नेभिगेशन
दृष्टिकोण

सम्प्रभू नागरिकको कर्तव्य

लोकतन्त्रको वास्तविक प्राण नागरिक र प्रतिनिधिबीचको पारस्परिक सम्मान, मर्यादा र दुःख–सुखको लेनदेनमा अडिएको हुन्छ । जब यो सम्मानको सेतु भत्किन्छ र मतदातालाई केवल सत्ता आरोहणको भर्याङ अर्थात् साधन मात्र ठानिन्छ, तब लोकतन्त्रको देह बाँकी रहे पनि आत्मा मर्छ । 
ठूला दल काग्रेस, एमाले र माओवादीजस्ता दलका गुटबल, धनबल र नातागोताका आधारमा अवसर पाएका उम्मेदवारहरू मतदाताको दैलोमा पुग्नुलाई सान घटेको ठान्छन् । यही अहंकारको ऐजेरुले लोकतन्त्रको जरा खोक्रो बनाइरहेको छ । यदि दाता अर्थात् मतदाताको मर्यादा छैन भने त्यो दानबाट प्राप्त सत्ता सधैँ अधिनायकवादी र जनविरोधी बन्छ । खड्गप्रसाद, पुष्पकमल र शेरबहादुर प्रवृत्तिले यो तथ्यलाई बारम्बार पुष्टि गरेका छन् । भाद्र २४ को युवाविद्रोहको कोणबाट हेर्दा वर्तमान निर्वाचन युवाहरूको असन्तुष्टिको परिणाम हो ।
भोटले बिना रक्तपात, बिना हातहतियार, राज्यसत्तालाई शान्तिपूर्ण रूपमा हस्तान्तरण गर्न सक्छ । इतिहासमा ‘कसले शासन गर्ने’ भन्ने गम्भीर विवादलाई चित्तबुझ्दो ढंगले समाधान गर्न मतपत्रको आविष्कार र प्रयोग विश्वमै निर्विवाद र लोकप्रिय औजार बन्यो । प्रजातान्त्रिक पद्धतिमा यो मतपत्ररूपी अजय शक्तिको मालिक मतदाता नै हो । तर हाम्रा दलले यही मालिकलाई बलिबेदीको पशु जस्तो बनाएका छन्, निर्वाचनअघि मात्र धूप अक्षता गर्ने र बाँकी समय बिर्सिने ।
जब कुनै उम्मेदवार भन्छ “यो टोल वा परिवारले त हामीलाई मत दिइहाल्छ” उसले तपाईंको स्वतन्त्र अस्तित्वको हत्या गरिरहेको हुन्छ । यो वाक्यभित्र गहिरो अपमान लुकेको छ । यसले भन्छ– “तिमीहरूसँग सोच्ने क्षमता छैन, विकल्प रोज्ने हिम्मत छैन, तिमीहरू वैचारिक दास हौ ।” अब प्रश्न छ— पुरानो पुस्ताले जसलाई कहिल्यै मत माग्न नआउँदा पनि भोट दिइरह्यो, त्यो प्रवृत्तिलाई मलजल गर्ने कि त्यसको दाहसंस्कार गर्ने ? यो निर्णय कमारो पुस्ताले ढिलै भए पनि स्वाभिमानपूर्वक लिनुपर्ने बेला आएको छ ।
हाम्रो अघिल्लो पुस्ताले व्यवस्था बदल्न रगत बगायो । तर त्यसको बदलामा दलहरूले सम्मान होइन, उपेक्षा दिए; विकास होइन, विनाश; सुशासन होइन, कुशासन दिए । “बाजेको पालादेखि एउटै पार्टीलाई भोट” दिनु निष्ठा हुन सक्छ, तर यदि त्यो निष्ठाले तपाईंको जीवनमा परिवर्तन ल्याउँदैन र उम्मेदवारलाई तपाईंको दैलोसम्म ल्याउन सक्दैन भने, त्यो निष्ठा भ्रम मात्र हो ।
