हिमाल, पहाड र तराईको अद्भुत विविधताले सजिएको नेपाल केवल प्राकृतिक सौन्दर्यको देश मात्र होइन, यो सदियौंदेखि आध्यात्मिकता, सहिष्णुता र धार्मिक सहअस्तित्वको भूमि पनि हो । हिन्दु र बौद्ध धर्म यहाँको संस्कृति, जीवनशैली र सामाजिक संरचनामा यति गहिरोसँग मिसिएका छन् कि तिनलाई अलग गरेर हेर्न सकिँदैन । यही धार्मिक सहअस्तित्वले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिएको छ । पछिल्ला वर्षहरूमा नेपालको आर्थिक समृद्धि र दीर्घकालीन शान्तिको आधार धार्मिक पर्यटन बन्न सक्छ भन्ने बहस गहिरिँदै गएको छ । विशेषगरी हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ र बौद्ध धर्मावलम्बीहरूको पवित्र जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटनको विशाल सम्भावना देखिएको छ ।
नेपालले यदि व्यवस्थित योजना बनाएर धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्न सकेमा यसले देशको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ । वार्षिक रूपमा लाखौं हिन्दु तथा बौद्ध तीर्थयात्रीहरू नेपाल भित्र्याउन सकियो भने होटल, यातायात, हस्तकला, कृषि र सेवा क्षेत्रमा व्यापक रोजगारी सिर्जना हुनेछ । स्थानीय उत्पादनले बजार पाउनेछ र ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार हुनेछ । हिन्दु बाहुल्य भारत र बौद्ध धर्मावलम्बीहरूको ठूलो जनसंख्या रहेको चीन नेपालका लागि यस दिशामा सबैभन्दा ठूलो अवसर हुन् ।
काठमाडौंको वाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । विश्वसम्पदा सूचीमा सूचीकृत यो मन्दिर भगवान् शिवको अत्यन्त पवित्र धाम मानिन्छ । पशुपति क्षेत्र केवल एउटा मन्दिर मात्र होइन, यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको विशाल केन्द्र हो, जहाँ सयौं साना मन्दिर, आश्रम र सांस्कृतिक संरचनाहरू रहेका छन् ।
यदि पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन सकियो भने हिन्दु पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्न सक्छ । अनलाइन टिकटिङ, डिजिटल सूचना प्रणाली, सरसफाइ, यातायात व्यवस्थापन र धार्मिक सांस्कृतिक कार्यक्रमहरूको विस्तारले पशुपतिलाई विश्वस्तरीय धार्मिक गन्तव्य बनाउन सकिन्छ ।
यस्तै लुम्बिनी विश्व बौद्ध धर्मको मुटु हो । करिब २६ सय वर्षअघि भगवान् बुद्धको जन्म भएको यो पवित्र भूमि विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी शान्ति, अहिंसा र मानवताको प्रतीकका रूपमा चिनिन्छ ।
लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पोखरी तथा विभिन्न देशहरूले निर्माण गरेका बौद्ध विहारहरूले अन्तर्राष्ट्रिय आकर्षण थपेका छन् । हालैका तथ्यांकअनुसार लुम्बिनीमा वार्षिक रूपमा लाखौँ विदेशी पर्यटक आउने गरेका छन् । श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीन, जापान र दक्षिण कोरियाबाट ठूलो संख्यामा बौद्ध धर्मावलम्बीहरू यहाँ पुग्ने गर्छन् ।
बुद्ध पूर्णिमाका बेला लुम्बिनीमा विशेष उत्सव आयोजना गरिन्छ । यदि यस पर्वलाई दीर्घकालीन सांस्कृतिक महोत्सवका रूपमा विकास गर्न सकियो भने यसले पर्यटकको बसाइ अवधि बढाउन सक्छ । लुम्बिनीलाई कपिलवस्तु, देवदह, रामग्राम र तिलौराकोटजस्ता बुद्धसँग सम्बन्धित अन्य स्थलहरूसँग जोडेर ‘बुद्ध सर्किट’ निर्माण गर्न सकिन्छ, जसले नेपाललाई विश्वकै प्रमुख बौद्ध गन्तव्य बनाउन मद्दत गर्नेछ ।
धार्मिक पर्यटन विकासका आधार
धार्मिक पर्यटनलाई प्रभावकारी रूपमा विकास गर्न सबैभन्दा पहिले पूर्वाधार विकास आवश्यक छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीको अन्तर्राष्ट्रिय पहुँच सहज भएको छ । त्यस्तै, धार्मिक स्थलसम्म पुग्ने सडक सञ्जाल सुधार गर्नुपर्छ । पर्याप्त पार्किङ, सफा शौचालय, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध गराउन सके पर्यटकको अनुभव राम्रो हुन्छ ।
भारत र नेपालबीच सञ्चालन भएका प्रत्यक्ष बस सेवाहरूले भारतीय तीर्थयात्रीको यात्रालाई सहज बनाएको छ । यस्ता सीमापार यातायात सेवाको विस्तारले धार्मिक पर्यटनलाई थप गति दिन सक्छ । त्यसैगरी डिजिटल भुक्तानी प्रणाली, अनलाइन बुकिङ र बहुभाषिक सूचना केन्द्रको विकास पनि आवश्यक छ ।
