नेभिगेशन
राजनीति
लुम्बिनी विकास कोषमा नियुक्ति विवाद

नागरिकता र सम्पत्ति शुद्धीकरणको प्रश्नमा आनीले दिइन् जवाफ

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माले आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोध र आलोचनाबारे भिडियो सन्देशमार्फत स्पष्टीकरण दिएकी छन् । उनले नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर आफूलाई बदनाम गर्न खोजिएको दाबी गरेकी छन् । आनीको नियुक्तिलाई लिएर लुम्बिनीदेखि काठमाडौंसम्म विरोध प्रदर्शन भइरहेका बेला उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी हुन् ।
आइतबार भिडियो सन्देश जारी गर्दै आनीले आफू नेपालमै जन्मिएको र यहीँ बस्ने नेपाली भएको बताउँदै देशको गुन र नूनको सोझो गरेर काम गरेको जिकीर गरेकी छन् । आफूविरुद्धका आरोपले दुःखी र चिन्तित भए पनि विचलित नभएको उनको भनाइ छ । उनले भनिन्, ‘भू–राजनीति अहिले देशमा सक्रियताका साथ अनुभव गर्न पाइएको छ । अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’ उनले आफू चोखो भएको र कुनै खोट नभएको दाबी गरेकी छन् । 
आनीको नियुक्तिलाई लिएर विरोध गर्नेहरूले मुख्यतः उनको नागरिकताको वैधानिकता, विदेशबाट आएको रकमको स्रोत र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाउँदै आएका छन् । लुम्बिनी बचाउ अभियानले नियुक्तिको विरोध गर्दै उनको नियुक्ति खारेजीको माग गरेको छ ।
आनीको बैंक खातामा हङकङबाट आएको भनिएको करिब १६ लाख ५० हजार अमेरिकी डलरको विषयलाई लिएर पनि प्रश्न उठेको छ । यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंक गएर बुझ्दा हुने आनीको जवाफ छ । 
विरोधीहरूले लुम्बिनीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महŒवअनुसार नेतृत्व चयनको आधार तथा नियुक्तिको औचित्यबारे पनि प्रश्न उठाएका छन् ।  लुम्बिनी बचाउ अभियानले नियुक्ति खारेज गर्न माग गर्दै विरोधका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आनीले भने नागरिकताबारे जिल्ला प्रशासन कार्यालय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा सम्बन्धित निकायमा गएर बुझ्न आग्रह गरेकी छन् । उनले आफ्नो नियुक्तिको विरोधका क्रममा अन्य सम्प्रदायलाई चोट पुग्ने भाषा प्रयोग नगर्न र विषयलाई जातीय तथा धार्मिक द्वन्द्व फैलाउने माध्यम नबनाउन आग्रह गरिन् । आफ्नो कारणले समाजमा घृणा र द्वन्द्व नफैलियोस् भन्ने चाहना रहेको उनले बताइन् ।
आनी ‘फूलको आँखामा फूलै संसार’ जस्ता चर्चित गीतकी गायिका समेत हुन् । ‘उनको फूलको आँखामा’ नामक आत्मकथा पनि प्रकाशित छ । 
असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्तावमा उनलाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्