२०४६ सालमा मैले यो काठमान्डू सहर पहिलोपटक देखेको थिएँ । यो सहरमा म रहरले आइपुगेको थिइनँ । सात वर्षको उमेरमा २४ वर्षे विधवा आमाको हात समातेर बाँच्ने झिनो आशासहित थानकोट आइपुग्दा उज्यालो भइसकेको थिएन, अँध्याराले छाडिसकेको पनि थिएन ।
मिर्मिरेमा सहरभरि पिलपिले बत्तीहरू बलिरहेका थिए । रातभरिको अनिँदोपछि देखेको धुमिल दृश्य अहिले पनि सम्झनामा आउँछ । यहाँ आइपुग्न मैले एक दिन हिँडेर अनि एक रात गुडेर आउनुपरेको थियो । मेरा लागि गाडी नयाँ थियो, बिजुली बत्ती नयाँ थियो, मान्छे नयाँ थिए, सहर नयाँ थियो, परिवेश र परिस्थिति नयाँ थियो पर्वत जिल्लाको होश्रांग्दी भन्ने गाउँमा २०३९ साल कार्तिक २८ गते म जन्मनुभन्दा चार महिनाअघिदेखि नै मेरो नदीसँग सम्बन्ध जोडियो ।
मेरो बुबाले कुश्मा बजारको छेउ भएर बग्ने मोदीखोलामा हामफाल्नुभयो र केहीबेरमै कालीगण्डकीमा बिलाउनुभयो । न त कारण थाहा भयो न त शव नै भेटियो । असारको बर्खेभेलमा बगेको शरीर हामीबाट त गुम्यो तर पृथ्वीबाट भने हराएको छैन । सायद त्यो कुनै जलचरको खाना बन्यो र पछि माटो बन्यो । त्यो कतै घुमिरहेको छ । यो पृथ्वीमा कुनै कुरा हराउँदैन, त्यो केवल अर्को कुनै कुरामा परिणत हुन्छ । हाम्रा लागि नदी हत्यारा बन्यो, दोष उसको थिएन नै ।
यो सहरमा मेरा धेरै सम्झना छन् तर ती सम्झनाहरू म अति आवश्यक परे मात्रै मानसपटलमा घुमाउने गर्छु र अधिकांश समय बिर्सनतिर मेरो प्रयास रहने गर्छ । तपाईंसँग दुःख हुँदा आँसु आउने नै भयो तर तपाईंसँग सुख हुँदा पनि त्यो दुःख सम्झेर आउने फेरि आँसु नै रहेछ, जसरी अहिले यो मन्तव्य लेख्दा आइरहेको छ र सायद तपाईंसामु बोल्दा पनि आँसुले आफ्नो बाटो खोज्नेछ । मेरा लागि आँसु बाँच्ने सहारा थियो । मैले मेरी श्रीमती मिनाक्षीलाई बेलाबेला भन्ने गर्छु यदि रुन नजानेको भए वा मेरा आँखामा आँसु चाँडै नआउने भएको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुन्थें ।
त्यति दुःखी र निरस जिन्दगी बाँच्नुको के अर्थ भनेर धेरै सोच्थें म । तर जसै म मर्छु भनेर सोच्थें र एक्लै कतै कुनामा रुन्थें अर्को मनले फेरि सोच्थे मेरो जन्म नै सामान्य छैन त्यसैले मृत्यु कसरी यति सामान्य हुनसक्छ । मेरा बा मरेको चार महिनापछि मात्र जन्मेको थिएँ । न नजन्मेको भए पनि त हुन्थ्यो । म जन्मेपछि तुरुन्तै मरेको भए पनि त हुन्थ्यो । तर त्यसो भएन । म बाँचें र त्यसको कुनै कारण होला । पक्कै केही गर्नका लागि त बाँचेको हुँला । मनमा अनायासै यस्ता भावना आउँथे र आँसु झारेपछि मलाई हल्का हुन्थ्यो । बाँच्ने रहर बढ्थ्यो भने मर्ने रहर घट्थ्यो ।
