नेभिगेशन
खेलकुद

उद्घाटन खेलमै लुम्बिनीको दबदबा, बदला लिने सुदूरपश्चिमको सपना चकनाचुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले शानदार विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन ग¥यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य केवल ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । यससँगै लुम्बिनीले तेस्रो संस्करणको उपाधि रक्षाको अभियान प्रभावशाली जितसहित सुरु गरेको छ ।
लुम्बिनीको जितमा अस्ट्रेलियाली ब्याटर डार्सी सर्ट र आसिफ शेखले आक्रामक ब्याटिङ गरे । सर्टले केवल १८ बलको सामना गर्दै चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए । आसिफले २५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । उनीहरूबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी भएपछि लुम्बिनीको जित सहज बनेको थियो ।
सर्टले सुरुदेखि नै आक्रामक शैली अपनाएका थिए । उनले स्कट कुगेलाइनको पहिलो बलमै छक्का प्रहार गर्दै आफ्नो टोलीको इनिङ्स सुरु गरे । अर्को छेउबाट आसिफले पनि खुलेर ब्याटिङ गरेपछि सुदूरपश्चिमका बलर दबाबमा परे । लुम्बिनीले पाँच ओभरमै ५० रन पूरा गरेको थियो भने पावरप्लेका छ ओभरमा ७० रन जोडेको थियो ।
सुदूरपश्चिमका अनिल खरेलले सातौँ ओभरमा सर्टलाई आउट गर्दै पहिलो सफलता दिलाए । उनले आसिफको विकेट पनि लिए । त्यसपछि निरोशन डिकवेल्ला सात रन बनाएर कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए । तर, लुम्बिनीलाई जितका लागि आवश्यक रन निकै कम भइसकेको थियो । कप्तान रोहितकुमार पौडेल पाँच र समिम हुसैन एक रनमा अविजित रहे । रोहितले विजयी चौका प्रहार गर्दै टोलीलाई लक्ष्यमा पु¥याए । सुदूरपश्चिमका खरेलले दुई तथा दीपेन्द्रले एक विकेट लिए ।
यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको सुरुवात निराशाजनक रह्यो । लुम्बिनीका बलरले सुरुदेखि नै दबाब सिर्जना गर्दा सुदूरपश्चिमले पावरप्लेमै चार विकेट गुमाएको थियो । नियमित अन्तरालमा विकेट पतन भएपछि टोलीले ठूलो योगफल तयार पार्न सकेन ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । उनले २३ बल खेल्दै दुई चौका प्रहार गरे । ओपनर सैफ जैबले १४ बलमा १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । विनोद भण्डारीले नौ र इसान पाण्डेले सात रन बनाए ।
टोलीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आरिफ शेख, स्कट कुगेलाइन र हेमन्त धामी खाता नै नखोली आउट भए । ब्रान्डन म्याकमुलनले दुई र शेरफेन रदरफोर्डले एक रन मात्र बनाए । मध्यक्रम र तल्लोक्रमका ब्याटरले पनि इनिङ्स सम्हाल्न नसक्दा सुदूरपश्चिम १७.२ ओभरमै समेटियो ।
लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २८ रन खर्चिए । त्यस्तै, शेर मल्लले चार ओभरमा ११ रन खर्चिएर तीन विकेट हात पारे । स्याड्ली भान साल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए । किशोर र शेरले संयुक्त रूपमा सात विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ क्रम ध्वस्त बनाएका थिए ।
विशेषगरी किशोरको तीव्र गतिका बल र शेरको स्पिन बलिङ सुदूरपश्चिमका लागि चुनौतीपूर्ण बन्यो । किशोरले एउटै ओभरमा आरिफ शेख र ब्रान्डन म्याकमुलनलाई आउट गरेका थिए । पछि उनले कप्तान दीपेन्द्र र हेमन्त धामीलाई लगातार दुई बलमा आउट गर्दै ह्याट्रिकको सम्भावना पनि सिर्जना गरे । शेरले विनोद भण्डारी, रदरफोर्ड र कुगेलाइनको विकेट लिएका थिए ।
यस खेलबाट नेपाली घरेलु फ्रेन्चाइज क्रिकेटमा अर्को महŒवपूर्ण प्रविधिको पनि सुरुवात भएको छ । एनपीएलमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुँदै आएको उक्त प्रविधि तेस्रो संस्करणदेखि एनपीएलमा समावेश गरिएको छ । यसले मैदानमा अम्पायरले दिएका निर्णयको पुनरवलोकन गर्न टोलीहरूलाई अवसर प्रदान गरेको छ ।
प्रधानमन्त्री शाहद्वारा उद्घाटन
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित समारोहमा अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पनि उपस्थिति थियो ।
प्रधानमन्त्री शाहले प्रतियोगिता सुरु हुनुअघि शुभकामना व्यक्त गर्दै एनपीएल छोटो समयमै नेपालको ठूलो खेल महोत्सवका रूपमा विकसित भएको बताएका थिए । उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई शुभकामना दिएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबाहेक जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दै छन् ।
लुम्बिनी र सुदूरपश्चिमबीचको उद्घाटन खेल गत संस्करणको फाइनलको पुनरावृत्ति पनि हो । दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले हराउँदै पहिलोपटक उपाधि जितेको थियो । पहिलो र दोस्रो दुवै संस्करणको फाइनलमा पुगेको सुदूरपश्चिम लगातार उपविजेतामै सीमित भएको थियो । यसपटक पनि उसले आफ्नो पहिलो खेलमै साविक विजेतासँग पराजय बेहोरेको छ ।
प्रतियोगिताअन्तर्गत आज मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । तेस्रो संस्करणको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्