नेभिगेशन
सूचना प्रविधि

एआई चस्माः प्रविधि, सुविधा र गोपनीयतामाथिको जोखिम

मोबाइल फोनको विकल्प बन्ने अपेक्षासहित विकसित हुँदै गएको एआई प्रविधि अब मानिसको आँखामै पुगिसकेको छ । क्यामेरा, माइक्रोफोन, स्पिकर र एआइ प्रणाली जडित स्मार्ट चस्माले फोटो–भिडियो खिच्ने, फोन गर्ने, संगीत सुन्ने र प्रयोगकर्ताको प्रश्नको जवाफ दिने काम गर्छ । अगाडि देखिएको वस्तु पहिचान गर्ने, दृश्यबारे जानकारी दिने र भाषाको अनुवाद गर्नेसमेत यसको क्षमता विस्तार हुँदै गएको छ । 
यो प्रविधिको बजारमा मेटा सबैभन्दा अगाडि देखिएको छ । मेटाले चस्मा निर्माता लक्जोटिकासँग मिलेर ‘रे–ब्यान मेटा’ र ‘ओक्ली’ ब्रान्डका एआई चस्मा विकास गरिरहेको छ । सन् २०२५ मा विश्वभर ८७ लाख एआई चस्मा बिक्री भएको ओम्डियाको तथ्यांक छ । यसमा मेटाको हिस्सा ८५.२ प्रतिशत थियो । सन् २०२६ को पहिलो ६ महिनामा मात्रै ४२ लाख थान बिक्री भए । त्यस अवधिमा मेटाले ३४ लाख थान बिक्री गर्दै ८१.३ प्रतिशत बजार हिस्सा ओगटेको थियो । 
प्रयोगकर्ताका लागि यसको मुख्य आकर्षण ‘हात नचलाइकन’ डिजिटल काम गर्न सक्नु हो । चस्मा लगाएकै अवस्थामा फोटो वा भिडियो खिच्न, फोन उठाउन, संगीत सुन्न र एआई सहायकसँग कुराकानी गर्न सकिन्छ । दृष्टिविहीन वा कमजोर दृष्टि भएका व्यक्तिका लागि वरपरका वस्तु पहिचान गर्ने, लेख पढ्ने र दृश्य बुझाउने सुविधा थप उपयोगी हुन सक्छ । बेलायतको सूचना अधिकार नियामकले पनि स्मार्ट चस्मामा अपांगता भएका व्यक्तिका लागि महŒवपूर्ण सम्भावना रहेको औंल्याएको छ । 
तर सुविधा बढेसँगै यसको सबैभन्दा ठूलो प्रश्न गोपनीयता बनेको छ । सामान्य चस्माजस्तै देखिने उपकरणमा क्यामेरा र माइक्रोफोन हुने भएकाले वरपरका मानिस आफू रेकर्ड भइरहेको थाहा नपाउन सक्छन् । मोबाइलले फोटो खिच्दा फोन हातमा देखिन्छ । स्मार्ट चस्मामा भने क्यामेरा आँखाकै अगाडि लुकेको हुन्छ । यही कारण सार्वजनिक स्थानमा मानिसको सहमतिबिनै फोटो, भिडियो वा आवाज संकलन हुन सक्ने जोखिम बढेको छ । 
मेटाले भने आफ्ना चस्मामा रेकर्डिङ भइरहेको जानकारी दिन अगाडि सेतो बत्ती राखेको बताएको छ । रेकर्डिङका क्रममा बत्ती बल्छ र त्यसलाई छोपेर वा बिगारेर गोप्य रूपमा रेकर्ड गर्न खोजे क्यामेरा निष्क्रिय हुने व्यवस्था गरिएको कम्पनीको दाबी छ । तर यस्ता सुरक्षा उपाय पर्याप्त छन् कि छैनन् भन्ने प्रश्न अझै उठिरहेको छ । 
अमेरिकामा स्मार्ट चस्माबाट गोप्य रूपमा मानिसको भिडियो खिचिएका घटनाले पनि चिन्ता बढाएको छ । केही प्रयोगकर्ताले सार्वजनिक स्थानमा अरू मानिसको जानकारीबिनै भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको घटना सार्वजनिक भएका छन् । अमेरिकी प्रहरी निकायहरूले समेत हिरासत केन्द्रजस्ता संवेदनशील स्थानमा यस्ता चस्माबाट गोप्य रेकर्डिङ हुन सक्ने जोखिमबारे चेतावनी दिएका छन् । 
युरोपमा पनि नियामक निकायहरू सतर्क भएका छन् । फ्रान्सको सूचना प्रविधि तथा स्वतन्त्रता आयोगले स्मार्ट चस्माबाट उत्पन्न गोपनीयता र नैतिक प्रश्नबारे विशेष निगरानी आवश्यक रहेको बताएको छ । नेदरल्यान्ड्स र बेल्जियममा एउटा ठूलो चस्मा विक्रेताले गोपनीयताको चिन्ता देखाउँदै मेटाका चस्माको बिक्रीसमेत अस्थायी रूपमा रोकेको छ । 
सबैभन्दा कडा कदम भने नर्वेले अघि सारेको छ । सरकारले विद्यालय, बालविकास केन्द्र, खेलमैदान, अस्पताल, व्यायाम केन्द्र, पार्क, समुद्रकिनार, संग्रहालय र किनमेल केन्द्रजस्ता स्थानमा एआई चस्माको प्रयोग अस्थायी रूपमा रोक्ने प्रस्ताव गरेको छ । उद्देश्य प्रविधि नै रोक्नु नभई यसको जोखिम अध्ययन गरेर स्थायी नियमनका लागि आधार तयार गर्नु हो । 

अमेरिकाको क्यालिफोर्नियामा भने गोप्य रेकर्डिङ रोक्ने विधेयक गभर्नर गेभिन न्युसमले अस्वीकार गरेका छन् । विधेयकले निजी स्थानमा अनुमतिबिनै रेकर्ड गर्ने प्रयोगकर्तामाथि कारबाही र रेकर्डिङ भइरहेको संकेत दिने व्यवस्था प्रस्ताव गरेको थियो । 
यसले एआई चस्माको भविष्यमा प्रविधिभन्दा ठूलो प्रश्न विश्वास र सहमति बन्ने देखाएको छ । दैनिक जीवनलाई सहज बनाउने यो प्रविधि विस्तार हुँदै जाँदा ‘के रेकर्ड गर्न पाइन्छ ?’ भन्दा पनि ‘कसको अनुमति लिएर रेकर्ड गर्न पाइन्छ ?’ भन्ने प्रश्न महŒवपूर्ण बन्न थालेको छ । बजार तीव्र गतिमा बढिरहे पनि गोपनीयताको स्पष्ट सीमा निर्धारण नगरेसम्म एआई चस्माको विस्तारसँगै विवाद पनि बढ्ने संकेत देखिएका छन् । (एजेन्सीहरु)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्