चण्डीगढमा हुँदा एक दिन युनिभर्सिटीको क्यान्टिनमा चिसो पिएर बसिरहेको थिएँ । एउटी केटी स्कुटरमा आइन् । उनका साथीहरूले उनलाई त्यहाँ कुरिरहेका रै’छन् । साथीसँग कुरा गरिन् । म पनि त्यहीँ नजिकै बसेको थिएँ । यसो देखादेख भएको हो कि जस्तो त लागिरहेको थियो । हिँड्नलाई उनका साथीहरू अगाडि बढेका बेला उनी चाहिँ मेरो नजिक आइन् ।
मैले त तिमीलाई पहिले देखेको थिइनँ, के गर्छौ भनेर कुरा गरिन् । उनी स्थानीय पन्जाबी थिइन् तर सरदार्नी होइन । थोरै कुरा गरेर उनी गइन् । म भर्खर आइएस्सी पहिलो वर्ष ज्वाइन भएको थिएँ । म युनिभर्सिटीबाहिरको डिभएभी कलेजमा पढ्ने भए पनि बुबाले पन्जाब युनिभर्सिटीको होस्टलमा बस्ने व्यवस्था मिलाइदिनुभएको थियो ।
उनी चाहिँ पन्जाब युनिभिर्सिटीमा साइकोलोजीमा मास्टर्स पहिलो वर्षकी विद्यार्थी थिइन् । म १७ वर्षको थिएँ उनी २२ वर्षकी । त्यसको दुई–तीन दिनमा उनीसँगै पढिरहेको एउटा केटाले होस्टलमा पत्रिका पढ्ने, टिभी हेर्ने कोठामा मसँग कुराकानी गर्न थाल्यो । त्यसलगत्तै एक दिन उसले भन्यो, ‘हाम्रो गु्रप घुम्न जाँदै छौं, उसले तिमीलाई पनि ज्वाइन गर्न भनेको छ ।’
म पनि उनीहरूको समूहसँग जाने भएँ । उनको स्कुटर थियो । मैले स्कुटर चलाएँ, उनी पछाडि बसिन् । त्यसपछि हाम्रो सम्बन्ध सुरु भयो । आठ–नौ महिनामा सम्बन्ध एउटा तहसम्म पुग्दा हामीले धेरै समय सँगै बिताउन थाल्यौं । उनी स्कुटर लिएर आउँथिन्, कहिले गाडी पनि ल्याउँथिन् । हामी घुम्न जान्थ्यौं । घण्टौंसम्म क्याम्पसको क्यान्टिनमा बसेर गफ गर्थ्यौ । तालमा गएर घण्टौं बोटिङ गर्थ्यौ ।
अहिले फर्केर हेर्दा लाग्छ, शायद त्यसैलाई भन्छन् होला ‘लभ’ । दिनभरि सँगै गफ गरेर होस्टल पुगेको छ, फेरि कतिखेर फोनमा कुरा गरौं जस्तो हुने ! होस्टल गइसकेपछि साँझ उनले फोन गर्थिन् । बेलुकी पाँच बजेसम्म फोन भएकै कोठामा गएर फोन उठाउन पाइन्थ्यो । पाँच बजेपछि फोन आयो भने कोठा बन्द हुन्थ्यो, झ्यालको बारबाट फोन उठाउन पाइन्थ्यो । आफूले कल गर्न पाइँदैनथ्यो । उनले फोनको टाइम मिलाउँथिन् । ६ बजे तिम्लाई फोन गर्छु भनेपछि ६ बज्नुभन्दा १०–१५ मिनेटअगाडि गएर त्यहाँ ढुकिरहने हो ।
कोही अर्को मान्छे पनि ढुकिरहेको हुन्थ्यो । उसको फोनमा कुरा भइरहेको छ भने ६ बज्न थालेपछि उसले कतिखेर राख्ला जस्तो हुन्थ्यो । त्यसरी उसले फोन गरेपछि फेरि घण्टौं बित्थ्यो । दिनभरि सँगै छौं । अहिले भने त्यतिखेर के कुरा गरिन्थ्यो होला जस्तो लाग्छ । ती केटीको प्रेममा भएका बेला फेरि एकफेर बैङ्कक गएँ । बुबा बैङ्ककमै हुनुहुन्थ्यो । बैङ्कक त निकै आकर्षक महिलाहरू भएको ठाउँ हो नि !