काठमान्डू पसेपछि म केही वर्ष सोल्टीमोडमा बसें त्यसपछि विष्णुमती किनारको टंकेश्वरमा केही वर्ष थालगिलास माझेर बसें, आमासँगै चियाभात बेचेर । त्यसपछिको एक दशक हामीले कालिमाटीमा तरकारी बेच्यौं । त्यो चियादोकानबाट सय मिटर पनि थिएन विष्णुमती नदी तर मैले कहिल्यै त्यो नदीमा पौडी खेल्न पाइनँ, कहिल्यै किनारको बालुवामा बस्न पाइनँ । नदीबारे मेरो सम्झनामा फोहोरको थुप्रो र नमिठो गन्ध मात्र आइरहन्छ । मलाई त्यो नदी कालै बगे पनि वा निलै बगे पनि केही मतलब थिएन किनभने मेरो उद्देश्य बाँच्नु थियो र बाँच्नका लागि हामीले काम गर्नुपर्थ्यो ।
समयले कोल्टे फे¥यो । यस बीचमा यो सहरमा म एउटा राम्रै जिन्दगी बिताउन सक्ने भएँ । देशविदेश पुगेर काम गर्ने अवसर पाएँ, ६ वटै महादेश पुगेर समाचार समेत लेखें । मेरो घर थिएन, परिवार थिएन । यो सरहले मलाई धेरै कुरा दियो । यही सहरमा मैले मिनाक्षीलाई भेटें । हामीले छोरी अनुरासहितको परिवार बनायौं । दुईटी आमाहरूसहित सँगै बसेका छौं ।
यसो हेर्दा मैले बाँचेको चार दशकमा पृथ्वीमा धेरै कुरा भए । यो देशमा मात्रै होइन पूरै पृथ्वीमै । म जन्मिएको वर्ष सन् १९८२ मा पृथ्वीको जनसंख्या साढे चार अर्ब हाराहारी थियो । सन् २०१८ मा ‘छालबाटो’ किताबमा भएको यात्राका लागि निस्कँदा जनसंख्या बढेर साढे सात अर्ब पुग्यो र अहिले आठ अर्ब नाघेको छ । मान्छेमात्रै बढेनन् यो पृथ्वीमा उसले निकालेको हरितगृह ग्यासका कारण पृथ्वी नै तात्यो ।
सन् १८८० को दाँजोमा हेर्ने हो भने पनि हामी अहिले सरदर १-१ डिग्री सेल्सियस तातो पृथ्वीमा बाँचिरहेका छौं । जति जंगल गएको ९,९०० वर्षमा मासियो त्यति जंगल फडानी त वीसौं शताब्दीको एक सय वर्षमा मात्रै भएको थियो । सन् १९७० पछाडि मात्रै पनि मानिसका क्रियाकलापका कारण जंगली जीवजन्तुको संख्या ६० प्रतिशतभन्दा बढीले घटिसक्यो । यसरी देश, मान्छे र पृथ्वी फेरिएको छ । कथाहरू फरक भएका छन् । फेरिनु प्रकृतिको नियम हो तर जुन गतिमा फेरिएको छ त्यो असामान्य छ ।
यहाँ मान्छेले मात्रै आफ्नो कथा भनिरहेको छ, उसको कुरा भइरहेको छ तर समग्र पृथ्वीमा रहेका अरू प्रजातिको कथा हराउँदै गएको छ । हाम्रो पूरा आयुलाई सय आसपास मान्ने हो भने पनि पृथ्वी हामीभन्दा झन्डै पाँच करोड गुणा जेठो हो । सत्य के हो भने पृथ्वीमा सधैं एउटै मात्र प्रजातिको वर्चश्व थिएन र मान्छेको पनि रहँदैन होला । मान्छेले अरू प्रजातिले भन्दा एउटा कुरा फरक पायो– फुक्काफाल हात ।
