कुनै बेला थियो सुग्घरी को हो, फोहोरी को हो भनेर छुट्याउन सकिँदैन थियो । सबै मानिस समान व्यवहारकै थिए । दिनैपिच्छे नुहाउनेहरू पनि पानी खन्याउँथे र जिउ मिच्थे । साबुन दल्ने भनेको हप्तामा एक दिन वा दुई दिन हुन्थ्यो । धेरैका घरमा साबुन हुँदै हुँदैनथ्यो ।
धनी भनेर नाउँ चलेका मान्छे पनि १५ दिन वा एक महिनासम्म एउटै लुगा लगाइरहन्थे । लुगा धुने भनेको खरानी पानीमा उमालेर धुनुपर्थ्यो । कसैकसैले लुगा धुने सोडा किनेर ल्याएका हुन्थे र त्यही सोडा हालेर लुगा पकाउँथे र धुन्थे ।
लुगा धुने काम पुरुषको होइन महिलाको हो भन्ने चलन थियो । खट्खटी तातोपानीमा पकाएका लुगा काठको मुंग्राले काठकै पिरामा राखेर पिट्थे र पखाल्थे । सबैजसो मान्छेका जिउमा, लुगामा, कपालमा काखीमा जुम्रा हुन्थे । मेरा जिउमा, लुगामा झन् कति जुम्रा थिए थिए ।
आँखीभुइँमा, आँखाका परेलामा पनि चुम जुम्रा गाडिएका हुन्थे । लुगामा (जिउमा) सेता जुम्रा हुन्थे । कपालमा काला जुम्रा हुन्थे । जुम्राका लिखा कन्पारामा, कन्सिरीमा टल्किन्थे । फुर्सद हुने महिलाहरू एकले अर्काको टाउकाको लिखा र जुम्रा टिपिराखेकै हुन्थे ।
जुम्राले जात छुट्याउँदैनथ्यो, मधेसी र पहाडीको भेद पनि गर्दैनथ्यो, कालो छाला र गोरो छाला भनेर रोजीछाडी गरेको पनि भेटिएन । सबै मान्छेको रगत जुम्राले चुस्थ्यो । धेरै पछिपछिसम्म जुम्राको आतंक मैले खेपिरहे । बसमा जाने आउने गर्दा पनि मान्छेका जिउबाट जुम्रा सर्थे ।
उडुसको बिगबिगि उस्तै खपिनसक्नुको थियो । ओछ्यानका पत्रैपत्रमा उडुस हुन्थे । खाटका चेपमा पनि उडुसै हुन्थे, गुन्द्रीमा पनि उडुसै हुन्थे । उठ्ता बस्ता पनि उडुसले रगत चुसिराखेकै हुन्थ्यो । मलाई बलियो हुन नदिने मेरा प्राकृतिक शत्रुमध्ये उडुसको प्रकोप मेरा उपरमा अत्यन्त धेरै थियो । सिमलको लकडी घरमा प्रयोग गरेर उडुस लागेको भन्ने हल्ला गरे ।
छुटकारा पाउने उपाय कसैले बताएनन् । थाहा भए पो भनून्, कसैलाई थाहा रहेनछ । मैले बगफो भन्ने औषधिको धुलो ओछ्यानभरि छर्के र पनि पूरै उडुस उन्मूलन भएनन् अनि मैले एउटा उपाय निकालेँ । नीमका सेउला ओछ्यानका पत्रपत्रमा ओछ्याएर सुतेपछि बल्ल उडुसबाट छुटकारा पाएँ ।
‘उपियाँ फड्क्यो जुम्राको घान’ भन्ने उखान थियो । उपियाँ फिटिक्क उफ्रेर गैजाने अनि जुम्राले नै टोकेको होला भनेर जुम्रा खोजेर मार्ने मानिसको व्यवहारबाट यो उखान बनेको रहेछ । बाख्राको खोरमा, गाईको गोठमा उपियाँको बस्ने ठाउँ । मैले बाख्राको सुसुल्को पनि गर्नुपर्ने, गाई बाँधेका ठाउँमा गएर गोबर सोहोर्नुपर्ने हुन्थ्यो । गाई दुहुने काम पनि गर्नैपर्थ्यो ।
एक त काम गर्दा गलेर हत्तु भइन्थ्यो अर्को उपियाँले टोकेर कन्याउँदाको सास्ति हुन्थ्यो । जुम्रा, उडुस, उपियाँको टोकाइ नभोगेका मान्छेलाई यो कुरा फिस्स लाग्छ होला तर जसले भोगेको छ त्यसलाई मात्र त्यो जुग र जमानाको दुःखको पीरव्यथा थाहा हुन्छ ।