नेपालको राज्य संयन्त्र कति निरीह हुन सक्छ भन्ने बुझ्न एनसेल प्रकरणभन्दा ठूलो उदाहरण सायदै खोज्नुपर्ला । एउटा निजी दूरसञ्चार कम्पनीको सेयर १४ पटक किनबेच हुन्छ, अर्बौंको कारोबार देशबाहिरका कम्पनीमार्फत चल्छ, वास्तविक लाभग्राही खुल्दैन, नियामकले सम्झौतासमेत पाउँदैन र कर तथा लाभांशमा अर्बौंको अन्तर देखिन्छ । तैपनि राज्यका निकाय वर्षौंसम्म बेखबरझैं बस्छन् । विवाद चर्किएपछि छानबिन समिति बन्छ, प्रतिवेदन आउँछ र फेरि उही मौनता दोहोरिन्छ । प्रश्न एनसेलले के ग¥यो भन्ने मात्र होइन, राज्यका जिम्मेवार निकायले आफ्नो दायित्व किन पूरा गरेनन् भन्ने हो ।
एनसेलको सेयर कारोबारसम्बन्धी सरकारी छानबिन समितिको ११८ पृष्ठको प्रतिवेदन सामान्य प्रशासनिक दस्ताबेज होइन, नेपालको नियामकीय असफलता र वित्तीय अपारदर्शितामाथिको गम्भीर आरोपपत्र हो । दूरसञ्चार ऐनले पाँच प्रतिशतभन्दा बढी सेयर किनबेचमा नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति अनिवार्य गरेको छ । तर, एनसेलको ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्सको शतप्रतिशत सेयर सन् २०१६ र २०२३ मा पूर्वस्वीकृतिबिनै हस्तान्तरण भएको समितिको निष्कर्ष छ । कानुन कार्यान्वयन गराउने प्राधिकरणले यो उल्लंघन थाहा पाएन कि जानीजानी आँखा चिम्लियो ? यही प्रश्न उद्योग विभाग, कम्पनी रजिस्ट्रार, राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयतिर पनि सोझिन्छ ।
आर्थिक विवरणले झन् अस्वाभाविक चित्र देखाउँछन् । २०७६÷०७७ देखि कर परीक्षण अधुरै छ । ६६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी लाभांश विदेशिएको र २५ करोड अमेरिकी डलरको एस्क्रो खाताको हिसाब अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ सेप्टेम्बरमा एक डलर पुँजीमा दर्ता भई सम्झौताअघि मात्र एक लाख डलर पु¥याइएको स्पेक्ट्रलाइट यूकेले एक खर्ब ४५ अर्बदेखि एक खर्ब ८० अर्ब रुपैयाँ मूल्यांकन गरिएको कम्पनी पाँच करोड डलर प्रारम्भिक मूल्यमा किन्नु आफैंमा शंकास्पद छ । उता २० प्रतिशत स्थानीय सेयरमा ११ अर्ब ५७ करोड मूल्यांकन भए पनि खरिदकर्ताको विवरणमा ३ अर्ब ३१ करोड मात्र लगानी देखिनुले बाँकी ८ अर्ब २६ करोडको स्रोत र भुक्तानीमाथि गम्भीर प्रश्न उठाएको छ ।
