नेभिगेशन
दृष्टिकोण

सार्वजनिक जग्गामा वृक्षारोपण

दायाँबायाँ घरका पर्खाल (कम्पाउण्ड) । दुवैतर्फ पानी बग्ने साँघुरा नाला । माझमा २०–२२ फुटको चिल्लो सडक । माटो देख्न कहाँ पाउनु ! तर सिमेण्टेड नालामा लहराइरहेका छन्, धुपी र कपुरका बोट । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमीस्थित एसओएस स्कूलपारि दक्षिण भित्री बाटो भएर मातृभूमि स्कूलतर्फ जाँदै गर्दा दायाँबायाँ देखिने दृश्य हुन् यी ।

यो बाटो भएर हिँड्दा मनमा उठ्ने दुई कुरा– पहिलो, नेपालमा गरे के हुँदैन ! दोस्रो, नेपालीले के जानेको हुँदैन ! सिमेण्ट वा कालोपत्रे सडक कोपेर बिरुवा रोप्दा पनि लहराउने ठाउँ (देश) मा गरे के हुँदैन ? परिआयो भने नेपालीले सिमेण्टमै बिरुवा उमारेर हुर्काएर हराभरा बनाउन सक्ने रहेछ । 

तर, दुई वर्षजति सडकका दायाँबायाँ रोपिएका मध्ये केही मात्र रुखले बयली खेल्ने अवसर पाएका छन् । धेरै त सुकेर खङ्ग्रङ्ग भएका छन् । ‘खर्च गर्ने ठाउँ नपाएर अलपत्र परेको स्थानीय तहको बजेटको उपयोग भयो । कतिपयले रोजगारी पाए । हरियाली देख्न नपाएका टोलवासीले बाटोमै भए पनि रुखबिरुवा देख्न पाए । राम्रै त भयो’, प्रश्न गर्दा पाइने जवाफ । अचेलको मानसिकता, भित्री सडक भए पनि सकेसम्म फराकिलो पार्नुपर्यो ।

सवारीसाधन नि निर्वाध कम्पाउण्डभित्र पस्न–निस्कनसक्ने बनाउनुपर्यो । पेटी (फुटपाथ) बनाउने आवश्यकता नै किन पर्यो ! वारपार कालोपत्र देखेपछि सवारीसाधनले सबै आफ्नै हो जस्तो गर्ने भई नै हाले । भुइँमान्छेका व्यथा, गाउँटोलका भित्री बाटो भए पनि निर्धक्क भएर पैदल यात्रा गर्न पनि गाह्रो हुन्छ । सिमेण्टको भुइँ छेउमै पर्खाल ती रुखले पनि कहाँ निर्वाध हुर्किन पाउनु, मुस्किलले अस्तित्वसँग संघर्ष गरिरहेका ती बिरुवासँग ठक्कर खानुपर्ने पैदलयात्रीको बाध्यता । 

सवारीसाधनलाई पनि बिरुवाले अवरोध नगर्ने होइन् । विशेषगरी दुईपांग्रे साधनका चालक र पछाडि बसेका समेत तिनका घोचाइमा पर्छन् कहिलेकाहीँ । हाम्रा स्थानीय तह र समाजका गन्यमान्यको चेत अचम्मको छ । सडक पनि फराकिलो चाहिएको छ । हरियाली पनि आवश्यक छ । सवारीसाधनमा सरर गुड्दा कमसेकम सडकका दायाँबायाँ हरियाली देख्न पाइयोस् भन्ने सोच होला । तर तिनको औचित्य र प्रभावबारे अध्ययन भएकै छैन ।

यो समस्या सानोठिमीका भित्री सडकमा मात्र होइन, फराकिला र पेटी भएका ठूला सडकमा पनि देखिन्छन् । यसको उदाहरण सानोठिमीबाट थिमीतर्फ जाने गठ्ठाघर (श्री सैनिक गणको बायाँ) को ओरालो होस् वा मध्यपुर थिमीकै कौशलटार हुँदै हनुमती नदी तरेर सूर्यनिायक नगरपालिकाको बालकोटतर्फ जाने बाटो होस् । नाममात्रको सडकपेटी तर हरियाली बनाउने स्थानीय सरकारको रहरले पैदल यात्रु मारमा परेका छन् ।

कुरा भक्तपुरको मात्र होइन काठमाडौँ र ललितपुर महानगरकै कतिपय व्यस्त स्थानमा समेत साँघुरा पेटी बनाइएका छन् । पेटी दुई फिटकै किन नहोस्, धुपी घुसाएिकै हुन्छ, कपुर ठड्याइएकै हुन्छ, समी रोपिएकै हुन्छ । त्यसमाथि गोलाकार फलामे घेराले थप ठाउँ त ओगटिरहेकै हुन्छ । तिनै सुरक्षाकवच मिल्क्याएर निमोठिएका, भाँचिएका सुकेकाहरूका बिचमा निरीह केही बिरुवाले अस्तित्वसँग संघर्ष गरिरहेकै हुन्छन् ।

