नेभिगेशन
साहित्य

प्रेमिल उपन्यास देवयानी

Chhabi-Raman-1755228195.jpg
गीत-कविताका सिर्जनाक्षेत्रमा लोकप्रिय सर्जक वसन्त चौधरीले पछिल्लो समयमा आख्यानविधामा पनि परिष्कारपूर्ण कलम चलाएका छन् । नेपाली साहित्यको आख्यान विधामा थपिएको यो कृति हो, ‘देवयानी’ । जीवनको रंग प्रेमको सुवासले स्पर्श गर्दा अझ चहकिलो र सुन्दर बन्छ । प्रेमविहीन जीवनको कल्पना आफैंमा अर्थहीन छ । यो संसार प्रेममा चलेको छ र प्रेममै समाप्त भएको छ । त्यसैले, प्रेम मान्छेको सुन्दर अभिव्यक्ति हो । पशुपक्षीको प्रेममा अनुभूति हुँदैन । मानिस प्रेमको अतल गहिराइमा चुलुम्म डुबेको छ । सिर्जनाको रंगलाई प्रेमको सुवासले स्पर्श गर्ने चौधरीले आफ्नो आख्यानलाई पनि प्रेमिल बनाएका छन् । 

‘देवयानी’ सामाजिक उपन्यास हो । देवयानी शीर्षकले नै बताउँछ, यो उपन्यासभित्र नारी द्वन्द्व मनोविज्ञानको मिश्रण पाइन्छ । हो यसमा नारी मनोविज्ञानवरिपरि पुरुषपात्र उपस्थिति पनि महत्त्वपूर्ण छ । किनभने, पुरुषबिना नारी र नारीबिना पुरुष अधुरो हुन्छ, त्यसैले भनिन्छ नारी र पुरुष एउटै रथका दुई पांग्रा हुन् । या अर्धनारीश्वरको कल्पना पनि नारी–पुरुषबीचको अक्षुण्ण सम्बन्धको द्योतक हो । एकतर्फी प्रेमको कुनै अर्थ रहँदैन, चाहे त्यो प्रकृतिसँग होस् या जीवनसँग । सम्बन्ध होस् या प्रेम, यसको क्रिया दोहोरो हुनुपर्छ । उपन्यासले यसै भन्छ, तर यस्तो प्रेम सोचेर गर्दा सार्थक हुन्छ । 

जीवनका परिधिहरूमा रहेर लेख्ने अनगिन्ती विषयहरू हुन्छन् । जीवनबिनाका परिधिहरूको के काम ? प्रेमबिनाको जीवन पनि त नीरस बन्छ । देवयानी समय र समाज भोगाइका विविध आयामहरूलाई उजागर गरिएको एउटा रोचक आख्यान हो । 

वास्तवमा प्रेमको परिभाषा गर्न कठिन छ । जुनसुकै वर्ग, समुदाय तथा जीवित प्राणीहरूमा सर्वत्र छरिएको प्रेमले नै संसार चलेको छ । मान्छे मान्छेसँग मात्र नभएर, यो चराचर जगत्का यावत सृष्टिसँग प्रेमको अनुपम रूप छ । कहीँ प्रत्यक्ष देखिन्छ, कही निःस्वार्थ रुपमा, आफ्ना प्रेमकर्म सुवासित भैरहेका छन् । यदि, प्रकृतिले दिने प्रेम एकाएक रोकियो भने हाम्रो प्रेमको के अर्थ ? प्रेम जति बाँड्यो त्यति बढ्ने चीज हो । यी कुराहरूसँग साइनो गाँसेर सिर्जना गर्न रुचाउने वसन्त चौधरीको नवीनतम उपन्यास ‘देवयानी’ पनि प्रेमप्रतिको एउटा अनुपम उदाहरण हो । 

