नेभिगेशन
साहित्य

कविताको अनन्त आयतन र ‘धागो’को लय

कविता जति पढे पनि नसकिने सिर्जना हो । जतिपटक पढ्यो उति नै केही नयाँ लाग्ने विधा हो । कविता कसैले मेटाएर मेटिने, कसैले जलाएर जल्ने, कसैले सक्काएर सक्किने वा च्यातेर च्यातिने सिर्जना होइन । कविता निराकार हुन्छ । अमर हुन्छ । कवितालाई ठ्याक्कै यहीँ हो भनेर परिभाषित गर्न सकिँदैन । कविता हरेक चिजको परिभाषा हो । कविता जीवनको परिभाषा हो । कविता आँसुको परिभाषा हो, प्रेमको परिभाषा हो । कविता हृदयको परिभाषा हो । कविता आँखाको परिभाषा हो । यी सबै सबै परिभाषा मैले कवि जीवित खड्का मगरको कवितासङ्ग्रह ‘धागो’मा भेट्टाएको छु । जहाँ कविले आफ्नो हृदयबाट खसेका शीतका थोपाहरूलाई बटुल्दै बटुल्दै, उन्दै जम्मा चालीस ओटा कविताहरूको एक माला निर्माण गरेका छन् । यस मालाका जतिजति पानाहरूलाई आँखाले कोतर्दै गयो त्यति नै कविताहरूले मस्तिष्कलाई कोतर्दै जान्छन् । 

‘धागो’भित्रका कविताहरूको अन्तिम सत्ता र अन्तिम सत्य पनि उनी नै हन् । यसको ‘बिग ब्याङ्ग’ पनि उनकै मस्तिष्कबाट भएको हो । अब कुरा गरौं यसको फैलावटको । यी कविताहरू कुनै निश्चित सीमामा बाँधिएका छैनन् । यी खुल्ला र नाप्न नसकिने कविताहरू हुन् । जतिजति पढ्दै गयो, मस्तिष्कलाई स्खलित गराउदै गयो, त्यति नै कविताको आयतन बढ्दै गएको महसुस हुन्छ । यी कविताहरूले समाज बोलेका छन् । रूढिवाद, कुप्रथा, असमानता, अपहेलना र ढोँग बोलेका छन् । गरेका छन्– छड्के एथिस्ट ईश्वरलाई पनि । झकझकाएका छन् वर्षौं जरा गाडेर बसेको समाजको मेरुदण्डलाई । कहीँकतै कवि एक हातमा तरबार र अर्को हातमा सेतो गुलाफ लिएर उभिएको पनि देखिन्छ । कतै विद्रोहले चुर भएर आँखामा मैनबत्ती रोपी दौडिरहन्छन्– अँध्यारा वस्तीहरूमा । फेरि मौनता पनि उत्तिकै देखिन्छ उनमा । 

कविताको सागरमा पौडिन जान्ने कवि हुन् जीवित । कविताको क्षितिजमा चलमलाउन जान्ने कवि हुन् । यसरी पोख्त छन् र पो यसरी पोख्दछन् उनी कवितामा भाव । कलात्मक तरिकाले स्खलित गराउँदछन् कवि आफ्नो मस्तिष्कलाई । एक असल कवि बन्न कविमा असल गुणहरू हुनुपर्दछ  । र, ती गुणहरू म जीवित खड्का मगरमा भेट्छु । 

‘गाउँमा हराएको गाउँ’ कविताले गाउँको कोमलता, समयसँगै फेरिने काँचुली र गाउँ फोहोरी कुहिरोभित्र लुक्दैछ भन्ने शन्देश दिन्छ । गाउँ नचाहिँदो फेसनमा मत्त भएको कुरा यस कविताले दर्शाएको छ । गाउँका मान्छे शहर छिरेपछि गाउँ फर्किंदा पर्यटक बनेर फर्किन्छन्, मेरो माया कसैलाई छैन भन्ने गुनासो गाउँले पोखिरहेको देखिन्छ । गाउँको दुःख फरकै छ । गाउँले पुँजीपति वर्गबाट बारम्बार ठगिनुपर्ने कुरा बेग्लै छ । दलाल र तस्करहरूको त्रासले फेर्न नसकेको चैनको श्वास उस्तै छ । कवि असन्तुष्ट छन् घरकै राजनीति देखेर –
दैलोमा सधैँ आइरहन्छ भेट्न 
शहरलाई छोएर आएको दलालजस्तो हावा 
र गाउँबाट गाउँको पहिचान 
उडाएर लगिरहन्छ... 

ओ, दूर देशका पर्यटकहरू 
गाउँमा अहिले गाउँ हराएको छ । 

कवि धर्मका नाममा भैरहेको पाखण्ड, ढोँग, रूढिवादका बारेमा पनि खुब आक्रोश पोख्छन् । ईश्वरको प्रचारमा धर्म बेच्नेहरूका विरुद्धमा समेत लेख्छन् । उनले ईश्वरलाई पनि थुप्रै प्रश्न गरेका छन् । ‘ईश्वरको खेती’मा कवि लेख्छन् ः 
उहिले उहिले 
नित्सेहरूले संसारमा 
ईश्वर मरेको घोषणा गर्दा 
हामीले बुझेनौँ । 
निरन्तर आस्था राख्यौँ 
र, ईश्वरको खेती गरिरह्यौँ 
खेती ः जसको प्रतिफल
केवल भक्तमात्रै भैरहेछौँ 
धोका–छल–कपट र मिथ्या सपनाहरू 
पाइरहेछौँ । 

