमा सक्षम हुनेछन् । ती प्रणालीले कम्प्युटर प्रणालीमा समेत घुसपैठ गर्न सक्ने उनको दाबी छ ।
कक्सनको पोस्ट एकै रातमा करोडौं मानिससम्म पुगेको थियो । उनका भनाइप्रति एन्थ्रोपिकका दुई कर्मचारीले पनि समर्थन जनाएका छन् । उनीहरू दुवै अहिले पनि कम्पनीमै कार्यरत छन् ।
एआईको जोखिमबारे यस्तो सार्वजनिक चेतावनी नयाँ भने होइन । एन्थ्रोपिक र ओपनएआईबाट यसअघि पनि उच्चस्तरीय कर्मचारीले राजीनामा दिएका छन् । उनीहरूले एआई सुरक्षालाई लिएर असहमति जनाएका थिए ।
यसपटकको चिन्ताको पृष्ठभूमिमा केही गम्भीर घटना पनि छन् । एन्थ्रोपिक र ओपनएआईले हालै आफ्ना मोडेलबारे सुरक्षा घटना सार्वजनिक गरेका थिए । दुवै कम्पनीका मोडेल परीक्षण वातावरणबाट बाहिरिएका थिए ।
ती मोडेलले वास्तविक कम्प्युटर प्रणालीमा अनधिकृत पहुँचसमेत पाएका थिए । त्यसपछि दुवै कम्पनीमाथि सुरक्षा प्रश्न उठेका थिए । कम्पनीहरूले केही परीक्षण रोक्ने निर्णय गरेका थिए । थप निगरानी र सुरक्षा व्यवस्था गर्ने उनीहरूको भनाइ थियो । तर घटनाले अर्को महत्वपूर्ण प्रश्न जन्माएको छ । एआईलाई नियन्त्रण गर्ने संयन्त्र कति बलियो छ ?
एन्थ्रोपिकले आफूलाई सुरक्षामुखी कम्पनीका रूपमा प्रस्तुत गर्दै आएको छ । कम्पनीका संस्थापकहरू पहिले ओपनएआईमै कार्यरत थिए । उनीहरूले सन् २०२१ मा एन्थ्रोपिक स्थापना गरेका थिए । एन्थ्रोपिकले पछिल्लो समय सुरक्षा प्राथमिकतामा राख्ने बताएको छ । कम्पनीले गति र सुरक्षाबीच द्वन्द्व भए सुरक्षा रोज्ने जनाएको छ । तर कम्पनीभित्रैबाट आएको कक्सनको आलोचनाले बहस चर्काएको छ ।
संयुक्त राष्ट्रसंघले पनि एआई जोखिमबारे चेतावनी दिएको छ । मानवअधिकार प्रमुख भोल्कर टुर्कले यसै साता सावधानी अपनाउन आग्रह गरे । उनले एआई सुरक्षाका लागि बलियो ग्यारेन्टी मागेका छन् ।
‘धेरै ढिलो हुनुअघि सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ टुर्कको भनाइ छ । उनका अनुसार एआईको विकाससँगै मानवअधिकार पनि सुरक्षित हुनुपर्छ ।
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले पनि कक्सनको भनाइ समर्थन गरेका छन् । उनले एआई विकास रोक्ने कानुन ल्याउने बताएका छन् । सुपरइन्टेलिजेन्समाथि प्रतिबन्ध लगाउनुपर्ने उनको धारणा छ ।
‘एआई बनाउने मानिसहरू नै यसको खतरा स्वीकारिरहेका छन्,’ स्यान्डर्सले भनेका छन् । उनका अनुसार यस्तो प्रविधिले मानवताको भविष्यलाई जोखिममा पार्न सक्छ ।
तर एआई विकास रोक्नु आफैंमा सजिलो विकल्प होइन । एन्थ्रोपिक र ओपनएआईबीच तीव्र व्यावसायिक प्रतिस्पर्धा छ । दुवै कम्पनी सार्वजनिक सेयर निष्कासनको तयारीमा पनि छन् ।
त्यसमाथि चीनका एआई कम्पनीसँग पनि प्रतिस्पर्धा बढेको छ । अमेरिकाले एआईमा चीनभन्दा अगाडि रहन चाहेको छ । यसले कम्पनीहरूलाई अझ तीव्र विकासतर्फ धकेलेको छ ।
एउटा अनुसन्धानकर्ताले कम्पनी छाड्दैमा संसार डराउनुपर्ने अवस्था छैन । तर उनको चेतावनीलाई बेवास्ता गर्नु पनि उचित हुँदैन । किनकि चेतावनी एआईबारे बाहिरबाट आएको होइन ।
यो प्रविधि विकास गर्ने व्यक्तिबाट आएको हो । अझ महŒवपूर्ण कुरा उनी एन्थ्रोपिक र ओपनएआई दुवैमा काम गरिसकेका छन् । त्यसैले उनको चिन्ताले एआई सुरक्षाको बहसलाई नयाँ गम्भीरता दिएको छ । उनको  राजीनामाले बहसलाई अगाडि ल्याएको छ । एआईको चमत्कारसँगै त्यसको सम्भावित जोखिम पनि बुझ्नुपर्ने समय आएको छ । (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि