नेभिगेशन
साहित्य

उपन्यास अंशः कमू

 

प्राक्कथन
मिस्त्रीले निधारको पसिना पुछ्दै, मुसुक्क हाँस्दै भन्यो– ‘यो ताल्चा खोल्न साह्रै गाह्रो र छ’ । त्यसपछि ऊ ढोका खोलेर एक छेउतिर उभियो । 
दुई जना मानिस त्यो ओसिलो गन्धले भरिएको अँध्यारो कोठाभित्र छिरे । तिनीहरूमध्ये एउटाले टर्च बाल्यो । त्यहाँ झ्याल देखेर खोलेपछि धुलाका कणहरू घामका किरणसँगै कोठाभरि चम्किए । माकुराका अद्भुत जालाहरू तुर्लंग झुण्डिरहेका थिए । सामान्य देखिए पनि चारैतिर कलात्मक बुट्टाले सजाइएको एउटा सानो अपार्टमेन्ट रहेछ । त्यहाँ एउटा सुत्ने कोठा, बाथरुम र सानु भान्सा रहेछन् । बैठक कोठामा एउटा डेस्क र टेबल ल्याम्प थियो । डेस्कको दराज खोलेपछि चेकबुक, क्रमबद्ध तवरले राखिएका टेपका स्पुल, केही पेन्सिल र एउटा स्पुलसहितको सानो टेप रेकर्डर पाइयो ।
दुईजना बालकको तस्बिर छापिएको मुलायम खोल हालिएको सिरकले डसना ढाकिएको थियो । कोठामा सानो रेडियो, बिग्रिएको तीन चक्के साइकल, मुखले बजाउने हार्मनी बाजा र तार चुँडिएको एउटा गिटार थियो । खाटमुनि एउटा टिनको बाकस पनि राखिएको थियो । 
‘म यो बाकस चिन्छु । यो उहाँकै अपार्टमेन्ट हुनुपर्छ ।’ कान्छोले ओछ्यानमुनिको बाकस तानेर भन्यो । 
मिस्त्रीले मुसुक्क हाँस्दै भन्यो, ‘यही साँचोले भइहाल्छ, अर्को बनारहनुपर्दैन । अब म जान्छु ।’ 
कान्छोले त्यो साँचो लियो र उसलाई हार्दिक धन्यवाद भन्दै ज्याला दिएर बिदा ग¥यो ।
‘यी टेपहरूले केही संकेत दिन सक्छन्’, जेठोले टेप रेकर्डर उठाउँदै भन्यो । 
‘लौ यो त पूरै बिग्रिसकेको पो रहेछ । यसको त ब्याट्री पनि पग्लिसकेको रहेछ ।’ 
‘अर्को एउटा किनौं र टेपहरू सुनौं ।’ 
‘टेपहरूमा नम्बर र मिति पनि लेखिएको छ । अन्तिम टेप तीन वर्षअघिको रहेछ ।’ 
‘वास्तवमा के भएको थियो भनेर जान्न हामीले अरू के गर्न सक्छौं त?’ 
‘हामीलाई के भएको हुनुपर्छ भन्ने त थाहा छ तर त्यो कसरी भयो ?’ 
संयुक्त राष्ट्रसंघको मान्छेले भन्थ्यो– ‘पछिल्लो जानकारी नाइजेरियाको उत्तरतर्फ क्यानोबाट आएको थियो । त्यसपछि दुई वर्षदेखि केही छैन रे !’ 
‘नेपाली कानूनमा बेपत्ता व्यक्तिको मृत्यु पुष्टि गर्न बाह्र वर्ष कुर्नुपर्ने नियम छ ।’ 
‘आश्रयगृहबाट केही थाहा हुन्छ कि ?’ 