अरू सबै प्राणीले आफ्ना हातखुट्टा टेक्नका लागि मात्रै प्रयोग नगरी धर पाउँदैनन् तर मान्छे मात्रै यस्तो प्राणी हो जो गोजीमा हात हालेर खुट्टाले हिँड्न सक्छ । उसले आफ्ना हातलाई के गरौं र कसो गरौं भनेर अनेक गरिरहेको छ । त्यो हात चलाउन उसले दिमागको प्रयोग गर्छ । यो फुक्काफाल हातको सहाराले मान्छेले पृथ्वी कब्जा गर्यो र गरिरहेकै छ ।
साढे चार अर्ब वर्ष पुरानो पृथ्वीमा मानिसले बिताएको पूरै समय हिसाब गर्दा पनि समग्र पृथ्वीको उमेरको जम्मा ०.०००७ प्रतिशत मात्रै हो । तर मानिसले यति छोटो समयमा दोहन भने अति नै गर्यो । एउटा प्रजातिले यति छोटो समयमा यस्तो उत्पाद कहिल्यै गरेको थिएन । हाम्रो जीवनलाई यीनै रूखपात, ढुंगा, माटो, नदी, पानीले चलाएको छ । यिनलाई नबुझी कसरी जीवन बुझिन्छ ? यिनलाई माया नगरे हाम्रा सन्तति कसरी यो पृथ्वीमा बाँच्छन् ? यो सामान्य देखिए पनि गहन प्रश्न हो ।
बिजुलीका तार, नदीका बाँध, अग्ला घर, हुइँकने गाडी, उड्ने जहाज, सुँइकने रेल । एक औंलामा नाचिरहेको इन्टरनेट, चिटिक्क परेको टेलिभिजन, गोजीमा हाल्न मिल्ने मोबाइल । यो हेर्दा अहिलेको समय बढो चमत्कारीजस्तो लाग्छ तर गहिरिएर हेर्यो भने डरलाग्दो पनि । यो पृथ्वी अबको सय वर्षमा कस्तो होला ? मान्छेको भविष्य कस्तो होला ? दोहनको श्रृंखला कसरी बढ्ला । कैयौं प्रश्नले मनलाई थोरै चिन्तित पारिरहन्छ तर मानिसले कयौं विषम परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेको हो त्यसैले यो गति र मति दुवैलाई मान्छेले सम्हालेर अगाडि बढ्ला भन्ने लाग्छ ।
नदी संरक्षणमा लागेका एक जना अभियान्ता छन्, मेघ आले । उनले नै यो यात्राको अवसर जुटाइदिएका थिए । उनले एकदिन मलाई भने, मेरो जीवनकालमै धेरै नदी मरे । मैले डुंगा खियाउँदा खियाउँदै मरणासन्न भएका नदी देखें । अब यो देशमा मर्न बाँकी नदी कर्नाली हो । त्यसैले यो नमर्दै र मेरो जीउमा बल छँदै यसको शिरपुछार यात्रा गर्दैछु, तपाईंलाई निम्तो । त्यही निम्तोले मलाई कैलाशदेखि गंगा पुर्याएको थियो ।
तीन देश, डेढ महिनाको समय, दुई हजार किलोमिटरको लामो यात्रा जसमा एक साताभन्दा बढी त लगातार डुंगामै बगेका थियौं हामी । यो एक्लै गर्न सकिने यात्रा थिएन । डेढ महिनाको समयमा हिमालयपारीबाट पूरै नेपाल काटेर भारतको उत्तरप्रदेशका फाँटसम्म पुग्दा देखेभोगेका कथा र पात्रहरूको वरिपरि यो किताब घुमेको छ । यहाँ ‘महादुःखी’ हुम्ली धनवीर छन्, हराउँदै गएका बर्दियाका बाघ । भागेका दलाई लामा छन्, भागिएर फेरि तिब्बत फर्केका मिंगमार पनि छन् । यहाँ दैलेखबाट लगातार एक साताभन्दा बढी बग्दा जितिएका छालका बेग छन्, बनारसमा खरानी बन्दै गरेका शवहरू पनि छन् ।