तर त्यो बेला मैले जहाँ पनि उनकै मात्र अनुहार देख्थें । बैङ्ककमा एक महिना बसेर आएपछि भोलि उनीसँग भेट हुने भनेपछि रातभरि निद्रै लागेन । त्यो बेला मोबाइल, इमेल, सोसल मिडिया केही थिएन । रातभर कोल्टे फेर्या–फेर्यै । त्यसपछि मलाई अहिलेसम्म त्यस्तो किसिमको अनुभव भएको छैन । सायद त्यतिखेर म प्रेमको गहिराइमा डुबेको थिएँ कि ? उनी मभन्दा चार–पाँच वर्ष जेठी थिइन् । उनको मास्टर्स सकिने बेला भएपछि हाम्रो सम्बन्धको टुंगो लगाउनुपर्ने अवस्था आयो ।
त्यो बेलाको भारतीय समाज । उनलाई विवाहका लागि घरबाट दबाब आउन थाल्यो । ‘घर में रिस्ते आ रहे हैं’ भन्ने कुरा आउन थाल्यो । छोरीले मास्टर्स सक्न लागेपछि घरमा बिहेको कुरा हुने नै भयो । त्यति बेला केटीहरूले अहिले जस्तो मेरो ब्वाइफ्रेन्ड छ भन्न सक्ने स्थिति थिएन । उनी आफैं फर्वार्ड भएकी हुनाले मात्रै मसँग सम्बन्ध भएको हो । त्यसमा घरको सहमति त के, थाहा पनि थिएन । प्रेमको गहिराइमा भए पनि उनलाई पाइनँ भने मर्छु भन्ने सोच चाहिँ ममा थिएन ।
मेरो बिहे गर्ने परिस्थिति पनि थिएन, बिहे गरिहालौं भन्ने मन पनि थिएन । उनले पनि बिहे गर्नैपर्छ भनेर जिद्दी गरिनन् । उनले ‘घरबाट प्रेसर आइरा’छ’ भनेको ‘कि तँ निर्णय दे, नत्र म मेरो बाटो लाग्छु’ भन्ने सङ्केत हो भनेर म बुझ्थें । मैले बिहेको बाटो समाइनँ । उनलाई जान दिएँ । हामी समझदारीमै छुट्टियौं । मैले पढाइ जारी राखें, उनको बिहे भयो । बिहेपछि उनी मुम्बई गइन् । अहिले पनि कहिलेकाहीँ सम्झिँदा त्यो चाहिँ मेरो साँच्चिकै प्रेम थियो भन्ने लाग्छ ।
भनाइ छ नि– पूर्ण हुन नसकेको वा सफल हुन नसकेको प्रेमको सम्झना झन् बढी हुन्छ । मलाई यो त्यस्तै भयो । केही समय एकदमै खल्लो भयो । तर मैले त्यो भावनालाई धेरै लामो समय रहन दिइनँ । त्यस वर्षको क्लास सकिउन्जेल सामान्य भइसकेको थिएँ । अहिले सोच्दा सायद उमेरले पनि होला जस्तो लाग्छ । कलिलो उमेरमा हड्डी चाँडै जोडिन्छ, घाउ चाँडै पुरिन्छ, त्यस्तै मनको रिक्तता पनि चाँडै पुरियो ।
एक हिसाबले हेर्दा कलाकारका रुपमा मलाई त्यो सम्बन्धले फाइदै गर्यो । सम्बन्धको गहिराइ र छुट्दाको खालीपनालाई मैले महसुस गरेकाले अभिनयमा मलाई त्यो भाव बुझ्न गाह्रो भएन । कलाकारका लागि हरेक भावना सम्पत्ति हुन्छन् । जस्तोसुकै चोट, पीडा वा रिस र आक्रोश होस्, हरेक चीज हामीलाई काम लाग्छ । जस्तो हाम्रो जीवनको विभाजन छ– बाल्यकाल, जवानी र वृद्धावस्था । त्यसैअनुसार अनुभवका पनि समय हुन्छन् ।
युवावस्थामा जवानी, प्रेम, रोमान्स, साथीभाइसँग घुमघामको अनुभव लिइएन भने त्यो बुढेसकालमा पाइँदैन । प्रायः क्रान्तिकारीहरूले पनि युवावस्थामै क्रान्तिको अनुभव लिन्छन् । हरेक कुराको समय हुन्छ । पहिलो फिल्मबाट निकालिँदा म पढाइ सकेर भारतबाट भर्खरै काठमाडौं फर्किएको थिएँ । मोडलिङपछि फिल्म खेल्ने इच्छा त थियो तर यसलाई नै पेसाका रूपमा लिन्छु भनेर निश्चित भइसकेको थिइनँ । मामा दीपक रायमाझीले एक दिन मलाई भन्नुभयो, ‘म फिल्म बनाउँदै छु, ४० दिनमा सुटिङ सकिन्छ, तिमी गर्ने हो ?’