पूर्वाधारसँगै गुणस्तरीय सेवा अर्को महŒवपूर्ण पक्ष हो । होटल व्यवसायी, पर्यटन गाइड र ट्राभल एजेन्सीलाई तालिम दिएर सेवा स्तर सुधार गर्नुपर्छ । नेपाललाई सुरक्षित, शान्त र आध्यात्मिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न सके ठूलो संख्यामा धार्मिक पर्यटक आकर्षित गर्न सकिन्छ ।
नेपालले गर्नुपर्ने काम
धार्मिक पर्यटनको सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्न नेपालले केही रणनीतिक कदम चाल्न आवश्यक छ । पहिलो, पर्यटकको बसाइ अवधि बढाउनुपर्छ । अहिले धेरै पर्यटक केही घण्टा वा एक दिनमै फर्कने गर्छन् । धार्मिक स्थललाई सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनसँग जोडेर बहुआयामिक प्याकेज तयार गर्न सकिन्छ ।
दोस्रो, भारत र चीनसँग सहकार्यलाई प्राथमिकता दिनुपर्छ । भारतको अयोध्या र नेपालको जनकपुरलाई जोडेर ‘रामायण सर्किट’ विकास गर्न सकिन्छ । त्यस्तै, चीनका बौद्ध धर्मावलम्बीहरूलाई लक्षित गरी लुम्बिनी र काठमाडौंका बौद्ध स्तूपहरूलाई जोड्ने पर्यटन मार्ग निर्माण गर्न सकिन्छ ।
तेस्रो, स्थानीय समुदायलाई धार्मिक पर्यटनसँग जोड्नुपर्छ । होमस्टे, स्थानीय परिकार, हस्तकला र सांस्कृतिक कार्यक्रममार्फत समुदायले प्रत्यक्ष आर्थिक लाभ लिन सके पर्यटन दिगो बन्न सक्छ । चौथो, धार्मिक स्थलको पवित्रता र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्छ । प्लास्टिकजन्य फोहोर नियन्त्रण, हरित ऊर्जा प्रयोग र पुराताŒिवक सम्पदाको संरक्षण आवश्यक छ ।
उपलब्धि र सीमितता
नेपालको धार्मिक पर्यटन क्षेत्रमा केही सकारात्मक प्रगति भएका छन् । लुम्बिनीमा विदेशी पर्यटकको संख्या बढ्दो क्रममा छ । धार्मिक पर्यटनले नेपालको कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सरकारले पनि बजेटमार्फत धार्मिक पर्यटनलाई प्राथमिकता दिन थालेको छ ।
तर अझै धेरै चुनौती बाँकी छन् । सबैभन्दा ठूलो समस्या पर्यटकको छोटो बसाइ अवधि हो । सडकको खराब अवस्था, गुणस्तरीय होटलको कमी, सेवा स्तर कमजोर हुनु र पर्याप्त प्रचारप्रसार नहुनुले धार्मिक पर्यटनको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । राजनीतिक अस्थिरता र हड्तालले पनि पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने गरेका छन् ।
लुम्बिनीजस्तो विश्वशान्तिको केन्द्रमा समेत आवश्यक स्तरको व्यवस्थापन नहुनु चिन्ताको विषय हो । नेपालले आफ्नो धार्मिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न अझै सकेको छैन ।
चुनौती र अवसर
धार्मिक पर्यटन विकासको बाटोमा पूर्वाधार अभाव, प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता र कमजोर व्यवस्थापन प्रमुख चुनौती हुन् । धार्मिक स्थलमा बढ्दो भीडले वातावरणीय दबाब र पुराताŒिवक सम्पदामा क्षति पु¥याउने खतरा पनि बढेको छ ।
तर यी चुनौतीभन्दा अवसर धेरै ठूला छन् । भारतको विशाल हिन्दु जनसंख्या र चीनसहित एशियाका बौद्ध धर्मावलम्बीहरू नेपालका लागि विशाल बजार हुन् । यदि रामायण सर्किट र बुद्ध सर्किटलाई व्यवस्थित गर्न सकियो भने लाखौं पर्यटक नेपाल ल्याउन सकिन्छ ।
धार्मिक पर्यटनलाई साहसिक पर्यटन, योग, ध्यान, स्वास्थ्य पर्यटन र ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ । नेपाल आध्यात्मिक शान्ति खोज्ने विश्वभरका मानिसहरूको आकर्षक गन्तव्य बन्न सक्छ ।
नेपालसँग आध्यात्मिकता र धार्मिक पर्यटनको अपार सम्भावना छ । पशुपतिनाथ र लुम्बिनी केवल धार्मिक स्थल मात्र होइनन्, यी नेपालको सांस्कृतिक पहिचान र आर्थिक समृद्धिका सम्भावित आधार पनि हुन् । यदि नेपालले दूरदर्शी योजना, पूर्वाधार विकास, गुणस्तरीय सेवा र प्रभावकारी प्रचारप्रसारमा ध्यान दिन सक्यो भने धार्मिक पर्यटन देशको आर्थिक रूपान्तरणको प्रमुख माध्यम बन्न सक्छ ।
शिवरात्रि र बुद्ध पूर्णिमाजस्ता पर्वलाई अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सवका रूपमा विकास गर्न सकिन्छ । धार्मिक स्थलहरूलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर आकर्षक प्याकेज निर्माण गर्न सके लाखौं पर्यटक भिœयाउन सम्भव छ ।
यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ । दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयनबाट मात्रै धार्मिक पर्यटन नेपालको समृद्धि, रोजगारी र विश्व शान्तिको नयाँ आधार बन्न सक्छ ।
लेखक थापा अनुसन्धानमा आबद्ध छन् ।