पृथ्वीमा रहेका सबै नदीको कुल लम्बाइ एक करोड २० लाख किमि छ जसमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ । नेपालका जम्मै खोला नालाको लम्बाई नाप्दा ४५ हजार किलोमिटर हुँदोरहेछ । यो सानो कुरा होइन । यो पृथ्वी एक फन्को मार्दा जम्मा ४० हजार किलोमिटर मात्रै हुन्छ । त्यसैले हाम्रा नदी नाला मात्रै पूरै हिँड्दा मात्रै पनि पृथ्वी फन्को मारेभन्दा बढी हुन्छ । मैले त जम्मा त्यसको एकहजार किलोमिटर मात्रै हिँडेको हुँ ।
यो नदी वरिपरि हिँड्दा देखेभेटेका पात्रहरूको कथा हो । नदी पानी मात्रै होइन यो सभ्यता हो, संस्कृति हो, जीवन चलाउने आधार हो र पृथ्वीलाई चलायमान बनाउने रक्तनली हो । तर पछिल्लो समय नदी केबल पानी र त्यसले निकाल्ने बिजुलीमा मात्रै केन्द्रित भयो । पहिला पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतका रूपमा प्रयोग भएका नदीमा सन् १८८२ मा उपयोगको अर्को बाटो खुल्यो । उक्त वर्ष अमेरिकाको विस्कन्सनस्थित फक्स नदीको पानीबाट विश्वकै पहिलो विद्युत्गृह निर्माण भएको थियो । त्यसपछि त नदी ऊर्जाको मुख्य स्रोत बन्न थाल्यो ।
बिजुलीका लागि नदीहरूमा बाँध बाँध्ने काम दोस्रो विश्वयुद्धपछि व्यापक भयो । अहिले विश्वको कुल बिजुलीको १७ प्रतिशत खोलानदीले दिन्छन् । एक अध्ययनअनुसार विश्वभरका नदीमा बनेका झन्डै ६० हजार बाँधहरूले सय अर्ब टनभन्दा बढी नदीले बगाउने ग्रेग्रान जमिनबाट समुद्रमा पुग्नबाट रोकेका छन् । कारण ती माथिल्लो भागमै रोकिन्छन् । अहिले विश्वभरि तीन हजार बढी बाँधहरू बन्दै छन् वा बन्ने योजनामा छन् ।
यता देशभित्र भने हामीले विकासको बहसमा वातावरणलाई बाधकको रूपमा स्थापित गरायौं । नदीलाई बिजुलीमा केन्द्रित गयौं । पैसाको कुरा गर्ने तर पर्यावरण भन्यो कि भाउन्न भइहाल्ने अवस्था आयो । हामीसँग यो पृथ्वीको थोरै मात्र ठाउँमा हुने भौगोलिक र जैविक विविधता छ । हामीले अरूले जे गर्यो त्यही नगररे, कम विग्रिएको पृथ्वी हेर्न यता आउ भन्न सक्छौं । हामीले गजबको तर टिकाउ विकास गर्न सक्छौं । हामीले पहाडलाई सोचविचार गरेर काट्न सक्छौं, केही नदीलाई बग्न पनि दिनसक्छौं होला । हामी अरूजस्तो निम्छरो हुन जरुरी छैन । तर हामीमा गहिरो चिन्तन भएन । आक्रोश बढी छ, आवश्यक ज्ञान कम । संभवतः ‘छालबाटो’ किताबमा मेरो सन्देश पनि यही हो ।
पद्मश्री साहित्य पुरस्कार वितरण समारोहमा भुसालद्वारा प्रस्तुत मन्तव्य ।