म यस्तै अवसरको खोजीमा थिएँ । कम्तीमा एउटा प्रयास त गरिहेरौं भन्ने मलाई थियो । त्यसरी ‘भाग्यरेखा’मा काम सुरु गरेको थिएँ । फिल्मको नाम भाग्यरेखा भए पनि यो मेरो भाग्यमा नकोरिएको जस्तो भयो । म पहिलो फिल्मबाट निकालिएँ । केही दिनको सुटिङपछि ‘भाग्यरेखा’बाट म र कृष्टि मैनाली निकालियौं । यसको ठोस कारण मलाई आजसम्म थाहा छैन । न उहाँहरूले कारण भन्नुभयो, न मैले नै सोधें ।
उहाँहरूको व्यवहारले मैले छाडिदेओस् जस्तो भएपछि म निस्किएँ । सुटिङ नारायणगढ र वरपर भइरहेको थियो । पाँच–सात दिनपछि नै उहाँहरूबीच मलाई निकाल्ने निर्णय भइसकेको रहेछ । त्यसपछि क्यामराम्यान जावेद शाहलगायत अरुले मलाई निरन्तर तिमीले क्यामरा फेस गर्दा तिम्रो आँखाबाट आँसु आइरहन्छ, तिमीले क्यामरा फेस गर्न सक्दैनौं भन्न थाल्नुभयो । त्यो चाहिँ उहाँहरूले मलाई हटाउन बहाना बनाउनुभएको रहेछ ।
नारायणगढको टन्टलापुर घाममा म एक्लैको सट लिँदा पनि भएभरका रिफ्लेक्टर ल्याएर मतिर फर्काइएको थियो, क्लोजअप दिनलाई । म त भर्खर–भर्खर आएको, कति लाइट चाहिन्छ केही थाहा थिएन । यताबाट क्यामरामा हेर्नुपर्नेछ, उताबाट ऐनाले घाम टल्काएको छ; भरमार लाइट दिएको छ, आँखै रातो हुने गरी आँसु आएको आयै हुने । उहाँहरूले ‘राजेशबाबु, तिमीले सक्दैनौ’ भन्नुभयो । त्यसपछि हामी हटेका हौं !
