नेपालमा धेरै क्षेत्रमा व्यवासायिकता र स्वच्छ अभ्यास हुने सकेको छैन । जनताको दैनिक जीवनसँग जोडिएका र ज्यान नै तलमाथि हुने जनस्वास्थ्यको क्षेत्रमा पनि उच्च प्रतिस्पर्धी सेवा प्रवाह भएको सुनिश्चिता हुन सकेको छैन । स्वास्थ्य संस्थाहरूले जनविश्वास आर्जन गर्न नसकेको अवस्था एकातिर छ भने निजी स्वास्थ्य संस्थाहरूले सेवाप्रवाहलाई आर्थिक पाटोसँग मात्रै जोड्दा पनि कहिलेकाहिँ समस्या विकराल बन्न जान्छ ।
स्वास्थ्य क्षेत्रको कमीकमजोरीलाई हालै किष्ट अस्पतालमा भएको सुत्केरीको मृत्यु प्रकरणले पुनः पुष्टि गरेको छ । नेपालमा हरेक एक–दुई महिनामा अस्पतालमा बिरामीको मृत्यु हुँदा भिडन्त र मुडभेडको अवस्था आउने र त्यसलाई सम्हाल्न प्रहरी प्रशासन गुहार्नुपर्ने अवस्था दोहोरिँदै आएको छ । किष्ट मेडिकल कलेज ललितपुर, इमाडोलमा पनि सोमबार त्यही नियति दोहोरिएको थियो ।
खोटाङ, हलेसी तुवचुङ नगरपालिका–९, सल्लेकी मीना राईको मृत्यु हुनुमा अस्पतालको लापरबाहीका कारक भएको आरोप बिरामीका आफन्तले लगाए । उनीहरूले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा प्रदर्शनी मात्रै गरेनन्ढुं गामुढा र तोडफोड पनि गरे । जुन सर्वथा अस्वीकार्य कदम हो ।
कहिलेकाहिँ अवस्था सामान्य देखिँदा पनि बिरामीको आन्तरिक स्वास्थ्यमा हुने गडबडीका कारण व्यक्तिको मृत्यु हुन्छ । यस्तो अवस्थामा बिरामीका आफन्तले आफ्नो बिरामी त ठिकै अवस्थमा रहेकाले कसरी मर्ने अवस्थामा पुग्यो भन्नु अस्वभाविक होइन । गर्भवतीको हकमा भने सामान्यता उच्च रक्तचाव, अत्याधिक रक्तस्राव, सुगरको मात्रामा हुने तलमाथि, शरीरमा अक्सिजनको अभाव लगायतका अनेकौं कारणले सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ ।
नेपालमा मात्र होइन विश्वभरी नै सुत्केरी हुने बेलामा गर्भवतीको ज्यान जाने अवस्थालाई न्यूनीकरण गर्न सकिए पनि ठ्याक्कै नियन्त्रण गर्न भने नसकिएको अवस्था छ । किष्ट अस्पतालमा भएको घटनामा पनि बिरामीको मृत्युका केही कारण थिए होलान् । सामान्यता कुनै पनि चिकित्सकले सबै बिरामीको सुस्वास्थ्यकै लागि काम गरिहरेको हुन्छ, उसले बिरामीको कुभलो चिताउँदैन ।
स्वास्थ्य सेवा प्रदान गर्ने निकायको रुपमा रहने अस्पतालले पनि बिरामीहरूको राम्रो होस् भन्ने नै ध्येय राखेको हुन्छ । तर बिरामी र बिरामीका आफन्तजनसँग सौहाद्र संवाद कामय गर्न नसक्ने ‘डाक्टरी प्रवृत्ति’ नेपालमा व्याप्त छ । डाक्टर पक्ष र बिरामी पक्ष; अस्पताल पक्ष र आफन्त पक्षबीच संवाद र प्रभावकारी सञ्चार हुन नसक्ने अवस्थाले गर्दा समस्या आउने गरेको छ, र किष्ट अस्पतालमा भएको घटनमा पनि यही नियति दोहोरिएको हुन सक्छ ।
यद्यपि, सो घटनाको सत्यतथ्य जाँच गर्न अनुसन्धान गरी प्राप्त निष्कर्षका आधारमा अघि बढ्नुको विकल्प छैन । यदि कुनै खालको लापरवाही भएको खण्डमा संलग्नलाई कानुनले तोकेबमोजिम कारबाही हुनुपर्छ भने बिरामीको आफन्तलाई उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ । तर किष्ट अस्पतालको हकमा उसको कार्यदक्षतमाथि किन पनि प्रश्न तेर्सिएको छ भने यसअघि पनि यस्तै घटना सो अस्पतालमा दोहोरिएका थिए ।
