नेभिगेशन
दृष्टिकोण

हामीजस्तै हाम्रा भगवान् !

चाणक्य नीतिमा एउटा प्रसंग आउँछ, त्यसको भावार्थ यस्तो छ– ईश्वर न काठको कलामा छन्, न त ढुंगाको मूर्तिमा, न माटो वा धातुबाट बनेका प्रतिमामा नै । उनी छन् त केवल भावमा ।

सनातन वैदिक धर्ममा व्यक्तिको बुद्धि, विवेक र क्षमताको तहअनुसार आधारमा ईश्वरको आराधना गर्ने विधि बताइएको छ । कसैले ध्यान गरेर निराकार ईश्वरसँग साक्षात्कार गर्ने प्रयास गर्छन् । कसैले वेदका मन्त्रोच्चारण गरेर उनको आराधना गर्छन् । कतिले पुराणका मन्त्रपाठ र त्यहाँ बताइएका विधिले भगवान् को निकटता पाउन खोज्छन् । कसैले धातु वा शिलाको मूर्ति वा चित्रकारले कोरेका चित्रमा ईश्वरको प्रतिरूप देख्छन् । तिनको पूजाआराधना गर्छन् ।

ram-psd-dhimal-copy-1755318314.jpg
रामप्रसाद धिताल

कतिपयले प्रकृतिका विभिन्न वस्तुलाई देवता मान्छन् । पशुपक्षीलाई पनि देवताकै रूप मान्छन् । जल (पानी), वृक्ष, पर्वत र आकाश आदिलाई ईश्वरका रूपमा पूजा गर्छन् । सनातन धर्मावलम्बी गाईलाई लक्ष्मीका रूपमा पुज्छन् । सर्प वा नागको पूजा गर्छन् । सनातन धर्मग्रन्थमा भगवान्ले विभिन्न समयमा पशुपक्षीको अवतार लिएको पनि उल्लेख छ ।

ध्यानद्वारा प्राप्त गर्न खोजिने ईश्वर आकारविहीन हुन्छन् । अर्थात् निराकार हुन्छन् । मूर्ति वा चित्रमा देखिने ईश्वर आकारयुक्त हुन्छन् । त्यसैले ईश्वरसँग निकटता व्यक्तिको भावमा फरक पर्छ । यसै गरेर ईश्वरको आराधना गर्ने भन्ने सटिक सूत्र छैन । आ-आफ्ना परम्पराबाट निर्देशित हुन्छन् ।

यसरी आराधना गरिने हाम्रा भगवान् ईश्वर पनि हामीजस्तै छन् । चाणक्यले भनेजस्तै हाम्रो भावना जस्तो हुन्छ, हाम्रा ईश्वर पनि त्यस्तै भइदिन्छन् । त्यसैले हामी बिहान–दिउँसो–साँझ उनको आराधना गछौँ । उनलाई सम्झिन्छौँ । मानिसको सबैभन्दा नजिकको साथी पनि हुन्, ईश्वर ।

दोस्रो व्यक्तिलाई सुनाउन नसक्ने कुरा पनि ईश्वरलाई नै सुनाउँछौँ । हामीले मान्ने भगवना्लाई हामी मातापिता मान्छौँ, तपाईँकै सन्तान हौँ भन्छौँ । दुःख पर्दा गुनासो पोख्छौँ । ‘यस्तो गरिदेऊ’, ‘उस्तो गरिदेऊ’ भन्छौँ । केही चाहियो, माग्छौँ । सुखमा पनि उनैलाई सम्झिन्छौँ ।

कुनै पनि काम पूरा भएपछि त्यसको परिणाम राम्रो आवस् भनेर भगवान्ँगै कामना गरिन्छ । काम राम्ररी नगर्ने फलको मात्र अपेक्षा गर्ने (कामचोर) ले पनि ईश्वरसँग पुकारा गरिरहेकै हुन्छ । कुनै उपलब्धि प्राप्त भयो भनै उनीमाथि कृतज्ञता अर्पण गर्छौँ । अपेक्षा गरेअनुरूप परिणाम नआए मानिस भगवान्सँग घुर्की पनि लगाउँछ । भन्छ, ‘मैले यति पुकारा गर्दा पनि सुनेनौ है !’

हामी जे खान्छौँ, हाम्रा भगवान् पनि त्यही खान्छन् । हेर्नुस् त, खाना पाकिसेपछि त्यही नचढाई खाँदैनौँ । कसैले अग्नि (आगो) मा अर्पण गर्छन् । कसैले कुनै पात्र (भाँडो) मा सबैथोक चढाउँछन् । कसैले औसनी हालेर खान्छन् । घरआँगन खेतबारीमा फलेका अन्न, फलफूल हामीले मानेका देवतालाई अर्पण नगरी खाँदैनौँ ।

साउनमा मकै खाने वेला भयो, त्यो पनि चढाउँछौँ । मंसिरमा धान, चैतमा गहुँ भित्र्याउँछौँ, त्यसको परिकार बनाएर चढाउँछौँ । अनि मात्र आफू खान्छौँ । नयाँ धान भित्राएपछि सेल पकाएर लक्ष्मीलाई चढाउने, कात्तिक–मंसिरमा हवन गरे न्वागी खार्नेजस्ता चलन यसैको उदाहरण हो ।