२० प्रतिशत सेयरसँग जोडिएकी भावना सिंह श्रेष्ठ र ८० प्रतिशतका खरिदकर्ता सतिशलाल आचार्य श्रीमान–श्रीमती हुनुले वास्तविक स्वामित्वको विषय झन् पेचिलो बनाएको छ । यसलाई स्मार्ट टेलिकमको घटनाक्रमबाट अलग गरेर हेर्न मिल्दैन । करिब ३० अर्ब सरकारी दायित्व छाडेर अनुमतिपत्र गुमाएको स्मार्टको सम्पत्ति राज्यको नियन्त्रणमा आउनुअघि नै सार्वजनिक बिदाको मौका छोपेर बैंक लिलामीमा पुग्यो । एनसेलले ४ अर्ब ६० करोडमा उक्त सम्पत्ति सकारेको भोलिपल्ट मात्रै प्राधिकरणले मूल्यांकन समिति बनाउनु प्रशासनिक लापरबाहीको पराकाष्ठा हो । स्मार्टको अनुमतिपत्र पाए थप एक करोड डलर तिर्ने एनसेलको खरिद सम्झौताको सर्त र २२ जनाविरुद्ध ९६ अर्ब १२ करोड बिगो दाबीको विवरणले निष्पक्ष अनुसन्धानको आवश्यकता पुष्टि गर्छ ।
अर्को महŒवपूर्ण विषय २०८६ भदौ १५ पछि एनसेलको स्वामित्व हो । दूरसञ्चार ऐनको दफा ३३ अनुसार अनुमतिपत्रको अवधि सकिएपछि कम्पनीको सम्पत्ति सरकारमा जाने व्यवस्था छ । कानुनी छिद्र खोजेर यो प्रक्रिया प्रभावित पार्ने आशंका मेट्न सरकारले अहिल्यै स्पष्ट निर्णय गर्नुपर्छ । उता एनसेलले व्यावसायिक गोपनीयताको प्रश्न उठाएको छ । कानुनले संरक्षण गर्ने गोप्य सूचनाको सम्मान हुनुपर्छ, तर राष्ट्रिय फ्रिक्वेन्सी उपयोग गर्ने र सार्वजनिक सरोकार जोडिएको कम्पनीले गोपनीयताको आवरणमा सार्वजनिक जवाफदेहिताबाट उन्मुक्ति पाउन सक्दैन । यसमा राजनीतिक नेतृत्व, मन्त्री, सचिव र नियामकका निर्णयकर्ताको भूमिकासमेत अभिलेखका आधारमा छानबिन हुनुपर्छ ।
अब सरकारले प्रतिवेदन दराजमा थन्क्याएर होइन, स्पष्ट कार्ययोजनासहित कदम चाल्नुपर्छ । एनसेलका १४ वटै सेयर कारोबार, लगानीको स्रोत, लाभांश, एस्क्रो खाता, स्थानीय सेयर र स्मार्ट टेलिकमको लिलामी प्रक्रियाको स्वतन्त्र वित्तीय अनुसन्धान गरिनुपर्छ । राजस्व विभागले बाँकी कर असुल्नुपर्छ र राष्ट्र बैंकले ऋण तथा विदेशी मुद्रा कारोबारको छानबिन गर्नुपर्छ । साथै, २०८६ पछिको सरकारी स्वामित्व सुनिश्चित गर्न कानुनी तयारी थाल्दै नियामक निकायबीच एकीकृत सूचना प्रणाली विकास गर्नुपर्छ । विदेशी लगानी र निजी नाफाको सम्मान राज्यको दायित्व हो, तर लगानीमैत्री वातावरणको अर्थ कानुन छल्न पाउने छूट होइन ।
एनसेल प्रकरणले एउटा कम्पनीको स्वामित्वभन्दा ठूलो प्रश्न उठाएको छ—नेपालमा कानुनको शासन कसका लागि हो ? सामान्य नागरिकले सानो कारोबारमा कागजात नपुग्दा सास्ती खेप्नुपर्ने अनि अर्बौंको कारोबारमा नियामकले कागजातसमेत नपाउने अवस्था अब स्वीकार्य हुन सक्दैन । दोषी जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्छ र निर्दोष प्रतिशोधको सिकार बन्नुहुँदैन । कागजात बोलिरहेका छन्, तथ्य सार्वजनिक छन् । अब पनि सरकार मौन बस्ने हो भने त्यो प्रशासनिक कमजोरी मात्र रहनेछैन । सरकारले के बुझ्नुपर्छ भने, कम्पनीको नाफा निजी हुन सक्छ तर देशको कानुन, राजस्व र राष्ट्रिय सम्पत्ति कसैको निजी स्वार्थको विषय हुन सक्दैन ।