यसअघि २०७६ चैत्र १४ गते पनि उक्त अस्पतालमा डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको घटना बाहिरिएको थियो । त्यस्तै, २०८१ साउन २६ मा काठमाडौं, कोटेश्वर बस्ने २७ वर्षीया खुसी मगरको पित्त थैलीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु हुँदा आफन्तले अस्पतालले उपचारका क्रममा गम्भीर लापरबाही गरेको आरोप लागेको थियो भने २०८१ साउनमै ललितपुर, शंखादेवीकी ३५ वर्षीया पार्वती खत्रीको मृत्युमा पनि गलत औषधि र डाक्टरको लापरबाहीको आरोप लागेको थियो ।
किष्ट अस्पतालको हालको घटनालाई लिएर नेपाल चिकित्सक संघले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आपराधिक कार्य भएको भन्दै घटनाको भत्र्सना गरेको छ । संघले उपचारका क्रममा लापारबाही भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिटका साथै अमानवीय व्यवहार भएको भन्दै यसले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै असर पर्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।
स्वास्थ्य क्षेत्रलाई नै आतंकित तथा भयभीत पार्ने गरी किस्ट मेडिकल कलेजमा प्रदर्शन र तोडफोड भएको भन्दै संघले संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ । नेपालको प्रायः पेशेवर संगठनहरू दलीय प्रभावमा रहेको र पेशागतभन्दा राजनीतिक अजेण्डालाई प्रश्रय दिएको नजीर छ ।
संघको विज्ञप्तीले तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने माग गरिरहँदा घटनाको दोषी पत्ता लगाउने र दोषीलाई कारबाही गर्नुपर्छ भन्ने माग पनि सँगैसँगै किन राख्न सकेन भन्ने प्रश्न पनि उब्जिएको छ । डाक्टरबाट गल्ती हुनै सक्दैन भन्ने होइन, डाक्टर मात्रै होइन कुनै पनि पेशाकर्मीले कार्यसम्पादनको क्रममा नचाहँदा नचाहँदै गल्ती कमजोरी हुन नजाने होइन ।
कतिपय अवस्थामा दोषी कोही नभए पनि घटनाको परिणामले कुनै पक्ष दोषी देखिन जाने अवस्था पनि हुन्छ । गल्ती कसरी भयो र दोषी को रह्यो भन्ने पत्ता लगाउनु नै पहिलो काम हो । यसमा नेपाल मेडिकल काउन्सिल लगायत, स्वास्थ्य मन्त्रालय सम्बन्धित पक्षले पनि उचित हस्तक्षेप गर्नुपर्ने देखिन्छ । स्वास्थ्यकर्मी र बिरामी र तिनका आफन्तसँग नजिकको सम्बन्ध स्थापित गर्नु पनि उपाचारको एक हिस्सा हो भन्ने कुरामा संघ, काउन्सिलले सोच्नु प¥यो तद्अनुरुप कार्य गर्नुपर्यो ।
दुवै पक्षबीच निकटसम्बन्ध हुँदा कतिपय समस्या त यसै पनि समाधान हुन सक्ने आधार बन्छ । किष्ट अस्पतालको यो घटना त्यो बेला भएको जब अन्तरिम सरकारले एक जना महिला स्वास्थ्यमन्त्री पाएको छ । यो घटना अबका दिनमा यस्तो घटना नदोहोरियोस् भन्ने पाठ बनोस् । मृतकप्रति हार्दिक समवेदना !