सजीवको विशेषता नै हो यो । किन रोपिन्छ सडक पेटीमा रुखबिरुवा ? जवाफ प्राथमिक तह पढिरहेका विद्यार्थीले पनि दिन सक्छन्, पहिलो स्वच्छ हावाका लागि, दोस्रो शहरको सौन्दर्य बढाउन । राम्ररी मलजल र सुरक्षा पाए त सौन्दर्यका माध्यम पनि बन्लान् तर कति स्वच्छ हावा फ्याँक्छन् होला साना र आफैँ अस्तित्वको संघर्षमा रहेका ती निरीह बोटविरुवाले ? 

ram-psd-dhital-1760317533.jpg
रामप्रसाद धिताल

पर्याप्त फुटपाथ पनि रहेको र विरुवाले पनि खेलीखेली हुर्किन पाएका केही ठाउँ पनि छन्, जडिबुटीबाट पुरानो सिनामंगल (बोलीचालीमा पेप्सीकोला) जाँदा दायाँतर्फका पेटी फराकिला छन् । त्यहाँ न त पैदलयात्रीले सास्ती पाउँछन् न त बोटविरुवाले नै । तर अलिकति धेरै फुटपाथ देख्नै नहुने रोग स्थानीय तहमा छ ।

बिजुलीबजारबाट माइतीघर जाने सडक विभागतर्फको सडकमा पर्याप्त पेटी छ । विश्राम गर्ने फलामका कुर्सी, दृष्टिविहीनका लागि मार्ग पनि छन् । माझमा पिपल, वर, समीजस्ता रुख लगाइएका छन् । तिनले सडकको शोभा मात्र बढाएका छैनन्, शहरवासीका लागि धेरथोर अक्सिजनको स्रोत पनि बनेका छन् । 

तर काठमाडौँ महानगरपालिकालाई त्यहाँ पैदल यात्रु हिँड्ने बाटो अलि बढी नै भयो जस्तो लागेछ । ठ्याक्कै कालोपत्रैसँगै जोडेर अर्को लहरको रुख रोपिसकेको छ, थाहासञ्चार रेडियोदेखि माइतीघर मण्डलासम्म । त्यसदेखि पूर्वपट्टि पेटी भत्काएर रुख रोप्नकै लागि खाल्डो पारेको एक वर्ष बढी भयो । बर्खामा पानी जमेर पेटीमा हिँड्नै कठिनाइ भएको देखिएको थियो ।

सहर कंक्रिटको जंगल बनेको, खुला ठाउँ भेटाउन र हरियाली देख्नै मुस्किल परिरहेको सन्दर्भमा सडकपेटीको माझ वा कुनामा रुख लगाउँदा विरोध गनुपर्ने कारण नै छैन । हाम्रो संस्कृतिमा सार्वजनिक स्थलमा पिपल वर जस्ता ठूला हुने रुख रोप्न, समाज नै मिलेर त्यसको स्याहारसम्भार गर्ने चौतारी बनाउने चलन थियो । त्यसका पर्याप्त उदाहरण शहरका व्यस्त चोकमा अहिले पनि देखिन्छ । नयाँ रुख रोप्ने ध्येयले अहिले ती बेवास्ताको शिकार बनेका छन् ।

पञ्चायत कालमा सडकका दायाँबायाँ लहरेपिपल र मसलाजस्ता रुख रोपिएका थिए । तिनीहरू शहरवासीका लागि स्वच्छ हावाका र सौन्दर्यका प्रतीक थिए । सडक बढाउने नाममा ती सबै ढालिए । अब त्यस किसिमका रुख लगाउने स्थान नै अभाव छ । फलस्वरूप सडकका माझमा वा पेटीमा धेरै अग्लो नहुने किसिमका रुख लगाएर सन्तुष्टि लिनुपरेको छ । अचेल खै सार्वजनिक जग्गा ? खै फराकिलो ठाउँ ? पछिल्लो पटक गरिएको नापीका क्रममा कर्मचारीको मिलेमतोमा अधिकांश सार्वजनिक स्थल व्यक्तिकोमा घुसाइएको छ ।

सानोठिमी आसपासका कौशलटार, गठ्ठाघर र लौहकन्थली वरिपरि थुप्रै सार्वजनिक जग्गा व्यक्तिका नाममा पुगेको पंक्तिकारले देखेको छ । यतिसम्म कि ‘भूतले तर्साउँछ’ भनिने ढिस्कोसमेत नापीका कर्मचारीको मिलेमतोमा व्यक्तिका कम्पाउण्डभित्र पारिएका छन् । देशभर यस्तो अवस्था कति होला ?

साँघुरा सडकमा रुख लगाउने मात्र नभई व्यक्तिले आफ्नोमा पारेका सार्वजनिक जग्गा सरकारको मातहत ल्याउने पहल हुनुपर्छ । स्थानीय तहको पहलमा सार्वजनिक जग्गाका विषयमा त्यहाँका पुराना स्थानीयवासीसँग सोधपुछ गरी शंका लागेका ठाउँमा अनुसन्धान गर्न सकिन्छ । 

यसरी पुनः सरकारकै नाममा आएका त्यस्ता जग्गामा धेरै अक्सिजन फ्याँक्ने वरपिपलजस्ता वृक्षरोपण गर्नुपर्छ । पुरानो संस्कृतिलाई पुनर्जीवन दिँदै चौतारी बनाउनुपर्छ । सडकपेटी घटाउने र साँघुरो पारेर पैदलयात्री र रुखबिरुवालाई पनि कष्ट दिने काम बन्द गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्