‘त्यहाँ कसैलाई केही थाहा छैन ।’ 
ती दुई दाइभाइले पूरै बाकस खोतल्न थाले । बाकसको बिर्कोमा भगवान् कृष्णको एउटा खुइलिएको फोटो टाँसिएको थियो । भित्र सरकारी कागजपत्रहरूको एउटा मुठो, केही कृत्रिम गरगहना र एउटा गाढा बैजनी रङको मखमली थैली भेटियो । 
‘यसले त अरू केही बताउँदैन ।’ जेठोले निराश हुँदै भन्यो । अलिक अल्छी गर्दै उसले बैजनी रङको मखमली थैलीको सुर्किने गाँठो फुकायो र त्यसभित्रका चिजहरू भुइँमा छ¥यो । त्यहाँ एक जना सैन्य पोशाक लगाएको मानिसको खुइलिएको ब्ल्याक एन्ड ह्वाइट फोटो र ६ वटा पदकहरू थिए । 
‘यी त बेलायती सेनाले दिएका वीरताका पदकहरू हुन्’, कान्छोले सास रोकेर एक–एक पदक नियाल्दै आहा ! ल यो हेर भन्यो । 
‘यी त साँच्चै खत्रा पो देखिन्छन् त !’ उसले त्यसबाट आँखा मोड्न नसकिनेझैं गरी एक टक लगाएर हेरिरह्यो र दाइलाई सोध्यो, ‘ममीले यिनीहरूलाई के गर्नुभएको थियो ?’
‘यो हेर ।’ उसले एउटा पदक देखाएर खुसी व्यक्त गर्दै भन्यो ।
एउटा आठ कुने तारा, बीचमा सुनले घेरिएको नीलमणि जडिएको, क्रस भएका तरबार र अवार्डेड फर भ्यालर लेखिएको । यो त साँच्चै महŒवपूर्ण पो देखिन्छ ।’
जेठोले भने ती कुराप्रति खासै चासो राखिरहेको थिएन । 
‘टेकनाथ पराजुली, राजा जर्ज पाँचौं, प्रथम गोर्खा राइफल्स’ कान्छोले अर्को पदकको फितातिर कुँदिएका अक्षरहरू पढ्दै जोडले भन्यो । 
जेठोले त्यो खुइलिएको फोटो टिप्यो, ‘यो मैले कहिल्यै देखेको मान्छे होइन ।’
‘पहिला यो ठाउँ सफा गरेर बस्न मिल्ने बनाउँ’, कान्छोले भन्यो । 
‘हो, हामी कम्तीमा यति त गर्न सक्छौं– उहाँका लागि । हामी फर्केर आउँदा सरसफाइका सामानसँगै नयाँ रेकर्डर ल्याउँला’ जेठोले सरसामान खोज्ने काम तत्कालका लागि रोक्दै भन्यो ।
‘तिमीलाई थाहा थियो त्यो नाम उहाँका हजुरबाको हो भनेर ?’ 
जेठोले मुन्टो हल्लायो, ‘ममीले कहिल्यै हजुरबाको कुरा गर्नुभएको थिएन ।’ 
‘यो त अति उच्च स्तरको वीरताको पदकमध्येको एउटा हो । त्यसैले त हाम्री ममी यति निडर रहिछन् । एक जना साहसी हजुरबाकी साँच्चिकै नातिनी’, कान्छाले बुझेझैं गरी भन्यो र भेटिएका सामानहरू मिलाएर फेरि थैलीमा राख्न थाल्यो । फित्ताहरू सिधा पा¥यो, र फोटोको दोब्रिएको छेऊ मिलायो ।
केही समयपछि सफाइ सामग्री र ब्याट्रीसहित नयाँ फर्गुसन पकेट टेप रेकर्डर लिएर उनीहरू फर्किएर आए । उनीहरूले साथमा दुई बोतल पानी, वाइन र केही स्यान्डविच पनि लिएर आएका थिए । जेठाले पुरानो टेप निकालेर नयाँ रेकर्डरमा राखिदियो र भाइलाई दियो । ‘हेर, यो चला त ।’ उनको आवाज अस्पष्ट थिएन र सजिलै चिनियो । ममीले रेकर्ड गरेकी थिइन् ।
‘सायद यो मेरो अहिलेसम्मकै सबैभन्दा साहसी र खतरनाक मिसन हो । म फर्किएर नआउन पनि सक्छु । मलाई सम्झेर दुःखी नहुनू किनभने म सन्तुष्ट छु । जीवनले अब मलाई उद्देश्य दिन सक्दैन तर एउटा कुराको बाचा गर ।’ टेपमा एकछिन आवाज आएन तर केही बेरपछि, ‘उहाँप्रति दया राख्नु । त्यो वास्तवमा उहाँको दोष थिएन । मैले उहाँलाई हृदयको गहिराइबाट क्षमा गरेकी छु किनभने उहाँले के नै गर्न सक्नुहुन्थ्यो र ? उहाँलाई कसरी बाँच्ने भन्ने पनि थाहा थिएन ।’
दुवैजना स्तब्ध भए । उनीहरूको मुखबाट कुनै शब्द निस्किएन, आँखाबाट आँसुसम्म झरेन, समय आफैं हरायो । जसोतसो सम्हालिँदै, उनीहरूले छिटोछिटो सरसफाइ गर्न थाले । मानौं उनीहरूले महसुस गरेको पीडा कम गर्न उनीहरूले गर्न सक्ने यो एउटा मात्र उपाय थियो । उनीहरूले सबै सफा गरे ।
माकुराको जालो हटाए, झ्याल, ढोका, भान्सा, बाथरूम सफा गरे र भुइँ पुछे । ओछ्यान मिलाउने क्रममा सिरानीमुनि डसनाको पत्रमा छोपिएको एउटा मोटो डायरी झ¥यो । ‘हेर त, यहाँ के छ ?’