समाजमा रहेपछि समाजका परिधिहरूमा रहनुपर्छ । समाजको मानमर्यादामा रहेर हरेक कार्यहरू गर्नुपर्छ । जसले समाजको मर्यादालाई कायम गर्न सक्दैन, त्यो समाजको दृष्टिमा सुपाच्य हुनसक्दैन । प्रेमको पनि आफ्नै परिभाषा, मर्यादा र सीमा हुन्छन्, त्यसकारण हरेक मान्छेले यी कुराहरूमा ख्याल गर्नुपर्छ । नसोची प्रेममा हामफाल्दा पानी उमालेको टबमा डुब्न गएजस्तो हुन्छ । ‘देवयानी’ले यस कुराप्रति सचेत गराएको छ । यस उपन्यासको कथ्य पनि सामाजिक मर्यादामा रहेर बुनिएको एक प्रेमिल कृति हो । यसमा प्रस्तुत भएका विषयवस्तु हिजोआजको समाजमा अत्यन्त गम्भीर रुपमा घटिरहेका घटना–शृंखला हुन् । समाजका एकजना अगुवाले गर्ने कार्यले सम्पूर्ण समाजलाई असर पुग्ने रहेछ भन्ने एउटा सशक्त उदारहण ‘देवयानी’मार्फत वसन्त चौधरीले दिएका छन् । 

एउटा जोडीले अन्तर्जातीय विवाह गर्छन् । रुढीग्रस्थ समाजलाई त्यो पाच्य हुँदैन, त्यसको चौतर्फी विरोध हुन्छ । र पनि ती जोडीले त्यही समाजमा भव्य भोजको आयोजना गर्छन् । तर, भोजमा स्थानीय कोही पनि आउँदैनन् । यो कुरा त्यही समाजका अगुवाले थाह पाउँछन् र उनी आएर भन्छन्– ‘यो जातपात भनेको केही होइन, यसलाई हामीले निस्तेज गर्नुपर्छ ।’ अनि भोजमा पाकेका परिकारहरू स्वाद मानीमानी खान्छन्, त्यसपछि सबै भोजमा सामेल हुन्छन् । र, यसरी अन्तर्जातीय विवाह वैधानिक हुन्छ । यो परिच्छेद उपन्यासको महत्त्वपूर्ण पाटो हो । समाजलाई यस्ता सन्दर्भहरूले केही न केही राम्रा सन्देशहरू प्रवाहित गरिरहेका हुन्छन् ।

अर्को कुरा अभिभावकहरूले मागी विवाह गरिदिन्छन् । एकले अर्कालाई बुझ्नै पाएका हुँदैनन् । त्यस्तो सम्बन्धले निम्त्याएको एउटा कथा पनि हो ‘देवयानी’ । तैपनि, उनीहरूको जीवन चलिहेकै हुन्छ । एकले अर्कालाई गर्ने व्यवहारमा केटामान्छे चुकेको देखिन्छ । यस कथाले मागीविवाहका ती कमजोर पक्षहरूलाई पनि उजागर गरेको छ । जीवन चल्नका लागि एकले अर्कोलाई बुझेन भने त्यो जीवन कसरी चल्छ ? अबको समाजमा यस्ता प्रथाहरू क्रमशः निष्तेज गर्दै जानुपर्छ भन्ने उपन्यासले उठान गरेका सशक्त पक्ष हुन् । 

देवयानीमार्फत आफ्नो सन्तानको इच्छाविपरीतका कार्यहरूले परिवारमा ठूलै दुर्घटना निम्याउन सक्ने कुराको संकेत पनि गरेको देखिन्छ । आदित्य र माधवीले आफ्नी छोरीको भविष्यका खातिर भारतस्थित मसुरीको विद्यालयमा भर्ना गर्छन् । छोरीको इच्छाविपरीत भएकाले उनले पढाइलाई निरन्तरता दिन सक्दिनन् । पछि उनलाई उनीहरूले फिर्ता ल्याउँछन् ।