के हामी ‘कमारो’ पुस्ता हौँ ? कमारो मालिकका अन्याय सहेर पनि सेवा गरिरहन्छ । यदि कुनै दलले तपाईंलाई ‘पकेट भोट’ ठानेर अपमान गर्छ र तपाईं फेरि पनि मत दिन जानुहुन्छ भने, तपाईं स्वतन्त्र नागरिकबाट राजनीतिक कमारोमा घटुवा हुँदै हुनुहुन्छ । लोकतन्त्रमा नागरिक ‘किङमेकर’ हुनुपर्छ । नागरिकको योभन्दा ठूलो अपमान लोकतान्त्रिक व्यवस्थामा अर्को हुन सक्दैन । उखान छ— कुकुर पनि नबोलाई आउँदैन । उम्मेदवार वा पार्टीका आधिकारिक व्यक्तिको अनुरोधबिना मतदान केन्द्रमा पुग्नु भनेको उपेक्षाको प्रमाणपत्रमा आफैँ हस्ताक्षर गर्नु हो ।
नेपालको निर्वाचन प्रणालीमा ‘नो भोट’को अधिकार नहुनु ठूला दलहरूको रणनीतिक सफलता मात्र होइन, मतदाताप्रति षड्यन्त्र पनि हो । उनीहरू चाहन्छन्— मतदाता विवश रहोस्; खराब र महाखराबमध्ये एक छान्न बाध्य होस् । जब विकल्प मर्छ, अहंकार जन्मिन्छ । अहिले दलहरूको अहंकारको मूल कारण मतदाताले विकल्पको चेतावनी दिन नसक्नु हो ।
यदि उम्मेदवार वा उसको पार्टीको आधिकारिक व्यक्तिले मतको याचना नै गर्दैन भने, मतदान नगर्ने सामूहिक निर्णयले ‘नो भोट’ को मागलाई बल पुर्याउन सक्छ । मतदानलाई एकतर्फी कर्तव्य ठानेर सेवा पु¥याइरहनेहरू मतदाता होइनन्— निरीह कमारो हुन् ।
कांग्रेस वा एमालेका उम्मेदवारहरू मत माग्न नआउनुको कारण उनीहरूलाई थाहा छ— “हाम्रा मतदाता कतै जाँदैनन्।” इतर दलहरू पनि “यो कट्टर कांग्रेसी हो” भनेर मत माग्न आउँदैनन् । यसरी मतदाता उपेक्षित र अपमानित छन् । यस्तो अवस्थामा मतदाताले भन्न सक्नुपर्छ— “यदि मतलाई अधिकार ठान्ने संस्कार छैन भने, मेरो मतमा तिम्रो अधिकार पनि छैन ।”
राजनीतिमा निष्ठा एकतर्फी प्रेम होइन; यो सामाजिक सम्झौता हो । यदि उम्मेदवारले मतदाताको सम्मान गर्दैन भने, मतदाताले उसको झण्डा बोकिरहनुपर्ने बाध्यता छैन । हामी नागरिक बन्ने कि दास, यो निर्णय २०८२ को निर्वाचनबाट सुरु हुनुपर्छ ।
सम्मान भनेको केवल नमस्कार होइन; मतदाताका प्रश्नको जवाफ दिनु, दैलोमा पुगेर सुझाव माग्नु र निर्णय प्रक्रियामा सहभागी गराउनु हो । मत शक्ति हो । यो शक्ति त्यतिबेला अर्थपूर्ण हुन्छ, जब यसले अहंकारलाई पगाल्न सक्छ । अबको पुस्ताले नयाँ मानक तय गर्नुपर्छ— सम्मानबिना मत छैन । “हाम्रो मान्छे” भन्ने भ्रम तोड्नुपर्छ । दलभन्दा माथि उठेर मतदाताको सम्प्रभुता स्वीकार्ने व्यक्तिलाई छान्नुपर्छ । यदि कसैले तपाईंलाई वस्तु ठान्छ भने, मतदानको दिन आफ्नो मनुष्यता देखाउनुहोस् ।
लोकतन्त्र बहुमतको शासन मात्र होइन; प्रत्येक नागरिकको मर्यादाको योगफल हो । एउटा मतले भाग्य बदल्न सक्छ, एउटा अस्वीकारले अहंकार ढाल्न सक्छ । आफ्नो ब्रह्मास्त्र सही ठाउँमा, सही समयमा र केवल सम्मानको मूल्यमा प्रयोग गर्नुहोस् । अब समय आएको छ— सम्प्रभु नागरिकमा रुपान्तरण हुने । यही रुपान्तरण नै परिवर्तन, सुशासन र समृद्धिको आधारस्तम्भ हो ।
ढकाल प्राकृतिक चिकित्साका क्षेत्रमा क्रियाशील छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म