खिर, सेल र मालपुवाजस्ता कहिलेकाहीँ मात्र पाक्ने मिठाइ वा परिकार खानुअघि आफ्ना देवतालाई छुट्टै विशेष प्रकारले चढाइन्छ । धातुको कुनै भाँडामा होस्वा दुईवटा पात चुँडेर त्यसमा राखेर होस्, देवतालाई अर्पण गरिन्छ नै । विधि वा प्रक्रिया फरक होला, सम्झिएको त आफ्नो ईश्वरलाई नै हो ।

रक्सी–मासु खाने समुदायले पूजा गर्दा इष्टदेवता–कुलदेवता–पितृलाई त्यही चढाउँछ । अनि प्रसाद मानेर आफू खान्छ । कतिपयले रक्सी–मासु खाँदैनन्, फलफूल चढाएर पूजा गर्छन् । आफूले नखाने वस्तु वा पदार्थ कसैले आफ्ना देवतालाई चढाउँदै चढाउँदैन् । अर्थात् तपाईँ हामीले खाने पदार्थ नै भगवान् खान्छन् । यसको अर्थ मैले हामीले मानेको भगवान् मजस्तै वा हामीजस्तै छन् भन्ने होइन र !

एउटा ज्वलन्त उदाहरण, नेपालमा धेरैले दशैंमा मासु खान्छन् । मासु नखाई फलफूल अन्य परिकार खाएर दशैं मनाउने पनि छन् । आफू मासु खान्छन्, शक्तिपीठ वा दशैंघरमा देवीलाई बलि दिन्छन् । नखानेले नरिवल, घिरौँला, कुभिण्डो चढाउँछन् । मासु नखाने वा साकाहारीले तर्क गर्छन्, ‘देवताले पशुपक्षीको बलि खान्छन् ? यो मानिसले आफ्नो स्वादका लागि बहाना बनाएको हो ।’

यसको एक मात्र जवाफ, मान्छेले आफूले खाने पदार्थ आफ्नो आराध्यदेवलाई चढाएको हो । मासु खानेले पशुपक्षीको बलि चढाए । मासु नखानेले फल वा तरकारी अर्पण गरे । पहिले आफ्ना भगवान्लाई चढाए, अनि आफूले खाए । एउटा तर्क– भगवानको प्रसादको रूपमा खाइयो । अर्को– आफूलाई खान लागेको वस्तु पहिले आफ्ना देवतालाई अर्पण गरियो ।

कतिपयले फरक आस्था भएकै कारण अरुको परम्परामा औँला उठाइरहेको पनि देखिन्छ । विभिन्न मन्दिरमा भइरहेका पूजाविधिबारे प्रश्न उठाएको पनि पाइन्छ । ‘तिमीहरूको यो परम्परा भएन, ऊ भएन ।’ एकले अर्काको परम्परा पूजाविधि र शैलीप्रति प्रश्न उठाउनु वा घृणा गर्नु गलत हो ।

कुनै पनि मन्दिर निश्चित आस्थाको आधारमा त्यहाँको समाजले चलाइरहेको हुन्छ । विभिन्न विधि र नियमले ती चलिरहेका हुन्छन् । उनीहरूले पुस्तौंदेखि त्यसको अभ्यास गरिरहेका हुन्छन् । त्यसको मर्म वा रहस्य नै नबुझी ‘तिमीहरूको यो परम्परा भएन’ भन्ने अधिकार अन्य समुदायलाई हुँदैन । ती विधि वा परम्परा चित्त नबुझे त्यसमा सहभागी नहुन पनि सकिन्छ ।

हामी धार्मिक सहिष्णुता र सद्भावको कुरा गर्छौँ, तर ‘मेरा भगवान् मजस्तै’, ‘तपाईँको भगवान् तपाईँजस्तै’ भन्ने तथ्य बिर्सन्छौँ । मेरा भगवान् ठूला, मैले जे गरेको ठीक, अरू सुमदायले गरेको बेठीक भन्ने भावना पालेर बस्छौँ । समस्या यहीँ नै छ । सबैले सबै परम्पराको मर्म बुझेर अवलम्बन गर्ने र अरु संस्कृतिको सम्मान गर्ने हो भने सहिष्णुता आफैँ कायम हुन्छ, यसका लागि कोकोहोलो मच्चाइरहनु पर्दैन ।

यसर्थ, सनातन वैदिक धर्ममा मानिसको वुद्धि, विवेक र क्षमताअनुसार ईश्वर आराधनाका फरक विधि छन् । कसैले निराकार ईश्वरलाई ध्यान गर्छन्, कसैले वेद–पुराणका मन्त्रपाठ गर्छन्, कसैले मूर्ति वा चित्रमार्फत पूजा गर्छन्, कसैले प्रकृति, पशुपक्षी, जल, वृक्ष, पर्वत आदिलाई देवता मान्छन् । त्यस्तै, पूजा विधि, चढाउने सामग्री वा शैली फरक भए पनि सबैको उद्देश्य आफ्नो आराध्यलाई स्मरण र सम्मान गर्नु हो । तर, फरक आस्थाप्रति असहिष्णुता, आलोचना वा घृणा गर्नु अर्वथा गलत हो ।

प्रत्येक मन्दिर वा परम्परा स्थानीय समाजको आस्था र संस्कारमा आधारित हुन्छ, जसलाई नबुझी आलोचना गर्नु अनुचित हुन जान्छ । धार्मिक सहिष्णुता भनेकै ‘मेरा भगवान् मजस्तै, तपाईंको भगवान् तपाईंजस्तै’ भन्ने बुझाइ हो । सबैले आ–आफ्नो परम्परा पालन गर्दै अरूको संस्कृति र विश्वासको सम्मान गरे, सहिष्णुता स्वतः कायम हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्