त्यति बेला सुटिङ युनिटको माहोल त्यस्तै थियो । म पनि प्रोफेसनल भइसकेको थिइनँ । आफ्नो काममा मात्रै ध्यान दिन्थें, अनावश्यक रूपमा कसैसँग पनि घुलमिल गर्दैन थिएँ । दुई–तीन दिनसम्म कृष्टिजीसँग सुटिङ राम्रैसँग चलिरहेको थियो । ब्रेकका बेला म एक्लै समय बिताउँथें । कता–कता उहाँलाई हिरो गफ पनि गर्दैन, छलफल पनि गर्दैन भन्ने जस्तो भएछ । कृष्टिजीलाई मैले वास्ता नगरेको जस्तो लागेछ । उहाँको मनसाय थाहा पाएपछि कफी खान जाऔं न त भनेर गयौं । त्यसपछि अलि नजिकियौं । सुटिङ लोकेसनमा बोलचाल गर्न थाल्यौं । बादल, कुहिरो लागेका बेला सुटिङ रोकिइरहन्थ्यो ।
त्यस्तो बेला म निर्देशक, सिनेमाटोग्राफरसँग गफ गर्न जाँदिनथें । कृष्टिजी उहाँहरूसँग गफ गर्नुहुन्थ्यो । म आफ्नै तालमा हुन्थें । कफी भेटपछि कृष्टिजी पनि उहाँहरूसँग गफ गर्न नगएर मसँग कुराकानी गर्न थाल्नुभयो । सायद यही कुराले उहाँहरूलाई हिरो र हिरोइन दुवैले उपेक्षा गरेको महसूस भएछ कि ! उहाँहरूले कृष्टिजीलाई के हो सुटिङमा नबसेर किन कफीसफीमा जान्छ्यौ भन्नुभयो । कृष्टि पनि अलि कडै स्वभावको, उहाँले पनि ‘यो बोर्डिङ स्कुल हो र ? हामी यहाँ पढ्न आएका विद्यार्थी हौं र ?’ भन्दिनुभयो ।
फिल्मसम्बन्धी, सुटिङसम्बन्धी कुनै कुरामा समस्या वा बाधा भए भन्नुपथ्र्याे । हामीले काम बिगारेका भए भन्नुपथ्र्याे । नत्र कसले कोसँग कफी खान्छसँग निर्देशक, क्यामराम्यानलाई के मतलब ? हामीले खास त्यस्तो केही गरेका थिएनौं, हाम्रो मनसाय सुटिङमा बाधा पुर्याउने थिएन । फिल्म खेल्न भनेरै गएका थियौं । ‘कसले को मान्छेसँग बढी गफ गर्छ, त्यो त सुटिङसँग सम्बन्धित होइन नि !’ मैले पनि भनें । त्यस्तो कुरा भन्दा उहाँहरूलाई चित्त बुझेनछ । अहिलेको माहोलमा भए खासै फरक पर्दैनथ्यो । अहिले सोच्दा त्यस्तो कुरामा पनि फिल्मबाटै निकाले र ? भन्ने लाग्ला तर त्यो बेलाको माहोल अर्कै थियो ।
‘भाग्यरेखा’मा खेल्ने बेलासम्म मैले यस क्षेत्रमा आफ्नो भविष्य देखिसकेको थिइनँ । कृष्टिजी चाहिँ गम्भीर हुनुहुन्थ्यो । त्यसअघि उहाँले ‘सन्तान’ मा थारु युवतीको प्रभावकारी भूमिका गर्नुभएको थियो । सानो रोल भए पनि उहाँलाई धेरै रूचाइएको थियो । त्यसपछि उहाँ मुख्य भूमिका पाएँ भन्ने मनस्थितिमा हुनुहुन्थ्यो । फिल्म धेरै बन्दैनथे । ‘भाग्यरेखा’मा हिरोइनको रोल पाएपछि उहाँले आफ्नो ड्रेस, शृङ्गारलगायत पर्सनल खर्च आफैं गरेर भए पनि हिरोइन चाहिँ राम्रो देखिनुपर्छ भनेर तयारी गर्नुभएको थियो ।
उहाँ करिअरलाई लिएर दृढ हुनुहुन्थ्यो । हामी दुवैलाई हटाउने उहाँहरूको मनस्थिति बुझेपछि दीपक रायमाझीलाई ‘ठीक छ मामा, म जान्छु। मलाई हटाए पनि हिरोइनलाई राख्नू न’ भनेँ । उहाँहरूले मान्नुभएन । पछि रवीन्द्र खड्का र मौसमी मल्ललाई लिएर फिल्म बनाउनुभयो ।
(पत्रकार यज्ञशले गरेको वार्तामा आधारित ‘युगदेखि युगसम्म’ पुस्तकबाट ।)