उत्सुकतापूर्वक, उनीहरूले कपडाको गाता भएको डायरी खोल्न थाले । पहिलो पानामा हातले लेखिएको थियोः ‘सिंहझैं गर्ज ।’ त्यो उहाँकै साना तर सफा अक्षरमा लेखिएको थियो । अन्तिम पृष्ठमा तीन वर्षअगाडिको मिति उल्लेख थियो ।
‘उहाँले लेख्ने गर्नुहुन्थ्यो भन्ने थाहा थिएन ।’ 
‘मलाई पनि थाहा थिएन ।’ 
‘हेरौं न– अरू टेपहरूले के–के भन्छन्’, कान्छाले भन्यो । 
उनीहरूले सबै टेप क्रमशः सुने । रात ढल्किसकेको थियो । १२ औं टेप पाँच वर्षअघि रेकर्ड गरिएको थियो । उनीहरू अझै अनभिज्ञ नै थिए । अन्तिम टेप नसकिँदासम्म उनीहरूले दोहोर्याएर सुनिरहे । समय स्थिर भएर रोकिएको थियो । अन्ततः उनीहरूले डायरी समातेर भने, ‘सायद यसले केही बताउनेछ ।’ 
अनि फ्ल्याटबाट निस्किए ।

(यस कृतिका लेखक प्राडा प्रसन्नचन्द्र गौतमको जन्म संवत् २००२ मा काठमाडौंमा भएको हो । उनी कुशल चिकित्सक र वृद्धावस्थाका रोगसम्बद्ध विधाका वरिष्ठ विशेषज्ञ हुन् । संयुक्त अधिराज्य बेलायतको सुप्रसिद्ध एवरडिन विश्वविद्यालयको मेडिकल कलेज र अस्पतालमा वृद्धावस्थाका रोग र तिनको उपचार विधिबारे प्राध्यापन गर्दै अन्त्यमा सो विभागको प्रमुख पदबाट २०६२ सालमा उनले स्वेच्छिक अवकाश लिए ।
डा गौतमले नेपालमा पटक–पटक आएर ज्येष्ठ नागरिकको उपचार र हेरविचारबारे योगदान गरेका छन् । शिक्षा, जनस्वास्थ्य तथा विभिन्न सामाजिक परिवेशमा अझै कार्यरत प्रसन्नचन्द्र गौतमले समस्त नेपालीलाई प्राचीन संस्कृत साहित्य, वेद र पूर्वीय दर्शनबारे लेखिएका कृतिमार्फत परिचय गराएका छन् । उनको बहुआयामिक व्यक्तित्व प्रस्तुत केही कृतिहरूले पनि दर्शाउँछन्ः मधुमेह, विकत वैज्ञानिक, सुखी परिवार सानो परिवार, यौन, तपाईंले जान्न चाहेका कुरा, श्रद्धाञ्जली, ऋग्वेदसंहिता नेपालीमा खण्डः १–२, जब पुग्यो साठी, नेपाली संघीयता, राष्ट्रियता र संस्कृति, र ब्रह्मसूत्रम् ।
पञ्चायतकालमा हुर्किएका र सो क्रुर शासनमा टिक्न नसकेर २०३४ सालदेखि संयुक्त अधिराज्यमा सम्मानपूर्वक बसोवास गर्दै आएका गौतमले नेपालका पहाड, तराइ, सुगम तथा दुर्गम जिल्लाहरूमा स्वास्थ्य सेवा दिँदा आफूले भोग्नुपरेका, देखेका, सुनेका, उपचार गरेका व्यक्तिहरूको सम्झना र सम्मानमा यो उपन्यासको रचना गरेको देखिन्छ । -सम्पादक)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्