यी कथाहरू मध्यमवर्र्गको भन्दा पनि सम्भ्रान्तवर्गको कथा जस्ता लाग्छन्, जसले जीवन जिउनका लागि कुनै संर्घष गर्नुपरेको हुँदैन । सायद यस्ता वर्गहरू अनमेल प्रेममा यसरी हुरुक्क भएर लाग्छन् । उपन्यासमा चौधरी उठाएको यो सबैभन्दा गहन कुरा हो । एउटी नारीले पनि समाजमा उत्कृष्ट काम गर्न सक्छे र आफ्नै पौरखमा बाँच्न सक्छे भन्ने अर्को महत्वपूर्ण पक्षले पनि उपन्यासलाई पठनीय बनाएको छ । अबका दिनहरूमा हरेक नारीहरूलाई आफ्नै पौरखमा बाँच्न सिकाएको पनि छ ‘देवयानी’ले । 

उपन्यासका मूलपात्र देवयानी, माधवी तथा आदित्यको त्रिकोणात्मक सम्बन्धमा घुमेको कथाले धेरै कुराहरूको उत्खनन गरेको देखिन्छ । बाबुआमाको इच्छाबमोजिम घरानियाँ परिवारमा आदित्यका साथ विवाह–बन्धनमा बाँधिन्छिन् माधवी र व्यापारको सिलसिलामा भेट भएकी देवयानीसँग बसेको प्रेम विवाहेत्तर प्रेमको हाम्रै समाजमा चलेको प्रचलनको नमुना पनि हो ।

देवयानीसँगको छोटो संगतमा आदित्य उनलाई एकछिन नभेट्दा पनि अभाव महसुस गर्दथे र अहिल्यै भेटिहालूँजस्तो लागिरहने प्रेमान्ध बनेका थिए । उता देवयानी पनि त्यस्तै थिइन् । आदित्य र देवयानीलाई पनि विवाहेत्तर त्यो प्रेमको यात्रा त्यति लामो हुँदैन भन्ने कहाँ नलागेको हो र ? तर, प्रेमका अगाडि उनीहरू नतमस्तक हुन्छन् । पछि देवयानीले आफैं निर्णय लिएर कुनै दुर्घटना हुन पाएन । यो प्रसंगले सकारात्मक सन्देश पनि दिएको छ । उपन्यासमार्फत सकारात्मक सन्देश प्रवाहित भएका छन् । 

आदित्यले धेरै पटक आफ्नो कुरा बताउन खोज्थे, तर देवयानी सुन्नै नचाहने । आदित्य पनि माधवीलाई गुमाउन नचाहने भएकाले उनीहरूको सम्बन्ध धेरै टिकाउ हुने छाँट नदेखिए पनि प्रेमसम्बन्ध भने निरन्तर थियो । एउटा वैवाहिक पुरुषले अर्की नारीसँग विवाह गर्नु कानुनसम्मत थिएन पनि । यति हुँदाहुँदै पनि देवयानी आदित्यलाई गुमाउन चाहन्न थिइन् । तर, समाजमा बसेपछि समाजको मर्यादारेखालाई कसैले पनि नाघ्नुहुँदैन । यो मर्यादारेखाले यी दुवैलाई तगारो तेर्साउँछ । उपन्यासको मूल सन्देश पनि यही हो । 

माधवीजस्ती सहनशील र सुसंस्कृत नारी पात्रले उपन्यासको ओज बढाएको छ । माधवीले सबै कुरा थाह पाएर पनि मौन बस्नु र आफ्नो श्रीमानलाई मौन भाषामै जवाफ दिएको प्रसंग वास्तवमा उपन्यासको बलियो पक्ष हो । 

यो एउटा घरानिय परिवारको कथा हो, संघर्ष र उपकथाका दृष्टिबाट हेर्दा भने त्यसको कमी महसुस पक्कै हुन्छ । सांग्रिला बुक्सद्वारा प्रकाशित ‘देवयानी’लाई वास्तवमै पठनीय कृतिका रूपमा लिन सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्