नेभिगेशन
साहित्य

‘बिहाइन्ड द मास्क’ पछि पर्‍याे

अमेरिकन बुक फेस्ट २०२५ मा फाइनलिस्ट बनेको ‘बिहाइन्ड द मास्क’पछि परेको छ । नेपालका पासाङ नुरु शेर्पाद्वारा लिखित उक्त पुस्तक फेस्टको २२ औं वार्षिक ‘बेस्ट बुक’ अवार्डको सूचीमा परेको थियो । प्याटी डोब्रोवोल्स्कीको ‘द नन–अभियस गाइड टु ड्रइङ योर फ्युचरः सल्भ प्रोब्लम्स, एक्स्प्लेन आइडियाज्, सेल एनिथिङ’ पुस्तकले पुरस्कार हत्याएको छ । क्रिएटिभ ननफिक्सन विधामा यो पुस्तकले शेर्पाको ‘बिहाइन्ड द मास्क’लाई उछिनेको हो ।

कोरोना महामारीको सबैभन्दा कठिन दिनहरू स्मरण गर्दै पुस्तक लेखिएको हो । न्यू योर्कमा कोरोना महाकारीका बेला समुदायका लागि सेवा गरको अनुभव र घटनालाई पुस्तकले दस्तावेजीकरण गरेको छ ।

यो अवार्ड विश्वकै ठूला अन्तर्राष्ट्रिय पुस्तक अवार्डमध्येको एक हो । ४४९ पृष्ठको यो पुस्तक ५५ भन्दा बढी अनलाइन प्लेटफर्महरूमा पाइने लेखक शेर्पाले बताएका छन् । यसअघि उनले यसको नेपाली संस्करण ‘कोरोना कथा’ बजारमा ल्याएका थिए । पुस्तकको सम्पादन र अनुवादमा पीटर गिल र महेश पौड्यालले सहयोग गरेका थिए ।

उनी महामारी शुरु हुनासाथ सक्रियतापूर्वक मैदानमा उत्रिएका थिए । नेपाली समुदायमा उनले बिरामी र जोखिममा रहेका व्यक्तिलाई औषधि, मास्क, थर्मोमिटर पुर्‍याउनेदेखि लिएर आवश्यक परेकाहरूलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन निरन्तर खटिइरहे । अहिले पनि उनी नेपालदेखि अमेरिकासम्म संकटमा परेकाहरूलाई सहयोग गरिरहेका हुन्छन् ।

उनी भन्छन्, ‘म कुनै योजनाबद्ध किसिमले सामाजिक काममा लागेको होइन । जहाँ आवश्यक पथ्र्यो, म त्यहीँ पुग्थें । शुरुमा कार्यालयका एक सहकर्मीलाई कोरोना देखिएपछि म १० दिन होम–आइसोलेसनमा बसेँ । त्यसपछि भने घरभित्र बसिरहन सकिनँ र संकटमा परेकाहरूलाई सहयोग गर्नैपर्छ जस्तो लाग्यो ।’

यसपछि उनी खाद्यान्न पुर्‍याउने काम थाले । पछि कोभिड–१९ सम्बन्धी जनचेतना र सहयोगमा केन्द्रित स्वयंसेवक समूहमा पनि सक्रिय भए । त्यसपछि उनी जहाँ जे आवश्यक पथ्र्यो, त्यही सामग्रीहरू बोकेर मैदानमा उत्रन्थे ।

उनी भन्छन्, ‘यी सबै काम नैतिक जिम्मेवारीजस्तै थिए । हाम्रो टोली जात, धर्म, राजनीति भन्दा माथि उठेर एकअर्कालाई सहयोग गर्न उभिएको थियो । हामीले विद्यार्थीहरूलाई छपन्न पटक खाद्यान्न र सामग्री वितरण गर्‍यौं । त्यो काम गर्न पाउनु नै जिम्मेवारी पूरा गरेजस्तै लाग्थ्यो ।’

‘बिहाइन्ड द मास्क’ पुस्तकले कोभिडअघि रहेको सामान्य जीवनदेखि लकडाउनको कठोरता, त्यसपछि भएका राहत प्रयासहरू र लकडाउनपछि फर्किएको जीवनसम्मका अनुभव समेट्छ । यो पुस्तक व्यक्तिगत कथा मात्र नभई आशा र धैर्यको सन्देश पनि भएको उनी बताउँछन् । गीतकारका रुपमा उनले ६ वटा गीत रेकर्ड गरी सार्वजनिक गरिसकेका छन् भने बाँकी एक दर्जन गीत रेकर्डको तयारीमा छन् ।

उनी अमेरिकी सपना पछ्याउँदै सन् २००४ डिसेम्बरमा अमेरिका पुगेका थिए । हेयर ड्रेसरका रुपमा परिचित उनले पछि सन् २०१२ मा पासाङ स्ट्राइकिङ स्टाइल सलून स्थापना गरेका थिए । यतिबेला यो एउटा स्थापित ब्रान्ड बनिसकेको छ । उनी न्यू योर्कका चर्चित नेपाली हेयर स्टाइलिस्टका रूपमा पहिचान बनाइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य