हाम्रो समाजमा धर्मराज कहलाउने युधिष्ठिरहरूबाट कहिलेसम्म द्रौपदीहरू द्युत क्रीडामा थापिन्छन् ? कहिलेसम्म नंग्याइन्छन् द्रौपदीहरू मनोरञ्जनका लागि ? कहिलेसम्म दिनु पर्छ सीताहरूले    अग्निपरीक्षा ? कहिलेसम्म बेचिनुपर्छ माधवीहरूले मण्डीमा ? यसै सन्दर्भमा कविले ‘अग्नि परीक्षाअघि सीताको प्रतिवाद’ कवितामा नारीको चीत्कार लेखेका छन् । पुरुषप्रधान समाजले गरेको विभेद, इतिहासले लगाएको कुरूप टिको र महिलाले समाजमा झेलिरहेको वर्तमान दुखेसोका बारेमा खुलेरै लेखेका छन् ः
यतिखेर तपाईं–
अयोध्या नगरका आदर्श राजा मानिनुहुन्छ 
एक आदर्श पुरुषले आफ्नी धर्मपत्नीको 
सतीत्वमाथि शङ्का गर्छ 
र, अग्निपरीक्षा जस्तो 
क्रुर फैसलाको आदेश दिन्छ भने 
अब म पनि आगो बोकेर 
आगोमा होमिएँ । 

कविले राष्ट्रप्रतिको प्रेम पनि उत्तिकै पोखेका छन् । उनी महसुस गर्छन्– देशबाहिरको एक्लोपन । महसुस गर्छन्– आँखामा खिचेर ल्याएको आफ्नो देशको सुसज्जित भूमिलाई आँसुले छामेर । मान्छे जति जति देशबाट टाढा हुँदै जान्छ र पुग्छ कुनै अपरिचित देशको एक कुनामा तब उसलाई उति नै माया लाग्न थाल्छ आफ्नो  देशको । उति नै प्रेम जाग्छ देशप्रतिको । ‘परदेश आउनेहरूलाई’ शीर्षकको कवितामा उनी लेख्छन् ः
यहाँ ओह्रालै ओह्रालो चिप्लेटी खेल्दै 
हराइजाने सुख्खा पहाडहरू छैनन् 
यहाँ मझेरीमा कुवा खन्दै 
जूनको छायाँ हेरिरहने 
गाउँहरू छैनन् 
यहाँ हावाले हल्लाइरहने जुलुसहरू छैनन् 
यहाँ कौसीको घामलाई अँगालो मारेर 
उँघिरहने हाकिम’सापहरू छैनन् ! 

जसै आएँ परदेशमा 
यस्तै यस्तै अनुभूत गरेँथेँ 
पहिलोचोटि ।

कविले बाल्यकालीन स्मृतिलाई पनि कवितामा उनेका छन् । ‘चल्लाहरू’ कवितामा हिलो र धूलो, खोला र नाला, आँगन र पेटी सम्झेर कविले हृदय पोखका छन् । यो कविता मैले पनि धेरैपटक पढेँ । जतिपल्ट पढियो उतिपल्ट केटाकेटी बनायो । उति नै पल्ट न्यास्रो मेटायो बाल्यकालको । मान्छेको एक युग हुन्छ आफ्नो मात्रै र त्यो युग बालापन हो । केटाकेटीपन हो । कवि भन्छन् ः
चल्लाहरूले याद गराउँछन् 
रहरलाग्दो
आफ्नै बालापनको 

जब साँझमा अस्ताएको बूढो घाम 
बिहान नहुँदै मिर्मिरेमा 
फेरि फर्केर आउने 
बालकघामझैँ 
आउने भए फर्केर ती दिनहरू 
हामी पनि खेल्थ्यौँ होला चल्लाहरूझैँ ।

कविले व्यंग्यात्मक कविता पनि लेखेका छन् । प्रेम पनि लेखेका छन् । आक्रोश पनि लेखेका छन् । लगभग ठिक तरिकाले सबै सबै लेखेका छन् । कहीँकतै चुकेका पनि छन् । अडिएका पनि छन् । झस्केका पनि छन् । मलाई विश्वास छ, भोलिको दिनमा यो सुधार कविमा अवश्य देखिनेछ । मान्छे समस्याहरूसँगै राम्रो लाग्दो रहेछ । पूर्ण मानिस आफैँमा पूर्ण हुँदैन । त्यसैले त ‘धागो’ जन्मियो । यो उनेर सक्किने ‘धागो’ होइन । कतै गाँठो पार्नुपर्ने धागो पनि होइन । यो ‘धागो’ कताबाट सुरु भएर कता अन्त्य हुने हो र हुनुपर्ने हो ? नित्य हो कि अनित्य हो ? यसको उत्तर पाउन कठिन छ । त्यसैले यत्ति भन्न चाहेँ– जहाँ जहाँसम्म यो धागो पुग्नेछ, त्यहाँसम्म सुन्दर पुष्पगुच्छाहरू उन्दै जाओस् । निर्माण गर्दै जाओस्, एक सुन्दर परिवेश । उन्दै जाओस्– प्रेम बाँड्न चाहने, शान्ति स्थापित गर्न चाहने, सहिष्णुता र मेलमिलाप चाहने सबैलाई एकै मालामा । 

कवि जीवित खड्का मगरले यस्ता कविताहरू एक धागोमा उनेर पाठकलाई पनि त्यही धागोको लय सँगसँगै जोड्दै गएकोमा बधाई दिन चाहन्छु । तपाईंलाई अब भाग्ने र छल्ने छुट छैन । नेपाली साहित्यले आफ्नो क्षितिजमा अझै सुन्दर सिर्जना पाओस्, तपाईंबाट । 

कवि जीवितलाई आउने युगहरूमा पनि प्रेम छ । अहिलेलाई यताबाट साधुवाद !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य